Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पाका ग्रामीण सडक तीव्ररुपमा निर्माण हुँदै

शनिबार, ०३ चैत्र २०७४, १९ : ५६ मा प्रकाशित

पाल्पाका ग्रामीण सडक तीव्ररुपमा निर्माण हुँदै

  • सुशीला रेग्मी

अर्थ संसार, रामपुर, पाल्पा– पाल्पाका स्थानीय तहले सडक सञ्जालको निर्माण कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा चालु आर्थिक वर्षमा ग्रामीण कच्ची सडकको निर्माण र मर्मतसम्भारलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको छ । यस कार्यका लागि पाल्पामा कुल रु ४२ करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।

रामपुर नगरपालिकाले नगरभित्रका ग्रामीण कच्ची सडक निर्माण तथा मर्मत, सडकको स्तरोन्नतिका लागि रु छ करोड विनियोजन गरेर तिब्र रुपमा काम अगाडी बढाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“नगरका अधिकांश वडा ग्रामीण भेगमा छन्, सामान्य पानी परेका बखत आवतजावतमा नगरवासीले निकै समस्या झेल्नुपरिरहेको छ” उहाँले भन्नुभयो । नगरपालिकाका केन्द्रसम्म प्रत्येक वडावडाका नागरिकलाई सहजरुपमा आवतजावत गर्न विकास निर्माणतर्फ सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएर काम अगाडी बढाएको नगरप्रमुख थापाले बताउनुभयो ।

तानसेन नगरपालिकाले यस वर्षलाई सडक निर्माण वर्षका रुपमा कार्य योजना बनाएर अघि बढेको छ । यसका लागि रु १० करोड विनियोजन गरेर काम थालनी गरेको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

गाउँमा उत्पादित कृषिजन्य वस्तुलाई शहर पठाउन र प्रत्येक वडादेखि गाउँपालिकाको केन्द्रसम्म सहजरुपमा बाह्र महिना यातायातका साधन सञ्चालन गराउन यस वर्ष सडकलाई नै प्राथमिकता दिइएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । सडक मर्मत तथा निर्माणको क्षेत्रमा गाउँपालिकाले रु चार करोड ५० लाख रकम विनियोजन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

जिल्लाको पूर्वी भेगमा अवस्थित निस्दी गाउँपालिकाले सडक क्षेत्रलाई नै प्राथमिकता दिएर रु तीन करोड ५० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ ।

पूर्वखोला गाउँपालिकाले पनि यस वर्ष सडक सञ्जालको निर्माणलाई नै प्राथमिकतामा राखेको छ । सो कार्यका लागि गाउँपालिकाले रु तीन करोड छ लाख ३५ हजार विनियोजन गरेको अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

यस पटक सबैको माग सडक निर्माणमा आएकाले सोहि अनुरुप यस क्षेत्रका लागि रु तीन करोडभन्दा बढी रकम विनियोजन गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ ।

पूर्वाधार निर्माणका लागि सडक सञ्जालले जोड्नुपर्ने भएकाले गाउँपालिकामा पहिलो प्राथमिकता सडकलाई दिइएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको भनाइ छ । घर्तीका अनुसार सडकका लागि रु तीन करोड ६३ लाख ९३ हजार विनियोजित गरेर काम थालनी गरिएको छ ।

सडक संजालले जोड्न नसकेका स्थानमा यस वर्ष सडक पु¥याउने उद्देश्यले रु चार करोड विनियोजन गरेको रैनादेवी गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।

रम्भा गाउँपालिकाले सडक क्षेत्रलाई रु दुई करोड ६८ लाख विनियोजन गरेर सडक निर्माण तथा मर्मतका काम गरिरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुहुन्छ । रिब्दीकोट गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष नारायणबहादुर जिसीको भनाइ छ । अध्यक्ष जिसीका अनुसार गाउँपालिकाले यस कार्यका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ ।

सडकको ट्रयाक खोलेर स्तरोन्नति लागि गाउँपालिकाले मात्र नभई वडा कार्यालयले समेत मुख्य प्राथमिकतामा राखेर धेरै रकम सडकमै विनियोजन गरेका छन् ।

दुई दशकभन्दा बढी समयपछि स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि निर्वाचनका समयमा आफूले गरेको प्रतिबद्धताबमोजिम अध्यक्षले रु ५० हजारदेखि दुई करोडसम्मका एउटै सडक योजनाका लागि रकम विनियोजन गरेको पाइएको छ ।

जिल्लाभित्रका बाँसटारी–झडेवा, हार्थोक–छहरा, आर्यभञ्ज्याङ– रामपुर यी तीन वटा मुख्य सडक जिल्ला विकास समितिले निर्माण गरेर स्तरोन्नति गरी कालोपत्रेसमेत गरिसकेको छ । सडकलाई सबै गाउँपालिका तथा नगरपालिकाका ग्रामीण बस्तीमा जोडिनका लागि स्थानीय तहले चालू वर्षमा रु ४२ करोड ६३ लाख २८ हजारभन्दा बढी रकम विनियोजन गरेका छन् ।

जिल्लाको सबै स्थानीय तहसम्म सडक सञ्जालले जोडिए पनि कच्ची सडकका कारण ट्रयाक खोलिएका सडकमा वर्षायाम शुरु हुनासाथ सवारीका साधन ठप्प हुने गर्दछन् । तीनै सडकमा बाह्रै महिना सवारीका साधन सञ्चालन गर्न सकिने गरी स्तरोन्नतिको पनि काम भएको गाउँपालिका अध्यक्षले बताउँछन् ।

प्राविधिकको नाप जाँच बिना नै सडक निर्माणका लागि धेरै बजेट विनियोजन गरेका कारण कार्यान्वयनमा समस्या परेको प्राविधिक बताउँछन् । केही गाउँपालिकाका अध्यक्षले सडक निर्माणका योजनामध्ये ठूला योजना आफू खुशी सञ्चालन गरेको पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको