Like us!
Follow us!
Connect us!
Watch us!

यसरी फन्दामा परे नक्कली सेयर कारोबार गर्ने व्यावसायी

बुधबार, २६ पुस २०७४, १६ : ३५ मा प्रकाशित

यसरी फन्दामा परे नक्कली  सेयर कारोबार गर्ने व्यावसायी

अर्थ संसार, काठमाडौं –  नेपाल धितोपत्र बोर्डले कीर्ते कागजात बनाएर विभिन्न जलविद्युत् कम्पनीको सेयर कारोबार गर्ने तीनवटा सेयर दलाल कम्पनी र त्यसको कार्यकारी प्रमुखलाई कारबाही गरेको छ ।

बोर्डले तीन जलविद्युत् कम्पनीको कीर्ते सेयर कारोबार गर्नेलाई कारबाही गरेको जनाएको हो ।

बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर र सानिमा माई हाइड्रो पावर कम्पनीको कीर्ते सेयर कारोबार गर्ने अग्रवाल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सिप्रवी सेक्युरिटिजलाई कारबाही गर्ने निर्णय भएको हो ।

ती सेयर दलाल कम्पनीलाई धितोपत्र व्यवसायी÷धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कारबाही गरिएको हो । विभिन्न कानून तथा नियमको उल्लंघन गर्दै चिलिमेको कीर्ते सेयर कारोबारमा संलग्न अग्रवाल सेक्युरिटिजलाई रु १० लाख ५० हजार जरिवाना गरेको छ ।

यसैगरी, नेशनल हाइड्रोको कीर्ते सेयर कारोबारमा संलग्न श्रीहरि सेक्युरिटिजलाई पनि समान रु १० लाख ५० हजार जरिवाना तोकेको छ । दुवै सेयर दलाल कम्पनीका कार्यकारी प्रमुखलाई रु ५०/५० हजार जरिवाना गरिएको छ । बोर्डका अनुसार सिप्रवी सेक्युरिटजलाई रु ५० हजार जरिवाना गराउँदै त्यसका प्रमुखलाई सचेत गराइएको छ ।

सेयर बजारमा कीर्ते कारोबार भएको उजुरीपछि बोर्डले अनुसन्धान थालेको थियो । बोर्डले उक्त जलविद्युत् कम्पनीको कीर्ते सेयर कारोबार गरेको विषयमा छानबिन गरी गत असार २३ गते नै जिल्ला अदालत काठमाडौँमा मुद्दासमेत दायर गरिसकिएको विज्ञप्तिमा जनाएको छ ।

बोर्डले लामो अनुसन्धान तथा अध्ययनबाट नक्कली कारोबार गर्ने सेयर दलाल कम्पनीलाई कारबाही गरिएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको