Like us!
Follow us!
Connect us!
Watch us!

सयौ युवालाई रोजगारी दिदै होङ्सी शिवम् सिमेन्ट उद्योग

सोमबार, ०३ पुस २०७४, १७ : ०० मा प्रकाशित

सयौ युवालाई रोजगारी दिदै  होङ्सी शिवम् सिमेन्ट उद्योग

  • रमेश लम्साल

अर्थ संसार, नवलपरासी– ठ्याक्कै एक वर्ष पहिले रामकुमार सारु विदेश जाने तयारीमा हुनुहुन्थ्यो । राहदानी बोकेर खाडीको यात्रा तय गर्न लागेको बेला गाउँमै सिमेन्ट कारखाना खुल्ने हल्ला चल्यो ।

“काम पाइएला भन्ने आश त थिएन तर साथीले बझौँनत भन्ने प्रस्ताव राख्नुभयो । नेपाली र चिनियाँ समूहको संयुक्त लगानीमा सिमेन्ट कारखाना स्थापना हुने कुरा सत्य रहेछ । आज हामी यही कारखाना निर्माणमा संलग्न छौँ,” सारुले भन्नुभयो ।

घरमै बसेर मासिक रु २० हजार कमाइ भइरहेको उहाँले बताउनुभयो । “गाउँमै रोजगारी पाएपछि किन जानु पर्यो विदेश । विदेश गए पनि बचत हुने त यत्ति नै हो,” उहाँले भन्नुभयो ।

सारु मात्रै होइन नवलपरासी सर्दीका कृष्णकुमार महतो पनि सोही स्थानमा कार्यरत हुनुहुन्छ । “घरको हेरचाह पनि हुने, कमाइ पनि राम्रै हुने भएपछि मैले पनि विदेश जाने मोह छाडिदिएँ”, उहाँले भन्नुभयो, “हामी कम पढेलेखेकालाई विदेश गए पनि यस्तै ज्यामी काम गर्ने हो, त्यो त यही पाइएकै छ ।”

नेपालको शारदा समूह र चीनको होङ्सी समूहले नवलपरासीको सर्दीमा स्थापना गर्न लागेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा हाल करिब एक हजार १०० नेपाली कामदार कार्यरत छन् । बाँकी ५०० चिनियाँ नागरिक कार्यरत छन् । गत वर्षको पुसबाट शुरु भएको निर्माण कार्य हाल ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

आगामी फागुनको पहिलो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको छ । शारदा समूहको ३० प्रतिशत र होङ्सी समूहको ७० प्रतिशत लगानी रहेको उक्त कारखाना निर्माणमा कार्यरत कामदारले स्वदेशमा नै रोजगारी मात्रै पाएका छैनन्, सीप पनि सिकेको होङ्सी शिवम् सिमेन्टका नायब महाप्रबन्धक मनोज गोयलले बताउनुभयो ।

यस्तै कारखानामा दक्ष कामदार उत्पादनका लागि कम्पनीले ३० जना नेपालीलाई चीनमा तालीमका लागि समेत पठाएको छ । नेपाली र चिनियाँ कामदारको पारिश्रमिक भने फरक छ । कारखानामा थप २७० नेपाली कामदार अन्य निर्माणको काममा संलग्न छन् ।

कारखानाका लागि आवश्यक पर्ने चुनढुंगा ल्याउने पाल्पाको भुकेटबाट विस्थापित भएका २६ घरपरिवारका लागिसमेत कारखाना नजिकै सामूहिक आवास निर्माणको काम भइरहेको छ । कम्पनीले स्थानीय निर्माण व्यवसायी परिचालन गरेर सामूहिक आवास निर्माण गरिरहेको छ । प्रत्येक घरका लागि रु २५ लाखसम्म खर्च हुने नायब महाप्रबन्धक गोयल बताउनुहुन्छ ।

कारखाना सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दाबढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीका महाप्रबन्धक लाई वि पेङ बताउनुहुन्छ ।

नेपालको कुनै कम्पनीले काम गरेको भए १५ प्रतिशतको हाराहारीमा मात्रै निर्माण सम्पन्न हुने भए पनि चिनियाँ र नेपाली कामदारले एक वर्ष नपुग्दै कारखानाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न गरेका छन् । नेपालमा प्रत्यक्षरुपमा नै वैदेशिक लगानीमा निर्माण भइरहेको कारखानाले हाल दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ । पूर्ण क्षमतामा कारखाना सञ्चालनमा आएपछि दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको गोयलले बताउनुभयो ।

नेपालमा हाल सञ्चालनमा रहेका सिमेन्ट कारखानाले उत्पादन गरेको सिमेन्ट जलविद्युत्, ठूला पुल तथा भौतिक पूर्वाधारमा प्रयोग गर्न समस्या भइरहेको सन्दर्भमा सो कारखानाले सिमेन्ट उत्पादन शुरु गरेपछि विदेशी सिमेन्टमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

कारखाना स्थापनाका लागि कम्पनीले ७६ हेक्टर जमिन खरिद गरेको छ । तर नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण नगरिदिँदा कारखानाले आफ्नै डिजेल प्लान्ट राख्नुपर्ने बाध्यता आइलागेको नायब महाप्रबन्धक गोयलको गुनासो छ ।

सो कारखाना स्थापनाका लागि रु ३६ अर्ब लगानी हुनेछ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।

“कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि हामीलाई ८० मेगावाट विद्युत् आवश्यक हुन्छ, तत्काल ५० मेगावाट जरुरत छ, तर प्रसारण लाइनको अभावमा आफँै विद्युत् उत्पादन गर्नुपर्ने भएको छ”, गोयलले भन्नुभयो । लगानी बोर्डको सहजीकरणमा नेपालमा भित्रिएको वैदेशिक लगानी कार्यान्वयनमा गएको र निर्माण सम्पन्न हुन लागेको परियोजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको