Like us!
Follow us!
Connect us!
Watch us!

लाखौं घाटा खाएर खसीबोका बेच्दै खाद्य संस्थान, यस बर्ष ३ हजार चौपाया बेच्ने

बुधबार, १२ असोज २०७३, १४ : २६ मा प्रकाशित

लाखौं घाटा खाएर खसीबोका बेच्दै खाद्य संस्थान, यस बर्ष ३ हजार चौपाया बेच्ने

 

अर्थ संसार

काठमाडौं–आर्थिक वर्ष ०६७/६८ मा करिव २ सय ३५ खसीबोका मरेपछि खाद्य संस्थानलाई ३५ लाख घाटा भयो । त्यसयता मुनाफा गर्न नसके पनि घाटा नहोस् भन्ने सोचिरहेको संस्थानको चाहना अहिलेसम्म पूरा हुन सकेको छैन ।

बितेका ६ वर्षमा प्रत्येक वर्ष संस्थानले ५ देखि २० लाखसम्म घाटा व्यहोर्नु परिरहेकोसंस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले बताए । गएका ३ आर्थिक वर्षको तथ्यांक हेर्दा संस्थानले लगातार घाटा व्यहोर्नुपरेको छ । आर्थिक वर्ष ०७०–७१ मा २ हजार ८ सय २९ खसीबोका खरिद गरेकामा करिव ५ लाख घाटा भएको थियो ।

आर्थिक वर्ष ०७१÷७२ मा ३ करोडका ५ सय ८८ ओटा खसीबोका खरिद गरेकामा करिव २० लाख घाटा भएको कार्कीको भनाइ छ । खसीबोकामा घाटा मात्र हुने भएपछि संस्थानले गत वर्षदेखि च्याङ्ग्रासमेत खरिद–बिक्री गर्न थालेको छ । च्याङ्ग्रमा भने संंस्थानलाई नाफा हुने गरेको छ ।

‘सधैंजसो घाटा हुने भएपछि गत वर्षदेखि च्याङ्ग्रासमेत ल्याउन सुरु गरेका छौं’, कार्कीले भने– ‘त्यसले केही सहयोग पुगेको छ, गत वर्ष खरिद–बिक्रीको रकम करिवकरिव बराबरै भयो ।’

गत वर्ष संस्थानले ३ करोड १५ लाखका खसीबोका र च्याङ्ग्रा खरिद गरेको थियो । यसपालिको दसैंका लागि पनि संस्थानले ४ करोड ६७ लाख खर्चेर १ हजार ५ सय च्याङ्ग्रा र १ हजार ५ खसीबोका खरिद गर्ने लक्ष्य राखेको छ ।

यसपालिको दसैंका लागि संस्थानले च्याङ्ग्रा खरिद गरिसकेको छ । ती चौपाया असोज १४ गतेभित्र काठमाडौं आइपुग्ने सबै तयारी भइसकेको जनाएको छ । खसीबोका भने बुधबारदेखि मात्रै खरिद गर्न सुरु गरिने संस्थानले जनाएको छ ।

संस्थानका सूचना अधिकारी कार्कीका अनुसार मौसम प्रतिकूल नभएमा यस वर्ष भने घाटा नहुने अपेक्षा संस्थानले गरेको छ ।

घाटा व्यहोरेर किन ब्यापार ?

व्यापार नाफाकै लागि गर्ने हो तर नेपाल खाद्य संस्थानले खसीबोकामा लगातार लाखौं घाटा व्यहोर्दै आए पनि चौपायाको व्यापार गर्न छाडेको छैन ।

सरकारको मातहत रहेको संस्थान भएकाले नाफा कमाउनेभन्दा पनि उपभोक्तालाई सहुलियत मूल्यमा दसैंमा मासु उपलब्ध गराउने उद्देश्यका लागि यस्तो गर्नुपरेको दावी संस्थानको छ । खसीबोकाको मासुमा हुने महँगो खर्च, व्यापारीबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र मूल्यमा एकरुपता एवं स्थिरीकरणका लागि घाटा खाएर पनि कारोबार गर्नुपरेको सूचना अधिकारी कार्कीको भनाइ छ । 
१२ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको