Like us!
Follow us!
Connect us!
Watch us!

‘मिटर ब्याज’को अवैध धन्दाले विकृति बढायो

आइतबार, ०४ चैत्र २०७४, १७ : ०१ मा प्रकाशित

‘मिटर ब्याज’को अवैध धन्दाले विकृति बढायो

  • सन्तोष गौतम

अर्थ संसार, बाबियाचौर– म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ ।

छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।

गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर र जग्गा नै सखाप भएको छ ।

मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् ।

एकै जनाले रु एक करोडदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् । “मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ,” पीडित निरु खत्रीले भन्नुभयो – “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ ।”

कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक एक/दुई जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताउनुभयो ।

“सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुप¥यो भनेर रुँदै आउँछन्,” न्यौपानेले भन्नुभयो, “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौँ ।”

मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् ।

पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् ।

बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् ।

विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ ।

मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् ।

सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो ।

“ठगीको मुद्दाका रुपमा प्रहरीमा आउँछन्, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ,” गुरुङले भन्नुभयो । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।

जिल्ला अदालत म्याग्दीमा आव २०७३/७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकामा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो ।

चालु आवको साउनदेखि हालसम्म लेनदेन सम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ । सदरमुकाम बेनीबजारभित्र मिटर ब्याजको धन्दा चलाउने सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।

“तमसुक, भरपाई बिनै लाखौँको लेनदेन गरेका छन्,” उपप्रमुख बरुवालले भन्नुभयो, “आधार प्रमाण नहुँदा पीडित कानूनी प्रक्रियामा जान सकेका छैनन् ।”

नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख बरुवालले जानकारी दिनुभयो ।

मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ । मानिस बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पर्ने गरेको छ ।

यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ ।

मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएको देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको