शनिबार, ०१ पुष २०७४, १६ : ३९
अवैध मार्गबाट आउने कलप्रतिसमेत रहन टेलिकमको आग्रह
बिहिबार, १४ मङि्सर २०७४

अर्थ संसार, काठमाडौँ– नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ ।

“हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहक गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुका साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन समस्त ग्राहकमा कम्पनी अनुरोध गर्दछ”– टेलिकमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल टेलिकमका मोबाइल तथा पिएसटिएन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैध मार्गबाट आएको र यसरी आएको कलको गुणस्तर कमजोर हुनुका साथै राजश्वसमेत छलिएको हुने टेलिकमको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्र्याक गर्न कठिन हुने भएकाले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुन्छ ।” ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिनयता विभिन्न सेवाग्राहीलाई गरिएका कलमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अवैध कल नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ टेलिकमले थप सक्रियता बढाएको छ ।

यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु हुनसमेत टेलिकमले अनुरोध गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved