Like us!
Follow us!
Connect us!
Watch us!

कहाँ छ खुशी ? आफैंमा, परिवारमा, समाजमा ?

शुक्रबार, ०८ पुस २०७३, १३ : ०१ मा प्रकाशित

कहाँ छ खुशी ? आफैंमा, परिवारमा, समाजमा ?

बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन् । सबै मानिसको आ–आफनो गन्तव्य हुन्छ । कोहि मानिस हसिलो मुहारमा देखिन्छन्, भने कोही मलिन मुहारमा देखिन्छन् । खुशी भएको समयमा कोही मानिस हाँसेको देख्दा रमाइलो लाग्छ । दुखी भएको समयमा आफ्नो पीडामा कसैले मजाक उडाएजस्तै लाग्छ । भविष्य कसैले पनि देखेको हुँदैन । केवल कल्पनाको संसारमा डुबुल्की मार्दै मानिस गन्तव्यका पाइलाहरुलाई शिखरसम्म पुर्याउन दौडिरहेको हुन्छ । अरुको जीवनलाई खुशी देख्छ मान्छे,  आफू सबैभन्दा दुखी भएको अनुभव गर्छ ।

सानासाना कुराले दुखी बनाउछ मन । कसैको दुई शब्दले पिराउँछ मन, अनि आँसुले पखाल्न मन लाग्छ । केहीबेरको आत्मसन्तुष्टिको लागि आँसुलाई हामी औषधिको रुपमा प्रयोग गछौं। केही समय यस्ता हुन्छन् जतिबेला चाहेर पनि हामी आफनो आँसुलाई आँखाको जेलभित्र दबाएर राख्न सक्दैनौँ । विशेषगरी जब आशाका किरणहरुले पाइला मोड्छन् । आफूले धेरै अपेक्षा गरेको मान्छेले अपशब्द बोल्छ या कसैले नराम्रो तवरले खाली गर्छ भने त्यो मनले सहन नसकी आँसु भएर झर्छ ।

सानो कुरामा दुखी हुने मन, सानो उपलब्धिमा पनि खुशि हुन्छ । कसैले ‘तिमी कति असल’ भन्दा खुशी लाग्छ । कहिलेकाहीं एक्लै बसेर सोच्दा लाग्छ खुशी कहाँ छ ?  कसको अधिनमा छ ? मैले आफ्नो मुठ्ठिमा दबाएर राखेजस्तो लाग्छ । होइन मेरो खुशि बावाआमा सँग छ जस्तो लाग्छ । होइन मेरो खुशी नयाँ कपडामा छ जस्तो लाग्छ । साथीभाईसँगको साथमा हुदाँ मेरो खुशी उनीहरुसँग छ जस्तो लाग्छ । एकान्तमा सपना बुन्दा मेरो खुशी मेरा सपनाहरुमा छ जस्तो लाग्छ । खुशी कुन पाटामा लुकेर बसेको हुन्छ र कति बेला झुल्किन्छ भन्ने नै निश्चित हुदैन । सूर्य झुल्किने र अस्ताउने जस्तै कुनै निश्चित समय छैन । 

सानो छदा नयाँ कपडा पाउदा खुशी लाग्थ्यो । कसैले मनपर्ने खानेकुरा किनिदिँदा खुशी लाग्थ्यो, मामाघर जान पाउदा खुशी लाग्थ्यो । उमेर र जवानीसँगै भरिएको बैंसमा घुम्न पाउदा, बाबाआमाले चाहे जति पैसा दिँदा र मोजमस्तीमै खुशी लाग्छ । जीवनमा बदलिँदो अवस्थासँगै विभिन्न कुराहरुमा खुशीको आभास गरिँदो रहेछ । जब हामी खुशी हुन्छौं तब हामीले गर्न लागेको काममा आत्मसन्तुष्टिको आभास गर्छौ र सफलता पनि हात पार्न सक्छौ ।

आकाशमा स्वतन्त्रताका साथ उडेको चरी देख्दा लाग्छ यो कति रमाइलो मानेर उडिरहेको छ । सायद पीर, व्याथा भन्ने चिज नै त्यसको शब्दकोशमा छैन होला  । दुईवटा पखेँटा फिँजारेर उडेको देख्दा हामीलाई पनि कहिलेकाहीँ उडूँ उडूँ  हुन्छ । पीर, व्यथाले मन रोएको बेला उड्न पाए रमाइलो अनुभूतिको आभास हुन्थ्यो जस्तो लाग्छ । मन लाग्छ धेरै कुरा गर्न अनि अनेकौ रहरहरु मनमा सजाउँन । कहिले हावाको बेगले धुलो उडाएजस्तो गरी उडाउन मन लाग्छ मनमा गुम्सिएर रहेका रहरहरु त कहिले टे«नजस्तै सररर गुडाउन मन लाग्छ । कसैको भलो हुने काम गरेर आत्मशान्ति बनाउने अभिलासा पनि मानिसको मनमा नजाग्ने होइन । दीन, दुखी देख्दा बिचरा भन्न मन लाग्छ र आफूले सकेको केही रकम दिन मन लाग्छ ।

मानिस विभिन्न क्रियाकलापबाट खुशी बटुल्ने गर्छ । धेरैजसो बाबाआमा आफनो सन्तानको उपलब्धिमा खशी हुन्छन् । खुशी जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ । ‘खुशी त भर्खरै धोएर सुकाएको लुगाको पानीजस्तै रै’छ बिस्तारै तप्किएर सकिने ।’ माथिको वाक्य केही महिनाअघि मात्र प्रकाशित बुद्धिसागरको फिरफिरे उपन्यासमा उल्लेख भएका यी शब्दहरु सापटी लिन चाहे ।

हामी आफनो काम भन्दा पनि अरुको कामलाई सहज ठान्छौ  र त्यसमै खुशी देख्ने गर्छौं । सायद आप्mनो काममा रमाउनु नै खुशी होला कि ? नकारात्मक सोचहरुलाई बगाउँदै सकरात्मक सोचहरुको फूल फुलाउनुमै खुशीका भमराहरुले बास गर्लान कि भन्ने मेरो ठम्याई छ ।

संसारमा लाखौं मानिसहरुको आँखा छैन, कतिको हातखुट्टा छैन, कति मृत्यु शैय्यामा छटपटाइरहेका छन् । हामीसँग आँखा, हात खुट्टा, स्वस्थ जीवन छ । तर पनि नहुनेहरु कति रमाइरहेका छन्, हामी दुःखी बनिरहेका छौं । फरक यति हो, उनीहरुले जीवन बुझेका छन, आफूसँग भएको चिजमा रमाएका छन् । तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंमा परिवारभित्र, समाजभित्र खुशी र आत्मा सन्तुष्टि खोजौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको