आइतबार, ०४ कार्तिक २०७५, १७ : ५२
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह
बिहिबार, २७ पुष २०७४

अर्थ संसार, काठमाडौँ– संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गर्नुभएको छ ।

परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहनुभएका डा थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गर्नुभएको हो ।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्थिरता कायम भइसकेको भन्दै राजदूत थापाले सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह गर्नुभएको हो ।

नेपालको जलविद्युत् क्षमतालाई आर्थिक विकासको मेरुदण्डका रुपमा लगानी र सहभागिता बढाउन तथा विश्व ऊर्जा समुदायमा नेपालको उपस्थिति जनाउन सरकारको तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताउनुभएको लण्डनस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परिषद्को स्थायी प्रतिनिधिमा डा सुवेदी नियुक्त हुनुभएकामा महासचिव फेइले नेपालको सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।

नेपालको आर्थिक विकासका लागि ऊर्जाको विकास अपरिहार्य रहेको बताउँदै उहाँले भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुनःनिर्माणका साथसाथै ऊर्जाको दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्ने र यसका लागि आफ्नो र परिषद्को आवश्यक सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।

राजदूत डा सुवेदीले महासचिव फेइलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणासमेत दिनुभएको विज्ञप्तिमा उल्लेख छ । रासस

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved