Like us!
Follow us!
Connect us!
Watch us!

वृद्धावस्थामा आउने स्वास्थ्य समस्या

बुधबार, १३ मंसिर २०७४, १२ : ०० मा प्रकाशित

वृद्धावस्थामा आउने स्वास्थ्य समस्या

वृद्धावस्थामा हाम्रो शरीरको सबैभन्दा कडा मानिने दाँतको इनामेल खिइँदै बिग्रँदै जान्छ र दाँतमा अनेक समस्या उत्पन्न हुन्छन् ।

शरीरका ठूला जोर्नीहरु खास गरिर घुँडा र कुमको जोर्नीका हड्डी खिइएर र जोर्नी भित्रको चिप्लो रस (फ्लुइड) सुक्दै जान्छ र जोर्नी चलाउँदा दुख्न थाल्छन् ।

दाँत कमजोर भएपछि चपाउने शक्ति घट्दै जाँदा खानपिनमा समेत समस्या आउँछ । रगतका नली कडा हुँदै जान्छन् र रक्त सञ्चालनमा समस्या देखिन थाल्छन् । फोक्सोले पहिलेजस्तै अक्सिजन लिन सक्दैन र हिँड्दा, परिश्रम गर्दा सास फुल्न थाल्छ ।

दिसा, पिसाब समेत पहिलेजस्तो पेट सफा हुनेगरि खुलेर हुँदैन, कब्जियतको समस्या र पुरुषमा प्रोस्टेटको समस्या देखिन थाल्छ । मस्तिष्कका विभिन्न भागका न्युरोन्स वा कोष सुक्न थाल्छन, मस्तिष्कको आकार घटछ, स्मरणशक्ति समेत केही न्यून घट्न सक्छ ।

टाउकोमा ठोक्कियो वा चोटपटक लागेमा वा मस्तिष्कमा रगत जम्यो भने बोली व्यवहार नै परिवर्तन हुन्छ।

आँखामा मोतीविन्दु भए दृष्टी क्षमता हराउँछ । कानका नशा सुक्दै जान्छन् र सुन्न समेत कठिन हुन्छ । ८५ वर्ष नाघेका करिब ४० प्रतिशत व्यक्तिमा स्मरणशक्ति निकै घटेको पाइएको छ ।

वैज्ञानिकहरूले अनेकौं अनुसन्धान गरे पनि मानिस किन र कसरी बूढो हुन्छ पत्ता लगाउन सकेका छैनन् । हामीले दिनहुँ देख्ने संसारका निर्जीव र सजीव सबैमा निरन्तर परिवर्तन भइरहेको छ ।

मानिस, जनावर, रुख, बिरुवा, नदीनाला, हिमाल, पहाड, ढुंगा, माटो सबै परिवर्तन भइराखेको छ । यी सबै परिवर्तन प्रकृतिको नियम नै हो भन्न सकिन्छ।

पहिले मानिसको औसत आयु ३० वर्ष मात्र थियो भने आजकल ६०/७० वर्ष पुगेको छ। अहिले नेपालीको औसत आयु ६९ वर्ष पुगेको छ, यति उमेरसम्म बाँच्न पाउनु पनि ठूलै भाग्य मान्नु पर्छ ।

दुर्घटना, रोगव्याध, उग्रवादी आक्रमण र आत्महत्याजस्ता कारणले मानिसहरूको अकालमा मृत्यु भइरहेको छ, यो दुःखको कुरा हो।

उमेर बढदै जाँदा उच्च रक्तचाप, डाइबेटिज (मधुमेह) हुने सम्भावना बढ्दो रहेछ । हुन त यी रोग लाग्ने प्रमुख कारण वंशाणुगतभन्दा पनि अस्वस्थ्य जीवनशैली र खानपान हो भन्ने विदेशमा भएका विभिन्न अध्ययनल निष्कर्ष निकालेका छन् ।

शारीरिक परिश्रम नगर्ने, मोटरसाइकल वा कारमा हुँइकिने, कुर्सी वा सोफामा बसेर धेरै बिताउने, हरियो सागपात, ताजाफलफूल र ताजा पकाएको खानेकुरा खानुभन्दा पनि बजारमा पाइने तयारी खानेकुरा र जंक फुड धेरै खाने युवा तथा ४०/४५ वर्ष उमेरका मानिसमा उच्च रक्तचाप र मधुमेहजस्ता समस्या धेरै देखिन थालेको छ ।

वृद्धावस्थामा कब्जियत हुने, ट्वाइलेट छिटो छिटो जानुपर्ने र पिसाव चुहिने समस्या आउँछन् भने हातखुट्टा काम्ने र दृष्टी कमजोर हुनाले नङ काट्न, हातखुट्टा सफा गर्न र नुहाउन समेत समस्या पर्छ । बाथरुममा लड्ने वा भर्‍याङ वा सिँढीमा लड्दा टाउकोमा चोट लाग्ने वा हातखुट्टा भाँचिने हुनसक्छ ।

वृद्धावस्थामा दैनिक जीवनयापन गर्न १/२ जना सहयोगी चाहिने अवस्था आएपछि त्यस्तो सहयोग कसले गर्ने समस्या अहिले नेपालमा पनि देखिन थालेको छ ।

पहिले संयुक्त परिवारमा बस्ने र छोराछोरी धेरै हुँदा वृद्धावस्थामा कोही न कोही साथमा हुने गर्थे । अहिले एकल परिवार र महिला पुरुष दुवै कामकाजी हुँदा सहरका घरमा बुढाबुढी मात्रै हुने स्थिति आएको छ ।

गाउँघरमा पनि काम गर्न सक्ने उमेरका मानिस सहर वा विदेश जाने भएकाले घरमा बुढाबुढीहरू एक्लै नै हुने गरेका छन् ।

सम्पन्न परिवारका युवा उच्च शिक्षा अध्ययन गर्न अमेरिका, अस्ट्रेलिया वा युरोप जाने क्रम जारी छ । डिभी लटरी परेर अमेरिका जाने पनि प्रसस्त छन् । संपत्ति भए पनि वृद्धवृद्धाको हेरचाह र स्याहारसुसार गर्ने मान्छे भने छैनन् ।

२५र३० वर्षका युवाले बाल्यकाल बिर्सिसकेका हुन्छन् भने वृद्धावस्था परै हुन्छ, त्यसबारे सोच्ने कुरै भएन । आफैंलाई नपरुन्जेल बाबुआमाको समस्या कहाँ बुझिन्छ र !

उदाहरणका लागि एक जना ७० वर्षकी वृद्धा बेलाबेलामा मेरोमा आउनुहुन्छ । उच्च रक्तचाप र मुधुमेहको औषधि खाइरहनु भएको छ । उहाँका दुई छोरा अमेरिकामा हुनुहुन्छ रे । दुई पटक त उहाँ पनि अमेरिका गएर छोराबुहारी  नातिनातिनासँग बस्नु भयो रे ।

छोराहरू आमाबुबालाई अमेरिकामै राख्न चाहन्छन् तर आमाबाबु नै त्यहाँ गएर बस्न चाहनुहुन्न । उहाँको चाहना कम्तीमा एक जना छोरा पालैपालो आफूसँग बसोस् भन्ने छ, तर कामका कारण छोराहरू यहाँ आएर सँगै बस्न सक्दैनन् । डाक्टरकहाँ आउँदा छोराहरूलाई सम्झाइदिनुस् भन्नुहुन्छ र यही चिन्ताले निद्रा लाग्दो रहेनछ उहाँलाई ।

उहाँको चिन्ता यहाँको घर, जग्गाजमिनलगायत संपत्ति अब कसले हेर्छ, के हुन्छ भन्ने रहेछ । छोराहरूले दिनदिनै फेसटाइम÷भाइबरमा कुरा गर्दा रहेछन्, बेलाबेलामा भेट्न आउँदा रहेछन् । यहाँ हेरचाह गर्ने एक जना पुरुष र एक जना महिला घरमा राखिदिएका रहेछन् । तर उहाँको एकमात्र सोच रहेछ– एक जना छोरा सँगै बस्नै पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको