Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

शुक्रबार, २८ बैशाख २०७५, ११ : १२ मा प्रकाशित

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

अर्थ संसार, काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उहाँको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । 

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज परिचालन गरिएको छ ।

ती जिल्लामा सुरक्षाकर्मी अपुग भएमा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी तत्कालै पठाइने व्यवस्था मिलाइएको पनि प्रवक्ता सुवेदीले बताउनुभयो । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा परिचालित भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताउनुभयो । 

ट्राफिक व्यवस्थापन 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने मार्गहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उहाँको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।

उहाँ सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ । 

काठमाडौँमा आज बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानहरुमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् ।

धनुषाको जनकपुरका कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ आई उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुहुनेछ भने शनिबार मुक्तिनाथको दर्शनका लागि जानुहुने कार्यक्रम छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको