आइतबार, ०३ भदौ २०७५, ०९ : २०
पुँजी निर्माण र आर्थिक समृद्धिको निम्ति सेयर बजार
बुधबार, २७ मङि्सर २०७४

कुनै पनि देशको सेयर बजारको इण्डेक्सले त्यहाँको समग्र आर्थिक पक्षको प्रतिनिधित्व गर्ने गर्छ ।  हाल बंगलादेश स्टक एक्सचेञ्जको परिसूचक ५ हजार ६ सयभन्दा माथि छ ।

त्यस्तै भारतको मुम्बई स्टक एक्सचेञ्जको सेन्सेक्स इण्डेक्स २८ हजार ८ सयभन्दा माथि छ भने भारतकै नेसनल स्टक एक्सचेञ्जको परिसूचक ८ हजार ९ सयभन्दा बढी छ ।

हाम्रा छिमेकी मुलकमा सो स्तरको परिसूचक रहँदै गर्दा हाम्रो भने १५ सय हाराहारीमै सीमित रहेको छ । हुनत हाम्रो र भारतको पुँजी बजारको तुलना गर्नु सान्दर्भिक नहोला तर बंगलादेश स्टक एक्सचेञ्ज र नेप्सेको तुलना गरिएन भने हामी बजारको विकाशमा अझै पनि मानसिक रुपमा तयार छैनौँ भन्ने अर्थ लाग्छ ।

एउटा नजिकको छिमेकीले गरेको प्रगतीबाट पनि हामी प्रभावित हुन सकेनौँ भने हामीले विकास र समृद्धिप्रति अग्रसरता लिन सक्दैनौँ । अझ भन्ने हो भने हाम्रो पुँजी बजारबाट समग्र अर्थतन्त्रको अध्ययन नै अपुरो हुन्छ ।

किनकी नेप्सेमा बैंक तथा फाइनान्स सेक्टरको बाहुल्यता छ, यसमा रियल सेक्टरहरु आउन सकेका छैनन् ।

नेपालमा औपचारिक रुपमा सेयर कारोबारको सुरुवात वि.सं. १९९४ सालमा पहिलो पटक विराटनगर जुट मिल र  नेपाल बैंक लिमिटेडले सर्बसाधारणको लागि साधारण सेयर जारी गरेपछि भएको पाइन्छ । इतिहास फराकिलो नै भएपनि हाम्रो प्रगतिको दायरा साँघुरो रहँदै आयो ।

विशेषगरी राजनैतिक परिवर्तनपछि उत्साहित बनेको सेयर बजारले एक दशकमा विभिन्न उतार चढावहरुको सामाना गर्नुपर्यो  ।  यो समयमा सेयर बजारप्रतिको आकर्षण हवात्तै बढेर गयो । साना तथा नयाँ लगानीकर्ताको उत्साहजनक रुपमा बजार प्रवेश भयो ।

एउटा सानो कम्पनीले थोरै साधारण सेयर निश्काशन गर्दा पनि त्यहाँ थामिनसक्नुको भीड हुनुले पनि नेपालमा सेयर बजारप्रती जनताको आकर्षण कति धेरै छ भन्ने कुराको पुष्टि हुन्छ । यो बीचमा हजारौँ लगानीकर्ता सेयर बजारमा प्रबेश गरेका छन् ।

अबको हाम्रो गन्तब्य आर्थिक समृद्धि हो ।  समृद्धिको लागि पुँजीको संकलन र परिचालन गर्नुपर्ने आवश्यकता छ । त्यसमा सेयर बजारको भूमिका महत्वपुर्ण हुन्छ । त्यसकारण पनि बजारको आकार र आकर्षण अनुसार विस्तार, विकास र विविधीकरणको टड्कारो आवश्यकता छ ।

कम्पनीको पुँजी वृद्धि तथा नयाँ कम्पनीहरुको सूचीकरणले बजारमा सेयरको ‘भोलुम’ ठूलो भएको छ । सन्तुलनको लागि बजारमा सोहीअनुसारको माग हुनुपर्ने हुन्छ । तर  हाम्रो बजार यही चक्रपथभित्रको सेरोफेरोमै अल्मलिरहेको छ । त्यसकारण सेयर बजारमा आउन सक्ने उपत्यकाबाहिरको खर्बौको पुँजी चाहेर पनि आउन सकेको छैन ।

नेप्सेले प्रविधिको विकास गर्न नसक्दा विदेशमा रहेका नेपालीहरुको पुँजी पनि सेयर बजारमा आउन सकिरहको छैन । यदी बजार देशभरका लगानीकर्ताहरुको पहुँचमा गयो भने मात्र परिपक्व बन्नेछ । तर विडम्वना सेयर बजारमा जनताको जुन लगाव र स्प्रीड छ त्यही अनुसार सरकार, धितोपत्रबोर्ड, नेप्से र सरोकारवाला निकायहरुको हुन सकिरहेको छैन । यस बीचमा केही सुधारहरु भएपनि तिनको गति एकदमै सुस्त छ ।

हामी द्रुत गतिमा पुँजी बजारको विकाशमा लाग्नु पर्नेमा वर्षौँ लगाएर अभौतीकरणमा जानुलाई ठूलो उपलब्धी मान्नु आवश्यक छैन । हो यो बीचमा धेरै सुधारहरु भए । त्यो सकारात्मक हो । तर ति एकदमै सुस्त गतिमा भए । ६ महिनामा हुने कामलाई वर्षौँ लगाउँदा त्यसको प्रभावकारिता रहँदैन ।

अनलाइन ट्रेडिङ पनि धितोपत्रबोर्ड र नेप्सेको विवादका कारण प्रभावित भइरहेको छ । क्लियरीङ बैंक थप्ने कुरा पनि अलपत्र छ । उपत्यकाबाहिर सेवा विस्तरको लागि आवश्यक नियमनसहित बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाईसन्स दिनु पर्नेमा त्यो काम पनि हुन सकेको छैन ।

अहिले नेप्सेले केही ब्रोकरहरुलाई उपत्यकाबाहिर  पठाउदै गर्दा त्यसको  व्यवहारिक पक्षको अध्ययन गरिएको छैन । शाखा विस्तारको लागि ब्रोकरहरुको पुँजी र क्षमताको मुल्याङन भएको छैन । उनीहरुले दिने सेवा र गुणस्तरको लागि आवश्यक कार्यविधि पनि तयार गरिएको छैन ।

 कतिपय ब्रोकरहरुलाई काठमाडौँमा टिक्न नै गाह्रो भइरहँदा उनीहरु उपत्यकाबाहिर गएर कसरी शाखा खोलेर टिक्न सक्छन् ? त्यसमा पनि बोर्डले ध्यान दिएको छैन। अर्कोतर्फ सेयर दलालको पुँजी बढाएर प्रविधिको भरपुर प्रयोग गराउने भनिए पनि अग्रसरता देखिँदैन ।

अहिले धितोपत्र बोर्ड र नेप्सेको व्यवहार हेर्दा  सेयर दलालहरुलाई उपत्यकाबाहिर पठाउनेवित्तिकै बजारको विकास भैहाल्छ भन्ने किसिमको देखिन्छ । वास्तवमा अनलाइन सिस्टम र ब्रोकर शाखा खोल्ने कुरा नितान्तै प्राविधिक पाटा मात्र हुन् ।  उपत्यकाबाहिर ब्रोकर जाँदैमा त्यहाँ सेयर बजारको विकास हुने होइन । मात्र त्यहाँ कारोबारको लागि सहजता हुने हो ।

बजारको दिगो विकासको लागि अब उपत्यकाबाहिर जिल्ला जिल्लामा गएर सेयर शिक्षा र साक्षतार फैलाउनु आवश्यक छ । जुन काम नियमनकारी निकाय भएको नाताले धितोपत्र बोर्ड र नेप्सेको हो । अब पुतलीसडकमा साँढे दौड गरेर पाँचथरका मान्छेले सेयरको ज्ञान हासिल गर्न सक्दैनन् । त्यसको लागि नेप्से र बोर्डले अभियान लिएर जिल्ला जिल्लामा जानु आवश्यक छ ।

नियामक निकाय काठमाडौँमा मात्रै केन्द्रित हुँदा पुँजी बजारको विकास असम्भव छ । त्यसको लागि सरोकारवाला निकाय जुर्मुराउनु आवश्यक छ  ।

सेयर दलालहरु उपत्यकाबाहिर गएको बर्तमान सन्दर्भमा तिनिहरुको  नियमन नेप्से र धितोपत्रबोर्डले काठमाडौँमा बसेर गर्न असम्भव छ। स्थानीय स्तरमा बजारको  नियमन र नियन्त्रणको लागि धितोपत्रबोर्ड र नेप्सेको संयन्त्र चाहिँदैन ? आज सरकार वडा कार्यालयको रुपमा ग्रामीण क्षेत्रसम्म पुग्दा पुँजी बजारको विकासको लागि नेप्से र बोर्ड पुग्ने कि नपुग्ने ?

बागबजार र पुतलीसडकको सेयर दलाल कार्यलयमा भएको चलखेल र इन्साइडर ट्रेडिङलाई सिँहदरबार र जाउलाखेलले पत्तै पाउँदैन भने भोलि धनगढी र विर्तामोडमा भएका गतिविधि नेप्से र धितोपत्र बोर्डले कसरी नियन्त्रण गर्न सक्छन ? त्यसमाथि प्रविधि कमजोर छ ।

त्यसैले अब ब्रोकरको साथसाथै धितोपत्रबोर्ड र नेप्से पनि उपत्यका बाहिर जानु आवश्यक छ । बजारको विकास र विस्तारसँगै उनीहरुको पनि विकास हुनु जरुरी छ । बजार भोलि देशभरी पुग्दा बोर्डको यही भौतिक पुर्वाधार, स्रोत र साधनले धान्न सक्दैन ।

त्यतातिर ध्यान जाने कि नजाने ? कमसेकम पनि नेप्से र धितोपत्र बोर्डले तत्कालको लागि प्रदेशस्तरमा गएर काम अगाडि बढाईहाल्नु आवश्यक छ । अब संघीयतमा पुँजीबजारको संरचना कस्तो हुने हो ? यस बारेमा पनि बहस गर्नु जरुरी छ ।

नियमनकारी निकायले  त्यहाँ गएर सेयरको विकाश विस्तार र विविधिकरण गरी  सेयर शिक्षा र साक्षारता बढाई  अब स्थापना हुने सेयर दलालका गतिबिधिको  नियमन गर्ने तर्फ कामको सुरुवात गरोस्। किनकि धितोपत्र बोर्ड र नेप्सेको पछिल्लो सुस्तता कायम हुँदै गयो भने बजारको विकास र विस्तार हुने कुरामा विश्वास गर्न सकिँदैन । सरकारको यसतर्फ ध्यान जाओस् ।

नरेन्द्र चुदाली

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved