Like us!
Follow us!
Connect us!
Watch us!

सामूहिक लगानी कोषमा गिरावट

सोमबार, २८ फागुन २०७४, १५ : ४५ मा प्रकाशित

सामूहिक लगानी कोषमा गिरावट

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ ।

म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फण्डको कारोबार हुने गरेको छ । सेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फण्डको कारोबारमा समेत देखिएको छ ।

स्टकमा सूचीकृत भएका मध्ये सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य रु २० रहेको छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्मिक हो । दोस्रोमा नबिल ब्यालेन्स फण्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा रहेको छ । तेस्रोमा एनएमबी सुलभइन्भेस्टमेन्ट फण्ड रहेको छ । सो फण्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा रहेको छ ।

चौथोमा सिद्धार्थ इक्विटी स्किम रहेको छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा रहेको छ । पाँचौँमा लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ । छैटौंँमा रहेको एनआइबिएल समृद्धि फण्डको प्रतिएकाइ मूल्य रु ११ रुपैयाँ १० पैसा रहेको छ ।

त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ । कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा शेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारको भनाइ छ ।

स्टकमा सूचीकृत भएको ग्लोबल आइएमई स्किम एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फण्डको नौ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य रहेको छ ।

यस्तै, नबिल इक्विटी फण्डको नौ रुपैयाँ ४० पैसा, एनआइबिएल प्रगति फण्ड रु नौ, एनएमबी हाइब्रीड फण्डको नौ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फण्डको नौ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फण्डको नौ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डमा अझै दुई सामूहिक लगानी कोष बिक्रीका लागि आवेदन दिइएको छ । बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता कोषले आवेदन दिएको हो ।

ग्लोबल आइएमई ब्यालेन्स फण्डको रु एक अर्ब २० करोड बराबरको १२ करोड एकाइ र एनआइबीएल सहभागिता कोषको रु एक अर्ब ७० करोड बराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीको तयारी गरिएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको