Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

शुक्रबार, २६ माघ २०७४, १६ : २४ मा प्रकाशित

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

अर्थ संसार, धुलिखेल–उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।” आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको सहभागिता बढ्दै जानु सराहनीय भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङले प्रदेश नं ३ को राजधानी काभ्रे हुने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।

प्रदेशसभा सांसद रत्न ढकालले तामाङको बाक्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

पूर्व सांसद तीर्थ लामा, नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज सूर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा मानवशास्त्री डा मुक्तसिंह तामाङ, लेखक दुपवाङ्गेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान दिएको भन्दै उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कलाकार उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको