Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती सम्पन्न (फोटोफिचर)

सोमबार, ०५ चैत्र २०७४, १९ : ०४ मा प्रकाशित

ललितपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– ललितपुर उद्योग वाणिज्य संघको ५१ औं स्थापना दिवस तथा स्वर्ण जयन्ती आज सम्पन्न भएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा एक समारोहको आयोजना गरी सो को घोषणा गरिएको हो । स्वर्ण जयन्तीको अवसरमा संघले वर्षभरि विविध कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वर्ण जयन्तीको अवसरमा संघले ललितपुरको जावलाखेलमा स्वर्ण जयन्ती स्मारकको गत असोजमा अनावरण गरेको थियो । फागुण ३० गते आयोजना गरिएको चार दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको अवधिमा स्वर्ण जयन्ती लोगो अंकित १ हजार रुपैयाँको चाँदीको सिक्का, मंगलबजारको ढुंङ्गेधारा अंकित १ सय रुपैयाँको सिक्का निष्काशन गरेको थियो ।

त्यसैगरी संघको सामाजिक दायित्व अन्तर्गत ८९ वर्ष नाघेका ललितपुर जिल्लाभरिका १ सय ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

त्यसैगरी समापन समारोहको संघारमा विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुख, पदाधिकारीहरुलाई ललितपुरको भित्री शहर, त्यहाँको सम्पदा, जातीय संग्रहालयको अवलोकन ‘सम्पदा अवलोकन भ्रमण’ गराइएको थियो ।

‘संघले सबैको सामूहिक प्रयासमा स्वर्ण जयन्तीलाई गौरवबोध र आर्थिक समृद्धिको लागि प्रस्थान गर्ने बिन्दुका रुपमा स्वर्ण जयन्ती मनाएको छ । यसले आम उद्यमी व्यवसायी सबैलाई उत्साहित बनाएको छ ।’ संघका अध्यक्ष एवं स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक कृष्णलाल महर्जनले भन्नुभयो ।

अध्यक्ष महर्जनले व्यापार मेलाले ललितपुरको आर्थिक सम्भावना बारे सरकार, स्थानीय र प्रदेश सरकारको ध्यानाकृष्ट गराएको बताउनुभयो ।

‘मेला र मेला अवधिभर भएका कार्यक्रमले यहाँको आर्थिक विकासका सम्भावनालाई उजागर गरेको छ । अबको पालो भनेको त्यस सम्भावनालाई साकार बनाउनु हो । यस कार्यमा संघले अग्रसरता लिने छ ।’ अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो । 

मुलुकले आर्थिक सामाजिक र आर्थिक समृद्धि हासिल गर्ने सर्वोकृष्ट अवसर अहिले नै रहेको बताउँदै अध्यक्ष महर्जनले यसलाई गुमाउन नहुने मत तयार पार्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरुको सहभागिता रहेको सो मेलाको करिब २ लाखले अवलोकन गरेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

मेलामा नेपालीका साथै विदेशी पर्यटकहरु पनि अवलोकन र किनमेलका लागि आएका थिए । मेला अवलोकन कर्ताहरुको घरेलु र हस्तकलाका सामग्रीमा धेरै आकर्षण रहेकोले आगामी दिनमा यसको व्यापार बढ्ने विश्वास व्यवसायीले लिएका छन् ।  

मेलामा धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित  खेलौना, सजावटका सामग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामग्री लगायतका स्टल राखिएको थियो ।

यस अघि आयोजित स्वर्ण जयन्तीको समापन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक समृद्धि र विकास नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताउँदै त्यसतर्फ अघि बढ्न निजी क्षेत्रले आ आफ्नो क्षेत्रमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले ललितपुर जिल्ला हस्तकला, संस्कृतिसंग जोडिएको पर्यटन, कृषिजन्य सामग्रीको उत्पादन बढाएर जिल्लाको आर्थिक विकास गर्नसकिने पनि बताउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले निजी क्षेत्रलाई सहभागिता नगराईकन समृद्धितर्फ अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले समृद्धिको अभियान निजी क्षेत्रको सहभागितामा मात्र हासिल गर्न सक्ने बताउँदै सहकार्य गर्ने उचित वातावरण बनाउन जोड दिनुभयो ।

समारोहमा वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले प्रदेश नं ३ को आर्थिक सम्भावनालाई साकार तुल्याउन कर्मचारी संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा श्रष्टा सम्मान अन्र्तगत वरिष्ठ क्रोेध मूर्तिकार कालु कुमालेलाई सम्मान गरियो । त्यसैगरी नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो बुढो पास्नी     (भिमरथारोहण) गरिसकेका पूर्वअध्यक्षलाई गरिने सम्मान यसपटक पूर्वमन्त्री बुद्धिराज बज्राचार्यलाई गरियो ।

त्यस्तै संघका ज्येष्ठ सदस्यहरु हरिभक्त श्रेष्ठ, कमलबहादुर न्याछ्यो, वृन्दा राणा,  धनभक्त शाक्य, केश्वप्रसाद पोखरेल र काजी महर्जनलाई सम्मान गरियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको