Like us!
Follow us!
Connect us!
Watch us!

टेकोमा उभिएका नेपालको सम्पदा (फोटोफिचर)

बुधबार, ०५ बैशाख २०७५, १० : ३१ मा प्रकाशित

टेकोमा उभिएका नेपालको सम्पदा (फोटोफिचर)

अर्थ संसार, काठमाडौंँ–  अप्रिल १८ तारिख (आज) अर्थात् वैशाख ५ गते विश्वभर सम्पदा दिवस मनाइरहँदा भूकम्पबाट क्षति पुगेका नेपालका सम्पदा भने पुनःनिर्माणकोे पर्खाइमा छन् ।

विश्व सम्पदा सूचीमै परेका कतिपय सम्पदासमेत विवादका कारण खण्डहरमा परिणत हुँदै छन् । काठमाडौँको हनुमानढोका क्षेत्रका सम्पदामध्ये गद्दी बैठक अमेरिकी सहयोगमा प्रबलीकरण भइरहेको छ भने नौ तले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुँदैछ तर यी दुई दरबारबीचको सङ्ग्रहालय रहेको भाग भने खण्डहर भएर गिज्याइरहेको छ । उक्त भाग कहिले बन्छ, अत्तोपत्तो छैन।

त्यस्तै, बल्लतल्ल पुनःर्निमाणको काम सुरु भएको दशअवतार मन्दिर विवादका कारण स्थगित भएको छ । काष्ठमण्डपका बारेमा पटक पटक गम्भीर अन्वेषण त गरियो तर पुनःनिर्माणको कार्य भने विवादकै भुमरीमा फस्यो ।

वसन्तपुर क्षेत्रकै सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको माजुदेवल अब कहिले बन्ने हो, कुनै अत्तोपत्तो छैन । ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको तस्तै ठड्याउने प्रतिबद्धता भइरहे पनि कहिलेसम्म ठडिएला भन्ने उत्तर सरोकारवाला निकायले अझै दिन सकेका छैनन् ।

 

ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिर, पोखरी वरपरको पर्खाल निर्माणको कार्य महानगरपालिका र पुरातत्व विभागबीचको मतभेदका कारण अगाडि बढ्न सकेको छैन । पटक पटक म्याद थप हुँदा पनि यहाँको काम सम्पन्न हुन सकेको छैन ।

 

गलत प्रक्रिया र तरिकाबाट पुनःनिर्माण गरिएको भन्दै रोकिएको यहाँको कामका लागि हालसम्म दुई करोड तीन लाख रुपियाँ खर्च भइसकेको छ । महालेखापरीक्षकको हालैको प्रतिवेदनले अहिलेसम्म खर्च भएको उक्त रकम उपलब्धिविहीन भएको जनाएको छ ।


ललितपुर बुङ्मतीमा रहेको रातोमच्छिन्द्रनाथको मन्दिर श्रीलङ्कन सरकारको सहयोगमा पुनःनिर्माण भए पनि तोकिएको समयमा सम्पन्न हुने लक्षण अहिलेसम्म देखिएको छैन । उपत्यका बाहिरका नुवाकोट दरबार र गोरखा दरबार पनि पुनःनिर्माणका क्रममा रहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।

पाटन दरबार स्क्वायर क्षेत्रका र भक्तपुरका केही सम्पदाको भने पुनःनिर्माण कार्य भइरहेको छ । विश्वसम्पदा सूचीमा रहेको बौद्धनाथ मन्दिरको पुनःनिर्माण भइसकेको छ भने चाँगुनारायणको मन्दिरको पनि जिर्णोद्धार भइसकेको पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले भत्काएका कतिपय ऐतिहासिक राणाकालीन दरबार भत्काउन नहुने र प्रबलीकरण गरेर जोगाउनुपर्ने भनेर विज्ञले सुझाव दिँदा पनि भत्काइएको छ । सिंहदरबारको क्षतिग्रस्त भागलाई भने प्रबलीकरण गरेर जोगाउने प्रयास राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरिरहेको छ ।

 

5ad6d5a25073d.jpg 5ad6d5b732284.jpg 5ad6d5ba538b1.JPG 5ad6d5c48f5c9.jpg 5ad6d5ff41bc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको