मङ्गलबार, १५ चैत २०७३, १९ : ३३
लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै
आइतबार, ०३ पुष २०७३

काठमाडौं– राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

रेल विभागले नसकेपछि बोर्डलाई जिम्मा

रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डका कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले रेल सञ्चालनका लागि लगानी खोज्न नसकिएको स्वीकार गरे । ‘राजधानीमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको हो । त्यससम्बन्धी प्रतिवेदन बोर्डमा आएपछि लगानी खोज्नुपर्ने हो, तर सकिएन,’ उनले भने, ‘यस्तो किन भयो बुझ्न सकिएको छैन ।’ रेल सञ्चालन गर्न विभागले लगानी जुटाउन नसकेपछि सरकारले लगानी बोर्डलाई जिम्मा दिएको थियो ।

मेट्रो नेपाल प्रालिसँगको सम्झौता रद्द

लगानी बोर्डले रेलवे मार्ग निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट ९डिपिआर० तयार गर्न मेट्रो नेपाल प्रालिलाई ठेक्का दिएको थियो । तर, सो ठेकेदार कम्पनीको कार्यविधि चित्त बुझ्दो नभएपछि बोर्डले प्रालिसँगको सबै सम्झौता रद्द गरेको थियो । बोर्डले प्रालिलाई मेट्रो रेल निर्माणको डिपिआर तयारीका लागि टिओआर बनाउन २ फागुन ०६९ मै दिने निर्णय गरेको थियो । प्रालिको टिओआर चित्त बुझ्दो भए रेल निर्माणका लागि टेन्डर आह्वान गर्ने योजनामा बोर्ड थियो । तर, प्रालिले दुई वर्षसम्म पनि चित्त बुझ्दो टिओआर बुझाउन नसकेको बोर्डको दाबी छ ।

सिइओ अधिकारीका अनुसार बोर्ड लगानी जुटाउन गम्भीर छ । ‘राजधानीमा रेल गुडाउने सन्दर्भमा लगानी कहाँबाट कसरी ल्याउने भन्ने विषयमा बोर्ड गम्भीर छ । रेल विभागसँग चरण–चरणमा छलफल हुँदै छ । यही रफ्तारमा काम अघि बढे लगानी जुटाउन सकिनेछ,’ उनले भने । सम्भाव्यता अध्ययनअनुसार उपत्यकामा दु्रत गतिको ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ सञ्चालन गर्ने भनिएको छ ।

यस्तो थियो ’मेट्रो रेल’ सपना

महत्वाकांक्षी ‘मेट्रो रेल’को सञ्जाल उपत्यकाका ठूला सहरलाई लक्षित गरी निर्माण गर्ने तयारी थियो । उपत्यकामा ‘मेट्रो रेल’ निर्माणको सम्भाव्यता अध्ययन रेलवे विभागको संयोजकत्वमा कोरियन कम्पनी छुङ सू इन्जिनियरिङले तयार गरेको थियो । यसका लागि कम्पनीलाई एक वर्ष लागेको थियो ।

अध्ययनअनुसार उपत्यकाभित्र पाँच लाइनमा सञ्चालन हुन्थे ‘मेट्रो रेल’ । पहिलो, दोस्रो र तेस्रो लाइनमा गुड्ने रेलका लागि लिक ‘फ्लाइओभर’मा हुन्थे । चौथो र पाँचौँ लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिन्थ्यो । पहिलो लाइनमा चल्ने रेलको रुट सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुने व्यवस्था थियो । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म हुने उल्लेख थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथवरिपरि निर्माण हुने व्यवस्था थियो ।

चौथो नम्बरको अन्डर ग्राउन्डमा चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्ली बजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गरिने डिपिआर प्रतिवेदनमा उल्लेख थियो । पाँचौँका लागि धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार हुँदै गोंगबुसम्मको लिक निर्माण गरिने व्यवस्था मिलाइएको थियो ।

रेलमार्ग ७७.२८ किलोमिटर

प्रतिवेदनअनुसार पहिलो लाइनमा चल्ने रेलको स्टेसन ११ स्थानमा राखिने उल्लेख छ । रेल लिकको लम्बाइ १२.१० किमी थियो । दोस्रो लाइनमा चल्ने रेलका लागि नौ स्टेसन थिए । लिकको लम्बाइ ११.५ किमी थियो । २८.५३ किमीमा चल्ने तेस्रो लाइनको रेलका लागि स्टेसन १७ वटा बनाइने उल्लेख छ । चौथो लाइनमा चल्ने रेल ११.७० किमीमा सञ्चालन हुन्थ्यो, जसका लागि १० वटा स्टेसन राखिने उल्लेख छ । पाँचौँ लेनमा चल्ने रेल १३.८० किमीमा सञ्चालन हुने र यसका लागि १० ठाउँमा स्टेसन राखिने उल्लेख छ ।

प्रतिवेदनअनुसार उपत्यकाभित्र रेलवे मार्गको कुल लम्बाइ ७७।२८ किमी हुने उल्लेख छ । जसमा ५७ वटा स्टेसन निर्माण गरिने भनिएको थियो । रेलवे विभागका वरिष्ठ इन्जिनियर राजेश्वरमान श्रेष्ठका अनुसार रेल सञ्जाल निर्माण अध्ययन यात्रु चापका आधारमा तयार पारिएका थिए  । ‘मानिसको चापलाई प्रमुख आधार बनाइएको थियो । अध्ययन प्रतिवेदन कोरियन कम्पनीले बनाए पनि संयोजकत्व विभागकै थियो,’ उनले भने । विभागका अनुसार प्रत्येक रेल प्रतिघन्टा ८० देखि एक सय २० किमी यात्रा गर्न सक्ने क्षमताका हुने भनिएको थियो ।

मेट्रो रेलको लागत सवा तीन खर्ब अनुमान

सरकारले उचित वातावरण मिलाइदिए प्रस्तावित ‘मेट्रो रेल’ निर्माण सवा तीन खर्ब रुपैयाँमा बन्न सक्थ्यो । प्रस्तावित पाँच लाइन रेलमध्ये तेस्रो लाइनमा बन्ने रेल सबैभन्दा कम बजेटमा निर्माण हुन सक्थ्यो । कोरियन कम्पनीको प्रतिवेदनअनुसार प्रस्तावित तेस्रो लाइनको २८.५३ किमी रेलवे प्रतिकिलोमिटर दुई अर्ब ६३ करोड ९० लाख ७० हजार रुपैयाँमै तयार हुन सक्थ्यो । यो दर प्रस्तावित पाँचमध्ये सबैभन्दा सस्तो लागत हो ।

चक्रपथमा रहेको साविक सडकमै रेलवे निर्माण हुने र मुआब्जाबापतको रकम दिनुनपर्ने भएकाले सस्तो दरमा निर्माण हुने भनिएको छ । यस आधारमा चक्रपथको २८।५३ किमी रेलवे ७५ अर्ब २९ करोड २५ लाख ७० हजार लागतमा निर्माण हुन्छ ।

प्रतिवेदनअनुसार लाइन नम्बर १ सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक रेलवेको निर्माण लागत ४२ अर्ब ८५ करोड ७३ लाख ४० हजार रुपैयाँ छ । लाइन नम्बर २ कलंकी–कालिमाटी–एयरपोर्ट रेलवे निर्माणको लागत ३६ अर्ब १९ करोड ९३ लाख ८० हजार, अन्डरग्राउन्ड सञ्चालन हुने लाइन नम्बर ४ को रकम ८१ अर्ब ७० करोड ६ लाख १० हजार र लाइन नम्बर ५ मा चल्ने रेलवेको लागत ९४ अर्ब ४० करोड १९ लाख ५० हजार रुपैयाँ छ ।

सबै लाइनमा चल्ने रेलवे निर्माणको कुल बजेट तीन खर्ब ३० अर्ब ४५ करोड १८ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ । प्रतिवेदनअनुसार पाँचैवटा लाइनमा सञ्चालन हुने रेलवे निर्माणका लागि औसतमा अनुमानित खर्च प्रतिकिलोमिटर चार अर्ब २७ करोड ६० लाख ३० हजार रुपैयाँ लाग्ने विभागले जनाएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved