Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियामा महाथिर मोहमदको सानदार जित, बिहीबारै सपथ लिने, महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

विहीबार, २७ बैशाख २०७५, १३ : १६ मा प्रकाशित

मलेसियामा महाथिर मोहमदको सानदार जित, बिहीबारै सपथ लिने, महाथिर विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

अर्थ संसार, क्वालालम्पुर–मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ ।

उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ ।

महाथिर हाल ९२ वर्षका हुनुहुन्छ । ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।

बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उहाँले नजिबको सत्ता ढालिदिनुभएको हो ।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किनुभएको थियो ।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गर्नुभएको छ ।

महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गर्नुभएको थियो । त्यस समय उहाँ विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिनुभएको थियो ।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनावहरू पनि सहनु परेको थियो । सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा आउनुभएको थियो ।

सरकार गठन गर्न यहँको सदनमा ११२ सिट आवश्यक पर्दछ । तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ । त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ ।

यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई आश्चर्यजनक भनेका छन् । महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ ।

पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले नाटकीय भनी संज्ञा दिएको भए पनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण यहाँको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ ।

यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो । संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो ।

महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिनुहुने भएको छ । अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर अब विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहनुहुने पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।

गएराति निर्वाचन परिणाम घोषणा भएसँगै उहाँको गठबन्धन समर्थक नागरिकले ठूलो संख्यामा विजय जलुश निकालेका थिए । उनीहरुले महाथिरको पुनरागमनको लागि आग्रह पनि गरिरहेका थिए ।

निर्वाचन परिणाम घोषणा भएपछि पनि महाथिर पुनः सत्तामा फर्किने वा नफर्किने भन्ने बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर पछिल्लो निर्णयमा उहाँले प्रधानमन्त्रीको सपथ लिने भने पछि यहाँको राजनीतिक परिस्थिति फेरिएको समाचारहरु आएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको