Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटक पूर्वाधार वृद्धि हुँदै, होटलमा आठ अर्बको लगानी

सोमबार, ०७ फागुन २०७४, १० : १० मा प्रकाशित

पर्यटक पूर्वाधार वृद्धि हुँदै, होटलमा आठ अर्बको लगानी

  • रमेश लम्साल

  • सिबी अधिकारी

अर्थ संसार, काठमाडौँ– लगानीमैत्री वातावरण तथा सहज कानुनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ ।

पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेके संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यावसायी समेत सो क्षेत्रमा आर्कषित भएका हुन् ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको जोड दिनुपर्ने भन्ने निजी व्यावसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्नका लागि सहज कार्यविघि कार्यान्वयनमा ल्याएपछि आर्कषणको मात्रा बढेको हो ।

पछिल्लो पटक टाइगर प्यालेस रिसोर्ट भैरहवा पाँच तारे, होटल इच्छा बारा चार तारे, कृष्णा होटल नेपालगन्ज चार तारे होटल सञ्चालनमा आइसकेको छ ।

यस्तै राजधानीकै नक्सालमा जे डब्ल्यू म्यारियट  र ठमेलमा समेत नयाँ होटल खुल्ने तयारीमा रहेको छ । यस्तै गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटल शेराटन निर्माणाधिन अवस्थामा रहेको छ ।

पर्यटक भित्र्याउन र रोजगारीको अवसर वृद्धिका लागि नयाँ नयाँ होटल सञ्चालनमा आउनु नेपालको पर्यटन बजारका लागि सुखद देखिन्छ ।

विदेशमा सञ्चालनमा रहेका र नेपालमा समेत शाखा खोल्ने लक्ष्यका साथ विदेशी होटल सेवा प्रदायक समेत पछिल्लो दिनमा आर्कषित भएका छन् । अन्तर्राष्ट्रिय ‘चेन होटल’ को रुपमा त्यस्ता संस्था वा निकायले नेपालमा एक दर्जनको हाराहारीमा आफ्ना शाखाको रुपमा विस्तार गरेका छन् ।

त्यस्ता होटलको सम्पूर्ण व्यवस्थापनको दायित्व समेत नेपालीलाई नै दिइएको छ । रोजगारीको अवसर तथा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन समेत त्यस्ता चेन होटल सहायक सिद्ध हुने होटल एसोसियशन अफ नेपाल(हान)का महासचिव विनायक शाह बताउनुहुन्छ ।

लगानीमैत्री वातावरणका कारण होटलमा लगानी गर्ने वातावरण बढ्दै गएको भन्दै महासचिव शाहले आगामी केही वर्ष भित्रै नेपाल संसारका आर्कषक गन्तव्यका रुपमा परिचित हुनेछ ।

हाल सञ्चालनमा रहेका होटलमा ४५ हजार बेड संख्या पुगेका छन् । आगामी तीन वर्ष भित्र थप चार हजार बेड थपिनेछन् । सो संख्या थपिएपछि करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिने हानका महासचिव शाहको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा समेत सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाएको छ ।

 समीक्षा अवधिमा कुल सेवा आयमा ११.७ प्रतिशत र कुल सेवा खर्च १९.८ प्रतिशतले बढेको जनाएको छ । पछिल्लो समय लगानीको मात्रामा समेत वृद्धि भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले पनि पछिल्लो दिनमा होटल तथा सेवा क्षेत्रमा लगानी बढाएका छन् । घर जग्गा क्षेत्रमा मात्रै लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाको लगानीको क्षेत्रमा होटल पर्न थालेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रको निर्देशनअनुसार पर्यटन क्षेत्रमा पाँच प्रतिशत लगानी गर्नैपर्ने भएकाले विशेष जोड दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ केन्द्रीय बैंकले पाँच प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरेपनि त्यसअनुसार लगानी पुग्न सकेको छैन । हाल तीन प्रतिशत मात्रै रहेको छ । आगामी वर्षहरु भने तोकिए बमोजिम नै पुग्छन्, हामी प्रयारत छौ । ’

केन्द्रीय बैंकले तोकअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच खर्ब ५० अर्ब लगानी गर्नुपर्ने देखिन्छ । बैंकले तत्काल नै उक्त परिमाण बराबरको लगानी भने गर्न सक्ने अवस्था भने छैन ।

नयाँ होटल निर्माण,पुरानाको स्तरोवृद्धि जस्ता काममा उक्त ऋण प्रवाह भएको छ । । पछिल्लो समय होटल क्षेत्रमा विदेशी लगानी आकर्षित भइरहेको सन्दर्भमा नेपाली लगानी पनि बढ्दै गएको छ । 

अघिल्लो वर्षको सोही  अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानी रु  ६ अर्ब मात्रै थियो । चालु आवमा होटल क्षेत्रमा लगानी १५ प्रतिशतले बढेको व्यावसायीको भनाइ छ ।

होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा पनि उत्तिकै रहेकाले सरकार, व्यवासायी तथा सरोकार भएका पक्षले विशेष ध्यान दिनुपर्ने होटल व्यावसायी योगेन्द्र शाक्यको भनाइ छ ।

होटल बढाएर मात्रै नभई नेपाली मौलिक स्वाद समेत पर्यटकका लागि उपलब्ध गराउनुपर्ने अवस्था पनि होटल क्षेत्रका लागि चुनौती बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्डल, हानलगायतका संस्थाको अग्रसरतामा २० नेपाली मौलिक परिकारलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान समेत सुरु गरिएको छ । वरिस्ठ पर्यटन व्यावसायी कर्ण शाक्यले  यसको संयोजन गरिरहनु भएको छ ।

नेपाली परिकारलाई विश्वव्पायी बनाएर पर्यटक आर्कषण गर्ने योजनाअनुसार नै त्यस्तो अभियान सुरु गरिएको व्यावसायी शाक्यको भनाइ छ ।

पर्यटन विभाग, होटल शाखाका अधिकृत गौतम रिमालकाअनुसार पछिल्लो दिनमा कार्यान्वयमा ल्याइएको कार्यविधिकाअनुसार होटल क्षेत्रमा लगानीको मात्रा तथा गुणस्तर कायम गर्नुर्प भन्ने चेतनाको विकास समेत भएको छ ।

उहाँले होटलमा लगानी गर्न चाहनेहरु बढ्दै गएको र विभागमा समेत जानकारी लिन आउनेको संख्यामा बढोत्तरी भएको बताउनुभयो ।  तारे र पर्यटकीय होटलको अनुमति विभागले दिने गरेको छ भने अन्य होटल भने स्थानीय प्रशासन तथा साना तथा घरेलु विभाग, महानगरपालिका तथा नगरपालिकाले समेत दिने गरेको छ ।

 विभागकाअनुसार हाल ११ पाँचतारे, सात चारतारे , ३७ तीनतारे, ५० दुईतारे र ३७ एकतारे होटल सञ्चालनमा छन् ।

यस्तै पर्यटक स्तरका ४८७ होटल सञ्चालनमा छन् । दुईतारे र एकतारे होटल विभागका शाखा कार्यालयहरुमा समेत दर्ता हुने हुँदा यो संख्या अझ बढी हुने रिमालको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको