Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी एयरलाइन्सलाई अनुमति, स्वदेशीलाई अंकुश

आइतबार, १३ फागुन २०७४, ०९ : ०१ मा प्रकाशित

विदेशी एयरलाइन्सलाई अनुमति, स्वदेशीलाई अंकुश

अर्थ संसार, काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ ।

प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो ।

तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो । हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ ।

त्यस्तैगरी भारतको गो एयर, मकाउलगायत देशबाट पनि नयाँ एयरलाइन्सहरू नेपालमा उडान भर्नको लागि प्रक्रियामा रहेका छन् ।

नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई उडान अनुमति (एओसी) रोक्ने तयारी गरिरहेको छ । प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी तत्काल नदिने तयारी गरेको हो ।

हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र श्री एयरलाइन्स नयाँ एओसी लिने तयारीमा छन् ।

प्राधिकरणले पर्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो ।

अल्पाइनले सन् १९९८ मा एओसी लिएको थियो भने बीबी एयरवेजले सन् २०१२ मा एओसी लिएको थियो । बीबीले भर्खरमात्र नेपाल वायुसेवा निगमको बोइङ ७५७ सिरिजको जहाज लिलामीमा खरिद गरेको छ भने अल्पाइन नयाँ जहाज खरिदको प्रक्रियामा छ ।

यता श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले नयाँ एयरलाइन्सलाई एओसी रोक्ने तयारीमा लागेको स्रोतले जनाएको छ ।

सन् २०१९ मा भैरहवा विमानस्थल सञ्चालनमा आउने र त्यसपछि मात्रै एओसी जारी गर्ने तयारी रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमले दुई/दुईवटा वाइडबडी ठूला जहाज खरिद प्रक्रियामा रहेका छन् ।

हाल ९ वटा मात्रै पार्किङ वे भएकोले नयाँ एयरलाइन्स कम्पनीलाई एओसी दिन नसक्ने प्राधिकरणले बताउँदै आएको छ । निगमले एयरबस ३३०–२०० सिरिजको दुई थान जहाज आगामी जेठ महिना भित्रै नेपाल ल्याउँदै छ ।

त्यस्तैगरी हिमालयले पनि दुई थान वाइडबडी एयरबस ३३०–२०० सिरिजकै जहाज नेपाल ल्याउने तयारी गरिहरहेको छ । हाल निगमसंग तीन र हिमालयसंग पनि ३ थान न्यारोबडीका जहाजहरू रहेका छन् ।

अहिलेनै रोक्ने निर्णय नगरेको तर पूर्वाधार अभाव भएकोले समस्या भने सिर्जना भएकोले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल जारी रहेको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

अहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घन्टा उडान गर्नसक्ने अवस्थामा नभएकोले स्टलको व्यवस्थानमा समस्या आएको श्रेष्ठले बताए । “सन् २०१९ को सुरुमै भैरहवा विमानस्थल सञ्चालनमा आएमा समस्या हुँदैन, प्राधिकरण सोहीअनुसार लागेको छ,” प्रवक्ता श्रेष्ठले भने ।

त्रिभुवन विमानस्थलमा हाल रात्रीको समयमा मात्रै स्लट खाली रहेकोले नयाँ एयरलाइन्स कम्पनीलाई एओसी दिन नसक्ने प्राधिकरणले बताउँदै आएको छ ।

प्राधिकरणले आन्तरिक एयरलाइन्स कम्पनीलाई समेत एओसी रोक्ने तयारी थालेको छ । नयाँ एयरलाइन्स कम्पनीलाई रोक्ने बताएको प्राधिकरण विदेशी एयरलाइन्स कम्पनीलाई भने भटाभट अनुमति दिदैं आएको छ ।

हाल नेपालमा २७ वटा विदेशी एयरलाइन्स कम्पनीहरूले उडान भर्दै आएका छन् । भने नेपालका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्रै उडान भर्दै आएका छन् । बुद्धले भने चार्टर उडान मात्रै भर्ने गरेको छ ।

प्राधिकरणले वैकल्पिक विमानस्थल तयार नभएसम्म नयाँलाई अनुमति दिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले झनै सास्ती व्यहोर्नुपर्ने भएकोले रोक्नु पर्ने बताउँदै आएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको