Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने प्रयास जारी छ : गभर्नर नेपाल

मंगलबार, ०५ मंसिर २०७४, २१ : २२ मा प्रकाशित

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने प्रयास जारी छ : गभर्नर नेपाल

अर्थ संसार, काठमाडौं–  नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सरकारले आवश्यक ऐन कानून तर्जुमा गरेको बताउँदै त्यसमा निजी क्षेत्रको संलग्नतालाई उच्च महत्व दिइएको स्पष्ट गर्नुभएको छ । 

आज यहाँ आयोजित ‘नेपाल–कोरिया व्यापार रात्रि’ लाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको विकासका साथै आर्थिक समृद्धि हासिल गर्न सरकारका नीति तथा कार्यक्रमबमोजिम केन्द्रीय बैंकले मौद्रिक एवम् वित्तीय ऐनकानून बनाएको बताउनुभयो । 

उहाँले वैदेशिक लगानी भित्र्याउन विश्वका विभिन्न मुलुकसँग द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौता भएको चर्चा गर्दै दक्षिण कोरियाले नेपालको सामाजिक, आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गर्नुभयो । 

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकासका गतिविधिले गति लिने विश्वास व्यक्त गर्दै कोरिया र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो । 

नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन, कृषि र जलविद्युत्को विकास गर्न सके नेपाल आर्थिक रुपमा समृद्धि देश बन्नेमा आफू ढुक्क रहेको बताउँदै यहाँको गरिबी हटाउने मुख्य तत्व कृषि र पर्यटन नै हो भन्नुभयो । 

कोरिया र नेपालबीच द्विपक्षीय व्यापार नगण्य मात्रामा भएकाले त्यसको बढोत्तरीका निम्ति आफूले सक्दो प्रयोस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल–कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साखले उपयुक्त नीति र वातावरणको अभावमा नेपाली उद्यमी व्यवसायीले व्यापार गर्न नसकेको गुनासो गर्दै चुनावको अन्त्यसँगै संक्रमणकालसमेत सकिने र त्यसले देशमा स्थायित्व ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको