Like us!
Follow us!
Connect us!
Watch us!
ओली निवासमा बधाई दिनेको ओइरो

प्रधानमन्त्री ओलीलाई छिमेकी राष्ट्रले बधाईसँगै दिए भ्रमणको निम्तो

शुक्रबार, ०४ फागुन २०७४, ०९ : ४८ मा प्रकाशित

प्रधानमन्त्री ओलीलाई  छिमेकी राष्ट्रले बधाईसँगै दिए भ्रमणको निम्तो

अर्थ संसार, काठमाडौं–  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र भारत, चिन र बंगलादेश लगायतका देशले बधाई दिएका छन् । यी देशहरुका राष्ट्र प्रमुखले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त  गरेका हुन

भारत

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ ।

मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीले जानकारी दिनुभयो ।

टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको थियो । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

राजदूत पुरी बालकोटमा

त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिनुभएको छ । राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ ।

ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ ।

त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

चिनियाँ प्रधानमन्त्रीद्वारा बधाई

चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताउनुभएको छ ।

बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताउनुभएको छ ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गर्नुभएको छ ।

ओली निवासमा बधाई दिनेको ओइरो

त्यसैगरी प्रधानमन्त्री ओली निवास बालकोटमा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । बिहीबार रातिदेखि नै भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरीका उच्च पदस्थ अधिकारीहरु, शुभचिन्तक, नेता, कार्यकर्ता, सांसद लगायतको भीड लागेको छ । आज बिहान पनि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको