Like us!
Follow us!
Connect us!
Watch us!

विना रोकतोक चल्छन् वीपी राजमार्गमा प्रतिवन्धित सवारी साधन

आइतबार, २७ फागुन २०७४, ०८ : ४८ मा प्रकाशित

विना रोकतोक चल्छन् वीपी राजमार्गमा प्रतिवन्धित सवारी साधन

शंखर पहाडी ‘गौरब’

अर्थ संसार, वनेपा– वनेपा बर्दीबास बीपी राजमार्गमा पछिल्लो समयमा अनाधिकृत रुपमा सवारी चलाउने क्रम तीव्र भएको छ । यातायात व्यवस्था विभाग र राजमार्गमा खटिएका जनपथ प्रहरी र ट्राफिक प्रहरीसँगको सेटिङमा राजर्मागमा दैनिक सयौं अनाधिकृत सवारी चलिरहेका छन् ।

तर, दुबै निकाय एकअर्कालाई आरोप लगाउँदै त्यसलाई नियन्त्रणमा लिन उदाशीन बनेका छन । आर्थिक चलखेलका आधारमा बर्दीबास सिन्धुली खुर्कोट वनेपा  सडक खण्डमा प्रतिवन्धित ठूला र मालबाहक सवारी साधनहरु विना रोकतोक  आवात जावत गरी रहेका छन  । जसले बीपी राजमार्गको अस्तित्व नै संकटमा पार्ने अवस्था आएको सडक विभागकै अधिकारीहरु बताउँछन् ।

‘प्रहरी र यातायात विभागको सेटिङमा ठूला र मालबाहक सवारीलाई आवत जावत गर्न खुलमखुल्ला  दिइँदैछ ।  विभाग पनि नियमित अनुगमनमा जाँदैन’ यसिया कै नमूना राजमार्गका रुपमा बनाइएको बिपी राजमार्गको भविष्य दीगो नहुने अवस्था आएको यातायात व्यवस्था विभागका  एक अधिकारीले बताए ।

सडक विभागले एक वर्षका बीचमा वीपी राजमार्गमा अनाधिकृत रुपमा चलेका १ हजारभन्दा बढी ठुला सवारी साधनलाई कारवाही गरेको  यातायात व्यवस्था विभागमा महानिर्देशक रुपानारायण भट्टराईले बताउनु भयो । ५ सयभन्दा बढीको रुट इजाजत खारेज गरिएको भट्टराईको दावी छ ।

‘हामीले कारवाही गरेपनि सेटिङमा राजमार्गमा ती गाडी चलिरहेकै छन,’ भट्टराई भन्छन,’हामी रोक्न सँधै राजमार्गमा बस्न सक्दैनौं । त्यसको फाइदा प्रहरी र व्यवसायीले उठाइरहेका छन् ।’

यातायात व्यवस्था विभागको दोहोरो भूमिकाका कारण समस्या सिर्जना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सहायक निरीक्षक चन्द्र श्रेष्ठ बताउँछन् ।

‘सिन्धुलीमाडीसम्म ठुला तथा साना सवारी साधन आउन जान पाउँछन् । एउटै गाडीलाई तराईबाट सिन्धुलीसम्मको र खुर्कोटबाट काठमाडौंसम्मको पनि रुट इजाजत दिइएको छ,’ यात्रु लिएर सिन्धुली आएको गाडीसँग खुर्कोटबाट काठमाडौं जाने रुट इजाजत पनि हुन्छ । यस्तो अवस्थामा बीचको बाटोमा गाडीलाई उडेर जानुस् भन्न मिल्दैन । यात्रुलाई ओरालेर अलपत्र पार्न पनि मिलेन ।’ सहायक निरीक्षक श्रेष्ठ बताउँछन् ।

बि.पी राजमार्गको  दुई स्थानमा गाडीको तौल जाँच्ने काँटा नराखेसम्म मालबाहक सवारीलाई पनि नियन्त्रण गर्न नसकिने श्रेष्ठले बताए । विभागले राजमार्गमा निषेध गरेको सवारीको मापदण्ड पनि अब्यवहारिक भएको भन्दै कतिपय अवस्थमा व्यवहारिक पाटोलाई हेर्नुपर्ने अवस्था पनि रहेको सहायक निरीक्षक श्रेष्ठले बताए ।

‘पुनर्निर्माणको कामका लागि सामाग्री ल्याउँदा हामीले रोक्यौं, त्यसमा व्यवसायी र पीडित नै हामीविरुद्ध उत्रिए,’ विभागले विनाआधार ट्रक र ट्रिपरलाई पनि इजाजत दिएको छ । हामीलाई दोष लगाएर विभाग आफू उम्किन खोजेको ट्राफिक प्रहरीको आरोप छ  ।

यो राजमार्गमा रुट इजाजत नलिएका र सो राजमार्गमा चल्न नपाउने ठूला क्षमताका सवारी नियमित चलिरहेका छन् । १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट सिन्धुली सडक खण्डमा ठूला बस चलिरहेका छन् ।

तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलिरहेको विभागको स्वीकारोक्ती छ । यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ । यो राजमार्गमा १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्था पनि छ ।

तर, नियमलाई उल्लंघन गरी ठूला यात्रुबाहक बस र ट्रकहरु चलाइँदैछ । यो राजमार्गले पूर्वको १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग सिधै जोड्छ । साँघुरो र घुमाउँरो भएकाले यो राजमार्गको उच्च भारबहन क्षमता छैन ।

विपी राजमार्ग जापान सरकारको अनुदानमा निर्माण भएको हो । राजधानीबाट बनेपा, सिन्धुली हुँदै बर्दिबास जोड्ने विपी राजमार्ग २०५२ सालमा निर्माण सुरु गरिएको थियो । यसलाई काठमाडौं देखि पूर्वी तराई सम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा लिइन्छ ।

एक सय ६० किलोमिटर लम्बाई रहेको यो राजमार्ग करिव २० वर्ष लगाएर निर्माण गरिएको थियो । यो राजमार्ग जापानको २६ अर्ब लगानीमा निर्माण भएको हो । यो राजमार्गलाई व्यवसायिक बनाएर ठूला सवारीसाधन सञ्चालन गर्न दिइरहेमा छिट्टै ध्वस्त हुने सरकारको प्राविधिक परीक्षणले देखाइसकेको छ ।

तर, आर्थिक प्रलोभनका आधारमा बीपी राजमार्गको ‘दोहन’ लगातार भइरहेको छ । जसमा कारण राजमार्गका विभिन्न भागहरु वर्षेनी भासिने तथा दैनिक सवारी दुर्घटना  भइरहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको