Like us!
Follow us!
Connect us!
Watch us!

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

शुक्रबार, १४ पुस २०७४, १४ : ४१ मा प्रकाशित

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

  •  रमेश लम्साल

अर्थ संसार, काठमाडौँ–नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ ।

होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो । यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ ।

होङ्सी शिवम्ले उद्योगमा रु ३६ अर्ब लगानी गरेको छ । नवलपरासीको सर्दीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादनको अन्तिम तयारीमा रहेको उक्त कम्पनीमा ३० प्रतिशत नेपाली लगानी र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ । उद्योगले दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ ।

होङ्सी शिवम्ले रु ३६ अर्ब र ह्वासिनले रु १५ अर्ब गरी कुल रु ५१ अर्ब सिमेन्ट उद्योगमा लगानी गरिसकेका छन् । उपयुक्त खानीको खोजीमा रहेको डाङ्गोटेले निकट भविश्यमा नै रु ५५ अर्बको वैदेशिक लगानी भित्र्याउन लागेको हो ।

यस्तै भारतको रिलायन्स समूहले पनि नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन थालेपछि स्वदेशमा नै रोजगारीको अवसरमा वृद्धि हुनेछ ।

होङ्सी शिवम्ले एक हजार १०० जनालाई रोजगारी दिएको छ । यस्तै ह्वासिनले एक हजार जनालाई तथा डाङ्गोटेले उद्योग स्थापना गरेपछि दुई हजार ५०० जनालाई रोजगारी दिने बताइएको छ । डाङ्गोटेका नेपाल प्रतिनिधि रुप रावलले आफूहरु उपयुक्त खानीको खोजीमा रहेको बताउनुभयो । अफ्रिकाको डाङ्गोटे सिमेन्ट उद्योगले लगानी बोर्डसँगको समन्वयमा कारखाना स्थापना गर्ने जमिन र खानी खोजिरहेको छ ।

रावलले भन्नुभयो “मकवानपुरको खानी उपयुक्त देखिएन । खानी विभागलाई खानी उपलब्ध गराइदिन आग्रह गरेका छाँै । आशा छ हामीले छिट्टै खानी पाउँछाँै ।”

सिमेन्टमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आफूहरुले सिमेन्ट उद्योगमा लगानी गर्न चाहने उद्योगी तथा व्यवसायीलाई सहजीकरण गरिरहेको लगानी बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले होङ्सी शिवमबाट शुरु भएको वैदेशिक लगानी चिनियाँ कम्पनी ह्वासिनसम्म पुगेको बताउनुभयो ।

लगानी बोर्ड ऐन, २०६८ अनुसार बोर्डको १९औँ बैठकले ह्वासिनको लगानी भित्र्याउन सहमति दिएको थियो । उक्त कम्पनीले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्नेछ । बोर्ड र ह्वासिनबीच यही पुस १२ गते परियोजना लगानी सम्झौता भएको छ ।

शत प्रतिशत चिनियाँ लगानी रहने उक्त उद्योगले धादिङको पानीखर्कमा रहेको चुनढुंगा खानी प्रयोग गर्नेछ । उक्त कम्पनीले परियोजना दर्ता दस्तुरस्वरुप सरकारलाई परियोजनाको कुल लागतको ०।२ प्रतिशत हुन आउने करिब रु तीन करोड रकम बुझाउनेछ ।

खुला प्रतिष्पर्धाबाट उक्त कम्पनीले रु ६० करोड सरकारलाई भुक्तानी गरी खानी प्राप्त गरेको हो । बोर्ड बैठकले सो परियोजना लगानी सम्झौतालाई स्वीकृत गरेपछि कम्पनीले आधिकारिक रुपमा उद्योग स्थापना गर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीको लागि अनुकूल वातावरण रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । उक्त कम्पनीले उत्पादन गर्ने सिमेन्टको आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग मिल्ने उहाँको भनाइ छ ।

अन्य केही विदेशी कम्पनीसँग सिमेन्ट उद्योग स्थापनाका बारेमा छलफल भइरहेको बोर्डले जनाएको छ । नाइजेरियाको डाङ्गोटेको सम्बन्धमा पनि बोर्डले सहजीकरण गरिरहेको छ । बोर्ड र डाङ्गोटेबीच २०७० साल कात्तिक १५ गते उद्योग स्थापना गर्ने स्म्बन्धमा सम्झौता भएको थियो । तर खानी र जग्गा नपाउँदा हालसम्म उक्त कम्पनीले औपचारिक रुपमा उद्योग दर्ता गर्न सकेको छैन । सो उद्योगले वार्षिक २१ लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

“हामी प्रयासरत छौँ । नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गर्न खोजिएको हो । तर खानी लिने विषय सबैभन्दा गाह्रो विषय रहेछ” डाङ्गोटेका नेपाल प्रतिनिधि रावलले भन्नुभयो “खानी विभागले खानीको ठेक्का निकाल्नु¥यो । हामी त्यसमा सहभागी हुन तयार छौँ ।”

कम्पनीले मकवानपुरको भीमफेदीमा रहेको खानी ड्रिलिङ गर्दा गतिलो चुनढुंगा प्राप्त गर्न नसकेको जनाएको छ । धादिङमा लिएको खानीसमेत उपयुक्त नभएपछि कम्पनी अर्को खानीको खोजीमा रहेको छ । विभागले निकट भविश्यमा नै खानीको ठेक्का खोल्ने तयारी गरेको बताइएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले पनि क्षमता वृद्धिका साथ साथै लगानीसमेत बढाएको छ । सो उद्योगले दैनिक तीन हजार ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपालमा हाल सञ्चालनमा ४७ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये हेटौँडा र उदयपुुर सिमेन्ट उद्योग सरकारी स्वामित्वका उद्योग हुन् । हाल सञ्चालनमा रहेका उद्योगमध्ये केहीले मात्रै क्लिन्कर उत्पादन गर्छन् भने केहीले आयात गर्ने गरेका छन् ।

होङ्सी शिवम्, ह्वासिन र डाङ्गोटेले स्वदेशमै क्लिन्कर उत्पादन गर्नेछन् । सिमेन्ट उत्पादक संघले यही मात्रामा स्वदेशी तथा विदेशी लगानी बढ्दै गए एकाध वर्षमा नेपाल आत्मनिर्भर हुने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको