Like us!
Follow us!
Connect us!
Watch us!

चार अर्ब लागतमा बन्दैछ भूकम्पले ढालेको धरहरा

मंगलबार, ०१ जेठ २०७५, १० : ३५ मा प्रकाशित

चार अर्ब लागतमा बन्दैछ भूकम्पले ढालेको धरहरा

अर्थ संसार, काठमाडौँ– गोरखा भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ ।

धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले टेण्डर आह्वानसमेत गरेको छ ।

 धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।

“एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनःनिर्माणका लागि शिलान्यास हुन्छ”, उहाँले भन्नुभयो ।

शिलान्यास भएको दुई वर्षमा धरहरा पुनःनिर्माण भइसक्ने प्राधिकरणले जनाएको छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान शुरु गरेको थियो । अभियान अन्तर्गत रु २४ करोड संकलन भएको छ ।

धरहराको पुनःनिर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि अढाइ वर्षपछि हात झिकेको थियो । टेलिकमले आफैँ पुनःनिर्माण नगरे पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ । बाँकी रकम सरकारले व्यहोर्ने सहसचिव मानन्धरले बताउनुभयो ।

इतिहास

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । त्यस समयमा यसको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो ।

यस्तो थियो धरहराको वनावट

हाल रहेको धरहराको सातौं तल्लामा बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो ।

टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको थियो । धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको थियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको