Like us!
Follow us!
Connect us!
Watch us!

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

शुक्रबार, २८ बैशाख २०७५, १५ : २४ मा प्रकाशित

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

अर्थ संसार, पाँचथर- अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । 

अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् । 

फालेलुङ गाउँपालिका–७ का जनकलाल राई आफूले जडान गरेको उन्नत भट्टी प्रभावकारी भएको भन्दै अन्य अलैँची कृषकलाई समेत त्यसको प्रयोग गर्न सुझाव दिएको बताउनुहुन्छ । आधुनिक भट्टीमा सुकाइएको अलैँचीको मूल्यसमेत बढी हुने उहाँको भनाइ छ । 

परम्परागत भट्टीमा सुकाइएको अलैँची कालो रङको हुने भएकाले व्यापारीले समेत प्राकृतिक रङ भएकै अलैँची खोज्ने गरेका छन् । कम समयमा सुक्ने भएकाले यसको तौल समेत बढ्छ । सिंहवाहिनी इन्जिनियरिङ बक्स एण्ड इनर्जी प्रालि सुनसरीको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा उन्नत अलैँची भट्टी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानले ड्रम भट्टीलाई त्याग्न थालेका छन् । 

प्रालिले पूर्वका सात जिल्लामा उन्नत अलैँची भट्टी प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । कृषक यस प्रकारका भट्टी बजारमा पाएपछि परम्परागत भट्टी छाडेर आधुनिक भट्टीतर्फ लागेका हुन् । पाँचथरसहित तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, इलाम र ताप्लेजुङमा गतवर्षदेखि परियोजना सञ्चालनमा छ । 

परियोजना सञ्चालन भएपछि आधुनिक भट्टीको माग बढेको प्रालिका प्रबन्धक गोपाल खड्काले बताउनुभयो । ‘उड कम्बस्टर भट्टी’ भट्टीको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएका छन् । उड कम्बस्टर भट्टीको मूल्य रु ३० हजारदेखि रु एक लाखसम्म पर्छ । सो भट्टीमा २०० देखि ४०० किलोसम्म काँचो अलैँची सुकाउन सकिन्छ । दश घण्टामा डेढ मन काँचो अलैँची सुकाउन सकिने सो भट्टीमा सुकाउँदा अलैँचीको प्राकृतिक रङ र मौलिक बासना कायम हुने, दाउराको खपत कम हुने, अलैँची फुट्ने तथा धुवाँ कम निस्कने खड्काले बताउनुभयो । 

अलैँची जोन पाँचथरका कृषि अधिकृत प्रकाश विश्वकर्माले जिल्लामा ५७ वटा आधुनिक अलैँची भट्टी सञ्चालनमा आएको बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको