Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको चीन भ्रमण : सम्झौता कार्यान्वयनमा जोड देऊ

सोमबार, २८ जेठ २०७५, १३ : २० मा प्रकाशित

प्रधानमन्त्रीको चीन भ्रमण : सम्झौता कार्यान्वयनमा जोड देऊ

अर्थ संसार, काठमाडौँ –राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिनुभएको छ ।

 मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क भएर राष्ट्रिय हितमा आफ्ना कुरा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालले चीनसँग गरिएका सम्झौतालाई विश्वासका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।  पूर्वउपप्रधानमन्त्री रावलले चीनसँग पारस्परिक सम्बन्ध विस्तार गरी विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिँदै चीन र भारतबाट नेपाल आउने भनिएका रेलसेवा उपयुक्त कानूनी रुपरेखा तयार गरेर अघि बढाउन सुझाव दिनुभयो ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय हित प्रवद्र्धनलाई केन्द्रमा राखेर मुलुकको परराष्ट्र सम्बन्ध अघि बढाउनुुपर्ने बताउँदै प्रधानमन्त्री ओलीलाई अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग गरिएका सम्झौता कार्यान्वयन गर्ने ठूलो अवसर प्राप्त भएको छ भन्नुभयो ।

 विगतमा आर्थिक नाकाबन्दीबाट मुलुकलाई निकास दिन तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको कुरा मुलुकका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले मुलुक समृद्धिका लागि उक्त सम्झौता कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा डा विपीन अधिकारीले ‘नेपाल–चीन व्यापार सम्झौता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विगतमा सम्झौता भएका रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, बूढीगण्डकी जलविद्युत् आयोजना, कृषि, पर्यटनलगायत विषयलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो ।  राजनीतिक अर्थशास्त्री कल्याण रोकाले ‘चीनको पेटी मार्ग अवधारणाः नेपालको दृष्टिकोणबाट’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै नेपालले बीआरआइमा सामेल हुँदा  कानूनी जटिलताहरु पनि आउने  विचार राख्नुभयो ।

 चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्केले नेपाल चीन सम्बन्ध बहुआयामिक भएकाले त्यसलाई विश्वासका आधारमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा सांसद छक्कबहादुर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद लालबाबु यादव, पत्रकार ध्रुवहरि अधिकारीलगायत नेपाल–चीन सम्बन्धका अध्येताले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपालले उठाउनुपर्ने विषय र चीनबाट लिन सक्ने सहयोगका सम्बन्धमा सुझाव दिनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको