Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति भण्डारी

मंगलबार, २९ फागुन २०७४, १९ : ३३ मा प्रकाशित

दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति भण्डारी

अर्थ संसार, काठमाडौं– काठमाडौँ– संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ ।

लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएका भण्डारीलाई आज सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो ।

अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उहाँलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उहाँ व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित हुनभएको थियो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली काँग्रेसका तर्फबाट डा रामवरण यादव हुनुभएको थियो ।

पहिलो महिला राष्ट्रपतिका रुपमा दक्षिण एसियामै चर्चामा रहनुभएका भण्डारीले अघिल्लो कार्याकालमा संविधानले निर्दिष्ट गरेको भूमिका सक्षम र निर्विवादरुपमा कार्य सम्पादन गर्नुभएको पाइएको छ ।

राजनीतिक खिचातानीका कारण कतिपय सन्दर्भमा राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठे पनि उहाँको भूमिकाबाट कुनै संवैधानिक तथा कानूनी संकट आएको देखिएको छैन । उहाँले अघिल्लो कार्याकालमा संवैधानिक विवाद र राजनीतिक अन्योल बढेका बेला संविधानको कार्यान्वयनमा सहयोग पुग्ने गरी सहमति र निकासको बाटो लिनुभएको थियो ।

यसअघिकोे कार्यकालमा उहाँले छिमेकी मुलुक भारत, चीन र संयुक्त राज्य इमिरेटको औपचारिक भ्रमण गर्नुभएको थियो । विगतमा राजनीतिक यात्राका क्रममा उहाँले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरिसक्नुभएको छ ।

राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा विसं २०३९ मा विवाह सम्पन्न भएको थियो । पछि उहाँको संरक्षकत्वमा मदन भण्डारी फाउण्डेसनसमेत स्थापना भएको थियो ।

विसं २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिनुभएका उहाँले बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन शुरु गर्नुभएको छ । उहाँले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गर्नुभएको छ । भोजपुर क्याम्पसमा पढ्दा विसं २०३५ मा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित भई विसं २०३७ मा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनुभएको थियो ।

विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गर्नुभएका उहाँले विसं २०३९ देखि २०४० सम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गर्नुभयो ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी 

विसं २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधि हुनभएका उहाँले विसं २०५० देखि विसं २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

विसं २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य हुनुभएका भण्डारी विसं २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल नेतृत्व गर्नुभयो ।

विसं २०५९ मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र विसं २०६४ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका उहाँ विसं २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पनि पुनःउपाध्यक्षमा हुनुभएको थियो ।

भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा र २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा विसं २०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– २ बाट निर्वाचित हुनुभएको थियो । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उहाँ विसं २०६७ देखि २०६९ सम्म रक्षा मन्त्री हुनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको