Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंक चरिकोट उपशाखामा लापर्बाही

मंगलबार, २५ पुस २०७४, १३ : ५८ मा प्रकाशित

कृषि विकास बैंक चरिकोट उपशाखामा लापर्बाही

अर्थ संसार, चरिकोट– कृषि विकास बैंक चरिकोट उपशाखामा चरम लापर्बाही भएको तथ्य सार्वजनिक भएको छ ।

उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहुँच आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् ।

रु दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्वजनिक गरेपछि आफूलाई पूर्वाग्रही तरिकाले बैंकका प्रबन्धकले व्यवहार गरेको स्थानीय व्यवसायी प्रभाकुमारी तुलाधरले बताउनुभयो । बैंकले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीसँग रु पाँच हजारको दरले रकम मागेको उहाँले बताउनुभयो ।

त्यसैगरी रु २५ लाख साँवा भएको र ब्याज तिर्न करिब रु पाँच लाख हुँदासमेत त्यस्ता व्यापारीले दबाब दिँदा उनीहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनी अर्को बैंकलाई पत्रसमेत दिएपछि ऋणीले गुनासो गरेका छन् ।

प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भीमेश्वर नगरपालिका– ३ का तीलक थापाले सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुस दिन्नभन्दा आफूलाई ऋण नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामी सोजासिधा जनतालाई कि ऋण दिन सकिदैन भन्नुपथ्र्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनुपथ्र्यो ।”

अर्का व्यवसायी बिदुर बस्नेतले आफूलाई बैंकका प्रबन्धक खतिवडाले पूर्वाग्रही तरिकाले व्यवहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने बताएको आरोप लगाउनुभयो । यसैगरी स्थानीयले बैंकले नयाँ सेवाग्राहीलाई ऋण दिन्न भने पनि पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् ।

प्रबन्धक खतिवडाले बैंकले लगानी गरेको ऋण उठाउन सो कदम चालेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसको नाम निकाल्ने, कसको नाम ननिकाल्ने प्रबन्धकको अधिकारको कुरा हो ।”

बैंकले ऋण नतिरेको भन्दै ६८ जना व्यवसायीको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठूला ऋणीबीच विवाद चुलिएको हो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको