Like us!
Follow us!
Connect us!
Watch us!
वैशाखमा आउँदैन मेलम्ची, ठेकेदारको बदमासीले भयो ढिलाई

मेलम्चीको पानी, राजधानीवासीले कहिले खाने ?

शुक्रबार, ११ फागुन २०७४, ११ : २७ मा प्रकाशित

मेलम्चीको पानी, राजधानीवासीले कहिले खाने ?

अर्थ संसार, काठमाडौँ –  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।जसका कारण नयाँ वर्षमा मेलम्ची काठमाडौँ आउने सपना समेत चक्नाचुर हुने भएको छ ।

ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२२७ किमी सुरुङ सम्पन्न भइसकेको छ ।

सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते मध्यरातमा सम्पन्न भएको थियो ।     

ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ ।

सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो ।

त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको