Like us!
Follow us!
Connect us!
Watch us!

गाउँ पस्दै वाणिज्य बैंक

सोमबार, ०४ मंसिर २०७४, ०८ : २१ मा प्रकाशित

गाउँ पस्दै वाणिज्य बैंक

अर्थ संसार, काठमाडौं– नेपाल बंगलादेश बैंकले एक साताभित्रै बैंक तथा वित्तीय संस्था नपुगेका पूर्वी र पश्चिमी पहाडका तीन–तीनवटा गाउँपालिकामा शाखा स्थापना गर्ने भएको छ ।

पूर्वमा धनकुटा, संखुवासभा र पाँचथर तथा पश्चिममा जुम्ला र अर्घाखाँचीका गाउँपालिकाहरूमा शाखा स्थापना गर्ने अन्तिम तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

सिटिजन्स बैंकले भर्खरै हुम्लाको सर्केगाड र बर्दियाको बढैया तालमा शाखा सञ्चालनमा ल्याएको छ । सिटिजन्सले झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुलीमा पनि शाखा विस्तार गरेको छ ।

त्यस्तै, एनआइसी एसियाले हालै बाँकेको खजुरा, मोरङको कानेपोखरी, भोजपुरको चेंगबेनी, जुम्लाको चन्दननाथ, महोत्तरीको बर्दिवास, जाजरकोट, मुसिकोट, प्युठानमा शाखा विस्तार गरेको छ । प्रभु बैंकले कैलालीको बौनिया र पाँचथरको फिदिममा शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल बंगलादेश, सिटिजन्स, प्रभु र एनआइसी एसियाले मात्रै होइन, अहिले अधिकांश वाणिज्य बैंकले बैंक तथा वित्तीय संस्था नपुगेका स्थानमा धमाधम शाखा विस्तार गर्न थालेका छन् । सरकारको नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले ७७ ९नवलपरासी र रुकुमको विभाजनपछि० वटै जिल्लाका गाउँपालिकामा धमाधम शाखा खोल्ने कार्य अघि बढाएको बैंकर्स संघका उपाध्यक्ष ढुंगानाले बताए ।

पुससम्ममा १ सय ५० शाखा विस्तार

स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारको नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो चरणमा १ सय ५० स्थानीय तहमा शाखा स्थापनाको कार्य अघि बढिरहेको ढुंगानाले बताए ।

‘अहिले बैंक तथा वित्तीय संस्था नपुगेका स्थानीय तहमा शाखा विस्तारको कार्य धमाधम अघि बढिरहेको छ,’ उनले भने, ‘पुस मसान्तसम्ममा १ सय ५० स्थानीय तहमा शाखा स्थापना भइसक्ने देखिएको छ ।’ बैंकहरूले अहिले स्थानीय तहमा शाखा स्थापनाका लागि स्थान खोज्ने, घर भाडामा लिने, नेटवर्क जोड्ने, स्थानीय सरकारसँग समन्वय गर्नेलगायतका काम गरिरहेको उनले बताए ।

दोस्रो चरणमा १ सय शाखा

स्थानीय तहमा पहिलो चरणमा १ सय ५० शाखा स्थापना भएपछि दोस्रो चरणमा थप १ सय शाखा स्थापना हुनेछन् । नेपाल बैंकर्स संघले ४६ वटा नगरपालिका र २ सय ४ वटा गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न सहमति गरिसकेको छ । सोहीअनुसार शाखा विस्तारको काम धमाधम भइरहेको संघका कार्यालय सचिव अनिल शर्माले बताए ।

‘सबै बैंकले शाखा स्थापनाको काम अघि बढाइसकेका छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था नपुगेका मुलुकका २ सय ५० वटै स्थानीय तहमा शाखा खोल्ने गरी प्रक्रिया अघि बढिसकेको छ ।’ तर, संसदीय निर्देशनअनुसार भने बैंकले शाखा विस्तार गर्न सकेका छैनन् ।

संसद्को विकास समितिको २९ जेठ ०७४ को बैठकले दुई महिनाभित्र सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउन निर्देशन दिएको थियो । त्यसअनुसार बैंकका शाखा नपुगेका ४ सय १२ स्थानीय तहमा गत साउन मसान्तसम्ममा बैंकका शाखा पुगिसक्नुपर्ने थियो । तर, हालसम्म एक सय शाखासमेत स्थापना हुन सकेको छैन ।

‘पूर्वाधार अभावले समस्या’

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले स्थानीय तहमा बैंकका शाखा स्थापना हुने क्रम बढे पनि कार्यप्रगति सन्तोषजनक नभएको बताए । संसदीय समितिले दिएको निर्देशनअनुसार ५० प्रतिशतसमेत काम हुन नसकेको उनले जानकारी दिए । खासगरी पूर्वाधार अभावका कारण बैंकहरू समयमै स्थानीय तहमा पुग्न नसकेको उनले बताए ।

‘विद्युत्, सडक तथा इन्टरनेटलगायत पूर्वाधार नभएका कारण शाखा खोल्न समस्या भएको बैंकहरूले जनाएका छन्,’ उनले भने, ‘अर्कोतर्फ स्थानीय तहमै बैंकका शाखा कहाँ स्थापना गर्ने भन्ने विवाद रहेको समेत पाइयो ।’ नयाँपत्रिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको