Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

शुक्रबार, २८ बैशाख २०७५, १७ : २१ मा प्रकाशित

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

  •  हिमांशु चौधरी

  • वीरेन्द्र कर्ण

  • अजयकुमार साह

अर्थ संसार, जनकपुरधाम–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपाल र भारतको आत्मियता यो क्षेत्र ९मिथिला०को सांस्कृतिक आस्थाले सिञ्चित रहेको छ ।”

मोदीले विश्वमा मिथिला सांस्कृतिको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरु दुवै देशमा समान रुपले महत्व राखेको बताउनुभयो । उहाँले मिथिला चित्रकला विश्वमा प्रसिद्ध रहेको बताउँदै सो कलामा प्रस्तुत गरिएको परिवेश महिला सशक्तीकरण तथा जलवायु परिवर्तन र पर्यावरणीय सचेतनालाई परिलक्षित गरिरहेको बताउनुभयो ।

नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै उहाँले मोदीले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।

उहाँले राम जानकीको सम्बन्ध बिना अयोध्या अधुरो रहेको बताउँदै नेपाल–भारतका जनताको सुख र चुनौती तथा सपना र संकल्प पनि एउटै भएकाले दुवै देश मिलेर यसको सामना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताउँदै धार्मिक यात्राका क्रममा रामेश्वरम्बाट पशुपतिनाथ आउनुपर्ने र लुम्बनीबाट बोधगया तथा अवधबाट जनकपुर पुग्नुपर्ने परम्पराअनुसार आफू पनि तीर्थ यात्रीका रुपमा आज जनकपुर आइपुगेको हुँ भन्नुभयो ।

मोदीले नेपाल अध्यात्म दर्शनको केन्द्र रहेको बताउँदै भन्नुभयो, “यहाँका सबैथोक आफ्नै जस्तो छ, सबै आफन्त जस्तै छन् ।” उहाँले नेपाल–भारत दुवै देशको नारी चेतनाका लागि माता सीता गंगोत्रीका रुपमा रहेको बताउँदै काठमाडौँदेखि कन्याकुमारीसम्म माता सीताको चरित्र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजा जनकको दरबारमा गार्गीजस्तो विदुषी र अष्टाबक्रजस्ता विद्वान्हरुको समूहले लोककल्याणकारी नीति बनाई जनतालाई सर्वोपरी ठानी राजकाज सञ्चालन गरेको भूमि हो मिथिला ।”

मोदीले भारत चाँडै नै विश्वको तेस्रो अर्थव्यवस्थाको देश हुन गइरहेकाले जसरी भारत आर्थिक रुपले समृद्ध हुन्छ, त्यसैगरी नेपालको विकासको गति पनि तीव्र हुने बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न भएको संघीय, प्रान्तीय र स्थानीय निर्वाचन यस क्षेत्रमै उदाहरणीय भएको समेत बताउनुभयो ।

उहाँले नेपालको विकासमा क्षेत्रीय विकासको सूत्र जोडिएको हुँदा अब नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्दै विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नु पर्ने बताउनुभयो ।

अहिले जयनगर–जनकपुर रेल्वेको काम तीव्र गतिमा भइरहेको र केही दिनमै उक्त रेल सेवा सञ्चालन हुने बताउँदै मोदीले भन्नुभयो, “रक्सौलबाट काठमाडौँका लागि रेल सेवासमेत सञ्चालन गरिनेछ ।” साथै उहाँले मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने कार्यसमेत भइरहेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणासमेत गर्दै प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर परियोजना छनोट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो १०० करोड भारतीय जनताको तर्फबाट माता जानकीलाई समर्पण रहेको छ ।”

साथै, उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा भारत सरकार उन्मुख रहेको बताउँदै माता सीता र भगवान् रामले पाइला टेकेका धार्मिक स्थललाई समेटेर यसको विकास गर्न भारतीय सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले बुद्ध सर्किट र जैन सर्किटको विकासका लागि पनि आपूm क्रियाशील रहेको बताउनुभयो ।

उहाँले भारतद्वारा निर्मित स्याटेलाइटले साउथ एशियामा आफ्नो काम गरिरहेको छ जसलाई नेपाललाई समेत फाइदा पुगेको हँुदा यो क्षेत्रमा पनि नेपालले विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सन् २०१४ मा नेपाल आएका बेला संविधानसभामा जनकपुर जाने प्रतिबद्धता व्यक्त गरेअनुरुप आज राजा जनकको राजधानी तथा जनक जननी सीताको भूमिमा आउने धोको पूरा भएकामा जीवन धन्य भएको बताउनुभयो ।

जनक जननी जानकी माताको यो भूमि दिव्य, भव्य र शान्ति प्रक्रियाका द्योतकका रुपमा रहेकाले सबैका लागि नमनकारी भूमि भएको बताउनुभयो ।

जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उहाँले शुरुमा मैथिलीमा र त्यसपछि नेपाल र हिन्दीमा सम्बोधन गर्नुभएको थियो ।

अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभई भविश्यमुखी भएर अघि बढ्न चाहेको बताउनुभयो । उहाँले जनकपुर शहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाल र भारतको सम्बन्धको आधार भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताउनुभयो । उहाँले नेपाल र भारतले एक अर्काको सामिप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताउनुभयो ।

समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अन्य प्रदेशको तुलनामा प्रदेश नं २ आर्थिक रुपले कमजोर रहेकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको विश्वास व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मैथिली भाषामा लेखिएको अभिनन्दन पत्र प्रदान गर्नुका साथै नगरको कलात्मक साँचो हस्तारण गर्नुभयो । अभिनन्दन पत्र मैथिलीलगायत हिन्दी, नेपाली र अंग्रेजीमा लेखिएको छ ।

समारोहमा मिथिला नाट्यकला परिषद्का कलाकारले विभिन्न किसिमको सांस्कृतिक नृत्य तथा स्वागत गान प्रस्तुत गरेका थिए । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको