Like us!
Follow us!
Connect us!
Watch us!

 कमल ज्ञवाली जसरी उदाए, उसै गरी रसातलमा पुगे

विहीबार, १३ असोज २०७३, १० : ३८ मा प्रकाशित

  कमल ज्ञवाली जसरी उदाए, उसै गरी रसातलमा पुगे

अर्थ संसार
काठमाडौं– बैंकिङ क्षेत्रमा छोटो समयमा फड्को मारेर चर्चाको शिखरमा पुगेका कमल ज्ञवाली अहिले वद्नामीको भुमरीमा परेका छन् ।
गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका उनी काठमाडौंमा पढाईसँगै आफ्नो करियर बनाउन निरन्तर लागिरहे । शिक्षण पेसा गर्दागर्दे उनले नयाँ सोच जन्माए, जसको परिणामस्वरुप जन्मियो किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स । महत्वकांक्षी व्यक्तित्व भएका कारण उनले छोटो समयमै किष्ट मर्चेन्ट बैंकलाई क वर्गको बाणिज्य बैंक अर्थात किष्ट बैंकको रुपमा स्थापित गर्न सफल भए ।

‘पावर टु सक्सिड’ नारा राखेर उनले किष्ट बैंकलाई राम्रोसँग चलाईरहेका थिए । किष्ट बैंकको प्रमूख कार्यकारी अधिकृत तथा सञ्चालक हुँदाहुँदै उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको पनि सेयरधनी थिए । एक सफल बैंकर्सका रुपमा कुनै समय ज्ञवालीको उदाहरण दिने गरिन्थ्यो । पछिल्लो समयमा उनी बैंकिङ कसुरमा जेल सजाय सुनाइएका एक कैदीका रुपमा परिचित हुन पुगेका छन् । चारैतिरबाट प्रशंसा बटुलिरहेका ज्ञवाली  आफै तातो भुमरीमा पर्न गएका हुन् ।

यसरी सुरु भयो पतन

चौतर्फी प्रशंसा पाइरहेका र एक सफल बैंकरका रुपमा परिचित भएका ज्ञवालीलाई महत्वाकांक्षाले कहिल्यै छोडेन । उनी निरन्तर आफ्नो महत्वकांक्षालाई प्राप्त गर्नमा तल्लिन रहे । उनले आफ्नी श्रीमती गौरी खनाल ज्ञवालीको नाममा रहेको जम्को प्रकाशनको नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट कमसल जग्गा धितो राखी १३ करोड रुपैयाँ ऋण लिएका थिए । सञ्चालकवीचको मनमुटावका कारण उक्त कुरा बाहिर आयो । नेपाल राष्ट्र बैंकले छानविन गर्यो । छानविनमा ज्ञवालीलाई अरु ९ जनाले साथ दिएको समेत भेटियो ।

राष्ट्र बैंकले त्यसरी सत्यतथ्य कुरा बाहिर ल्याएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालहरुले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) मा उजुरी गरे । सोही उजुरीको आधारमा ज्ञवालीलाई महाराजगञ्चबाट प्रहरीले पक्राउ गर्यो । श्रीमतिसमेतलाई थुनामा राख्यो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको ऋण दूरुपयोग (बैंकिड कसुर ऐन) अन्तर्गतको मुद्धा उनीमाथि लागेपछि किष्ट बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतबाट उनले राजीनामा दिए । ज्ञवाली पक्राउ परेपछि तत्कालिन किष्ट बैंककामा हंगामा मच्चियो । त्यसपछि बैंकका निक्षेपकर्ताहरुले आफ्नो निक्षेप झिके । जसका कारण बैंक डुव्ने अबस्थामा पुग्यो । पछि प्रभू बैंकले किष्ट बैंकलाई किन्यो । ज्ञवालीको सपना सवै प्रभु बैंकमा विलय भयो ।

यस्तो थियो कमल ज्ञवालीले किष्ट बैंकमा देखेको सपना

ज्ञवालीले किष्ट बैंकमा रहदा ठूलो सपना बुनेका थिए । अनामनगरमा प्रमुख कार्यालय रहेको बैंकले त्यहीँ ठूलो कर्पोरेट हाउस बनाउने सोच राखेर काम अगाडि बढाएका थिए । नभन्दै उनले आफ्नो सोचअनुसार काम गर्न तत्कालीन किष्ट बैंकका सञ्चालकहरुलाई कन्भिन्स गर्न सफल भए । अनामनगरमा जग्गा लिने र त्यहाँ बैंकको सुविधासम्पन्न केन्द्रीय कार्यालय राख्ने कुरा सञ्चालक समितिले पास गर्यो ।

नभन्दै उक्त स्थानमा नेपालमै सबैभन्दा आधुनिक र सुविधा सम्पन्न बैंक भवन बनाइयो । सात तल्लाको भवन निकै लोभलाग्दो बन्यो । छैटौ तल्लामा सिइओको आधुनिक कोठा तयार भयो । त्यही कोठामा बसेर बैंकलाई अझ ठुलो बनाउने सपना उनले बुनेका थिए । सपना पुरा गर्न भने उनले पाएनन् । अहिले प्रभू बैंकका सिइओ अशोक सेरचन त्यहाँ बसेर प्रभू बैंकलाई नेपालकै ठूलो कसरी बनाउने भन्ने सपना बुन्छन् ।

उनलाई ३ वर्ष कैद र ६ करोड भन्दा बढी जरिवाना

पाटन उच्च अदालतले मंगलबार ज्ञवाली र उनकी श्रीमती गौरी खनाल सहित उनलाई साथ दिने थप सात जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ । ज्ञवाली र खनाललाई जनही ३ बर्ष कैद र ६ करोड २५ लाख जरिमानाको फैसला अदालतले सुनाएको छ । उच्च अदालत गठन भएपछि न्यायाधीशहरू डिल्लीराज आचार्य र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले पहिलो फैसला गरेको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको अभियोग उनीहरुमाथि थियो । त्यस्तै सोही मुद्दामा अर्का ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ जरिवाना, जग्गा धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना हुने फैसला अदालतको छ । अरु अभियुक्तहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई २/२ वर्षका दरले कैद सजाय भएको ।

सोही मुद्दामा अभियुक्त बनाइएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाठक पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाललाई भने अदालतले अभियोगबाट मुक्ति दिएको छ ।

ज्ञवालीले जम्को प्रकाशनका नाममा ऋण लिएर घरजग्गा कारोबारमा लगानी गरेका थिए । उनले किस्ट बैंकबाट समेत ठूलो मात्रामा कर्जा दुरुपयोग गरेको आरोप छ । किस्ट बैंक डुब्ने अवस्थामा पुगेपछि प्रभु बैंकले किनेको थियो । उनले दुरुपयोग गरेको रकम प्रभुले उनको सेयर बेचेर असुल उपर गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको