Like us!
Follow us!
Connect us!
Watch us!

७५ प्रतिशत अभिकर्ता निष्क्रिय

बुधबार, २३ फागुन २०७४, ०८ : ४० मा प्रकाशित

७५ प्रतिशत अभिकर्ता निष्क्रिय

अर्थ संसार, काठमाडौं– बीमा समितिबाट इजाजतपत्र लिएका बीमा अभिकर्तामध्ये ७५ दशमलव ३२ प्रतिशत निष्क्रिय रहेका छन् ।

बीमा समितिकोे फागुन १५ सम्मको तथ्याङ्कले यस्तो देखाएको छ । हालसम्म समितिबाट जीवन र निर्जीवन गरी ३ लाख ८७ हजार ८ सय ८१ जनाले अभिकर्ताले इजाजतपत्र लिएका छन् ।

यसमा दुवै बीमाक्षेत्रमा गरेर ९५ हजार ७ सय ६६ अभिकर्ता मात्र सक्रिय रहेको तथ्याङ्कमा उल्लेख छ । यस तथ्याङ्कले बीमा व्यवसायमा २४ दशमलव ६८ प्रतिशत मात्र अभिकर्ता सक्रिय देखाउँछ ।

यस वर्ष बीमा समितिबाट ३८ हजार ८ सय ३३ जनाले अभिकर्ता इजाजतपत्र लिएका छन् । बीमा समितिका अनुसार उनीहरू पनि सक्रिय अभिकर्ताका रूपमा रहनेछन् । यद्यपि उनीहरूभित्र पनि निष्क्रिय हुन सक्ने भएकाले आगामी वर्षको तथ्याङ्कमा सक्रिय अभिकर्ता अझ कम हुने समितिले बताएको छ ।

बीमा समितिअनुसार आगामी चैत मसान्तसम्मका लागि पुराना अभिकर्तामध्ये ५६ हजार ९ सय ३३ जनाले इजाजतपत्र नवीकरण गरेका छन् । बीमा ऐन २०४९ अनुसार उनीहरू सक्रिय बीमा अभिकर्ता हुन् ।

बीमा अभिकर्ता तालीम निर्देशिका २०७२ अनुसार बीमकले सञ्चालन गर्ने प्रत्येक तालीममा ५० जना सम्मको उपस्थिति अनिवार्य हुन्छ । तालीम लिँदाको जोशमा परीक्षार्थीले इजाजतपत्र लिने गरेको पाइन्छ ।

तर, तालीमपश्चात् व्यापार नपाउनु, आफ्नै पेशामा व्यस्त हुनु तथा रोजगारीको क्रममा विदेशिनुलगायत कारणले अभिकर्ताहरू सक्रिय हुन नसकेको बीमा समितिले जानकारी दिएको छ । साथै बजारसँग प्रतिस्पर्धा गर्न कम्पनीले जोकोहीलाई पनि इजाजतपत्र दिँदा निष्क्रिय अभिकर्ताको सङ्ख्या बढी भएको समितिको ठहर छ ।

सक्रिय अभिकर्ताको अभावका कारण आम मानिस अझै पनि बीमाको दायराभन्दा बाहिर छन् । मानिसलाई बीमासेवासँग जोड्ने एक मात्र माध्यम अभिकर्ता भएकाले यसको व्यावसायिक विकास गर्नुपर्ने बीमा विज्ञहरू बताउँछन् । अन्य मुलुकमा बीमाक्षेत्रले व्यावसायिक प्रगति गर्दा नेपालमा सक्रिय अभिकर्ताको अभाव हुनु दुःखद रहेको विज्ञहरूको भनाइ छ ।

बीमा अभिकर्ताका रूपमा काम गर्न चाहने योग्य व्यक्तिले सम्बन्धित बीमकको सिफारिशमा बीमा समितिमा निवेदन दिनुपर्ने हुन्छ । समितिले उक्त निवेदनमाथि आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिई निवेदकलाई बीमा अभिकर्ताको इजाजतपत्र प्रदान गर्छ । समितिबाट इजाजतपत्र प्राप्त व्यक्तिले मात्र बीमा अभिकर्ताका रूपमा काम गर्न पाउने प्रावधान छ ।

बीमा ऐन २०४९ अनुसार बीमा अभिकर्ताले आफ्नो इजाजतपत्रको नवीकरण प्रत्येक वर्षको चैत्र मसान्तसम्म गर्नुपर्ने हुन्छ । यसबाहेक बीमा समितिले सो अवधिमा छुटेका अभिकर्तालाई थप दस्तुरमा ६ महीनासम्मको म्याद थप गरी इजाजतपत्र नवीकरण गर्न सक्छ ।

यद्यपि उक्त अवधिमा पनि नवीकरण नभएमा अभिकर्ताको इजाजतपत्र स्वतः रद्द हुने समितिले बताएको छ । काम, कर्तव्य र अधिकारका बारेमा यथार्थ जानकारी नदिईकन इजाजतपत्र प्रदान गर्दा अभिकर्ताहरू निष्क्रिय हुँदै गएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बताए ।

उनले बीमा समितिको संयोजकत्वमा तालीम इन्ष्टिच्युट स्थापना गरे र बीमासम्बन्धी आधारभूत तालीम प्रदान गरी सक्रिय बीमा अभिकर्ता बढाउने प्रतिबद्धता व्यक्त गरे । कम्पनीमार्फत दिइने तालीम प्रभावकारी नहुँदा निष्क्रिय अभिकर्ता बढेको उनको भनाइ थियो ।

बीमाविज्ञ भोजराज शर्माले कामका लागि भन्दा पनि ज्ञानका लागि तालीममा सहभागी भई इजाजतपत्र लिँदा निष्क्रिय अभिकर्ता बढेको बताए । अन्य पेशामा आबद्ध भई पार्टटाइमका रूपमा मात्र बीमा व्यवसायलाई लिँदा पनि अभिकर्ताको सक्रियता नभएको उनको भनाइ छ । बीमा पहुँच र साक्षरतालाई वृद्धि गर्न सक्रिय अभिकर्ताको विकास गर्नुपर्ने उनले बताए । उनले अभिकर्ताहरू घरघर पुगेर बीमासम्बन्धी जानकारी आदानप्रदान गर्दा बीमा पहुँच र साक्षरताको विकास हुने विश्वास व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको