Like us!
Follow us!
Connect us!
Watch us!

स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी

सोमबार, ३१ बैशाख २०७५, ०९ : २९ मा प्रकाशित

स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी

अर्थ संसार, बेनी, म्याग्दी- पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । 

भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पुर्याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ । 

लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । लुलाङ र आसपासका गाउँमा घर छाउनका लागि स्लेट आवश्यकता परेको बेलामा मात्र खानी सञ्चालन हुने गरेको छ । व्यवस्थित नगरिँदा खानीबाट समुदाय र स्थानीय तहले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् । 

स्लेट उत्खनन गर्ने प्रविधिको अभाव र उत्खनन गरिएको स्लेट बजार पु¥याउन ढुवानी समस्या भएकाले खानी बन्द भएको वडाध्यक्ष गमबहादुर विकले बताउनुभयो । स्लेट घर छाउन, भुइँमा बिच्छ्याउन प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका परम्परागत ढुंगेघरमा छाउन प्रयोग हुँदै आएको स्लेट पछिल्लो समय बजारका घर निर्माणमा समेत प्रयोग हुने गरेको छ । 

स्लेट सस्तो, टिकाउ र वातावरणमैत्री मानिन्छ । लुलाङ, मुदी, मुना, दर, खोरिया, लम्सुङ, ताकम, धारापानीमा घर निर्माणका लागि नर्जा र सागबारीको स्लेट प्रयोग भए पनि ढुवानीको समस्याले बजार क्षेत्रमा पठाउन नसकिएको स्थानीयवासीले बताएका छन् । व्यवस्थित र व्यावसायिक हिसाबले स्लेट खानी सञ्चालन गर्नसकेमा गाउँपालिका, वडाका लागि आम्दानीको स्रोतका साथै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना हुने वडाध्यक्ष विकले बताउनुभयो । 

स्थानीयवासी लिलाराम विश्वकर्माले स्लेट खानी सञ्चालन गरेर त्यसबाट भएको आम्दानीले सामुदायिक विद्यालय सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । स्लेट खानी सञ्चालनमा आउने हो भने वार्षिक करोडौँ मूल्य पर्ने स्लेट निकासी गर्न सकिने र सयौँले रोजगारी पाउने उहाँको भनाइ छ । यातायात र विद्युत्को सुविधा भएमा आधुनिक उपकरणको प्रयोग गरेर स्लेट खानी सञ्चालन गर्न सकिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको