Like us!
Follow us!
Connect us!
Watch us!

अझै शेयर किन्न डराईरहनु भइरहेको छ ? त्यसो भए शेयर कारोबार गर्नै छोडिदिनुहोस्ः

बुधबार, ०१ जेठ २०७६, ११ : ५१ मा प्रकाशित

अझै शेयर किन्न डराईरहनु भइरहेको छ ? त्यसो भए शेयर कारोबार गर्नै छोडिदिनुहोस्ः

बजारमा बैंकको कर्जाको ब्याज धेरै बढ्यो भन्ने हल्ला आएको धेरैपछिसम्म पनि बैंकबाट ब्याज बढेको सूचना मैले पाइन । त्यसले गर्दा म यो बजारमा चलेको हल्ला मात्रै हो भन्ने कुरामा ढुक्क थिएँ । केहि साताअगाडि मैले कारोबार गर्ने एउटा बाणिज्य बैकबाट फोन आएको देख्ने बित्तिकै मलाई मनमा चसक्क पर्यो, –कि त बैकले मार्जिन कल गर्न फोन गर्यो, कि त ब्याज बढाउन । त्यहि संकोचबीच फोन उठाएँ । उताबाट मिठो स्वरमा जानकारी आयो, ‘तपाईंको साबिकको नौ प्रतिशत ब्याजमा शून्य दशमलब पच्चीस प्रतिशत ब्याज  थप भएको छ । अब तपाईंले नौ दशमलब पच्चीस प्रतिशत ब्याज तिर्नु पर्छ ।’

बैंक कर्मचारीको जानकारी सुनेर छक्क परें । बजारमा दुईतिन प्रतिशतसम्म ब्याज बढेको हल्ला सुनेको थिएँ । मेरो जम्मा शुन्य दशमलब पच्चीस मात्र बढेको रहेछ । म अवाक भएँ । म, न त्यो संस्थाको ठूलो ऋणी हुँ । म त्यति ठूलो सोर्सफोर्स भएको मान्छे । त्यस्तो अबस्थामा पनि जम्मा शून्य दशमलब पच्चीस प्रतिशत ब्याज बढ्यो भने ठूला लगानीकर्ताको कति बढेको होला ? तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ । तर, बजारमा हल्ला पिटियो, ‘ब्याजदर निकै बढ्यो । अब बजार बढ्ने क्रम सकियो । अब नेप्सेको बियरिस ट्रेण्ड सुरु भयो ।’ त्यही हल्लाले सबै डराएर शेयर बेच्न थाले । अनि बजार स्वत घट्न थाल्यो ।

माथिको मेरो ब्यक्तिगत अनुभबले नै देखायो, बजारमा कसरी हल्ला पिटिँदो रहेछ भन्ने । हल्ला पिट्नेको नियतमा कति खोट हुँदो रहेछ भन्ने यही एउटा हल्लाले प्रमाणित गर्छ । खेलाडीहरु जब बजार घटाउन लागि परेका हुन्छन्, बिचरा सोझा लगानीकर्ताहरु यस्ता आधारहिन हल्लामा बिश्वास गरेर सुनको मूल्यमा किनेको शेयर कौडीको भाउमा बेचिरहेका छन् । धुर्त खेलाडीहरु भने मौका यही हो भन्दै बजारबाट सेयर उठाईरहेका छन् । भोलि यिनै खेलाडीहरु फेरि केके हल्ला चलाएर त्यहि कौडिको शेयरलाई सुनको मूल्यमा तिनै सोझा लगानीकर्तालाई भिडाउँछन् । यसै गरी सोझा लगानीकर्ता बजारको चक्रमा निरन्तर ठगिँदै आईरहेका छन् ।

अहिले पनि त्यहि ठगिने क्रमअनुसार बिभिन्न हल्ला चलाईएका छन् । जुन चलाईएका हल्लामध्ये धेरैमा सत्यताको मात्रा ज्यादै न्युन हुन्छ । बजारमा हुँदै गएका सकारात्मक कुराहरुलाई दबाएर बिनाकारण बजार घट्छ भनेर हल्ला पिटिन्छ, यसको कारण के त ? लगानीकर्ताको कन्फिडेन्स जब झार्न सकिन्छ, बजार स्वतः तल झर्छ । यहि फर्मुला नेपाली सेयर बजारमा पटकपटक लगाईदै आएको छ । त्यस्तो हल्ला फैलाउनेहरु आफ्नो योजनामा सफल हुँदै गएका छन् । 

अहिले पनि बजारलाई हेर्दा गत एक बर्षको नेप्सेको औसत निकाल्दा १४९२ आउँछ । हिजो बुधबार बन्द भएको नेप्से १५४० भनेको गत एक बर्षको औसत नेप्सेको तीन प्रतिशत मात्र बढी हो । बार्षिक औसत मुद्रा स्फितिदर नै लगभग आठ प्रतिशत भएको देशमा जम्मा तीन प्रतिशत मात्र बृद्धि भएको नेप्से किन असुरक्षित ? सामान्यतयाः एक बर्षको औसत भनेको एकदमै लामो समय हो, त्यस्तो समयलाई आधार लिएकोले पनि बजार हालको अबस्थामा असुरक्षित मान्नुपर्ने अबस्था नै आउदैन ।

ब्याजको हौवाबाट किन डराउने ?

हाल बजारमा ब्याजको हल्लाले लगानीकर्तालाई तर्साईरहेको छ । सायद माथि उल्लेख गरेको मेरो ब्यक्तिगत अनुभबले नै ब्याजको हल्ला कति बास्तबिक हो र कति अबास्तबिक भनेर छुट्याउन सक्नुहुन्छ । अहिले बजारमा बार्षिक लगभग १० प्रतिशत ब्याजमा कर्जा पाइरहेको स्थिति छ । तर, शेयर बजारमा अहिले त्यो भन्दा धेरै गुणा राम्रो प्रतिफल पाईरहेको स्थिति छ । त्यसैले ब्याज बढी भए पनि किन डराउने ? त्यस लगानीबाट भएको नाफाले नै सजिलै ब्याज तिरेर तपाईलाई केहि नाफासमेत दिने स्थिति छ भने किन डराएर बजारबाट भाग्न खोज्दै हुनुहुन्छ ? आज बेचेको पैसाले केहि समयपछि त्यहि कम्पनीको त्यति नै शेयर पाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ ? कि शेयर बजारभन्दा कम जोखिममै धेरै नाफा कमाउने अरु कुनै क्षेत्र पत्ता लगाउनु भएको छ ? त्यसैले सोचेर, बिचार गरेर मात्र लगानी गरे यस्ता तर्साउने हल्लालाई तपाई आफैंले तर्साउन सक्नुहुन्छ ।

अरु पनि कुरा बिचार गर्नुहोस 

केहि महिनाअगाडि नकारात्मक भएको भुक्तानी सन्तुलन अहिले सकारात्मक भईसकेको छ । धितोपत्र बोर्डले गर्ने आफ्नो कामहरु एकदमै दु्रत गतिमा अगाडि बढाईरहेको स्थिति छ । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को बारेमा पनि राष्ट्र बैंकले प्रस्ट भनिसक्यो, ‘एकैपल्ट संस्थापक सेयर साधारणमा परिबर्तन हुँदैन, बिस्तारै हुन्छ’ । हालै बजार तल लाग्यो भनेर म्युचुयल फण्डका प्रबर्धक कम्पनीहरुमा पनि धितोपत्र बोर्डले छड्के अनुगमन गरिरहेको छ । यीलगायतका कुराले पनि अब बजारलाई अझ राम्रो टेवा दिने नै छ । धितोपत्र बोर्डका डरले पनि यदि म्युचुयल फण्डहरु बजार छिरे भने के हुन्छ ? एक पटक सोच्नुहोस त बजारको स्थिति । जब बजार हरियो हँुदै जान्छ । लगानीकर्तामा पनि आत्मविश्वासको मात्रा बढ्दै जान्छ । त्यसपछि आज तपाईले बेचेको दरमा, भोलि तपार्इंले त्यहि सेयर पाउनुहुन्न । अनि फेरि पछुताउँदै बस्ने ?

तर सचेत हुनुहोस् 

शेयरमा नाफा कमाईन्छ भन्ने हल्लाको पछि लागेर जुन पायो त्यहि कम्पनीको शेयर किन्नुभएको भए तपाईले नाफा होईन, आफ्नै पुँजी क्षिण बनाउँदै हुनुहुन्छ । कम्पनीको बिस्तृत अध्ययन गरेर राम्रो कम्पनीमा लगानी गर्नु भएको छ भने नडराई बस्नुहोस् । तपाईंले यो लगानीबाट अवश्य नाफा कमाउन सक्नुहुन्छ । चाहे बजार बढोस् कि घटोस् । चाहे ब्याज बढोस् कि घटोस् । अहिलेको अबस्थामा पनि बजार छिर्न डराउनु भयो भने सम्झनुस् तपार्इं सेयर बजारका लागि योग्य मान्छे नै होईन । भनिन्छ ‘काँतर र लोभीका लागि होईन सेयर बजार ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको