Like us!
Follow us!
Connect us!
Watch us!

बाणिज्य बैंकमध्ये एनएमबि र सिभिलको मात्रै प्रतिसेयर आम्दानी बढ्यो

सोमबार, ०४ मंसिर २०७४, ०७ : ३७ मा प्रकाशित

बाणिज्य बैंकमध्ये एनएमबि र सिभिलको मात्रै प्रतिसेयर आम्दानी  बढ्यो

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ ।

प्रतिसेयर आम्दानी बढाउनेमा एनएमबि र सिभिल बैंकमात्रै छन् । यी दुई बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु   आवको असोज मसान्तसम्मको प्रतिसेयर आम्दानी बढाएका हुन् ।

नेप्सेमा सूचीकृत अन्य २५ बैंकको प्रतिसेयर आम्दानी घटेको छ । नेप्सेमा सूचीकृत सेयरमध्ये बैंकिङ अर्थात् वाणिज्य बैंकको वेटेज धेरै छ । ती समूहमा सूचीकृत कम्पनीको प्रतिसेयर आम्दानी घट्नु भनेको सेयर लगानीकर्ताले कम्पनीबाट पाउने प्रतिफल घटेको हो ।

बैंकहरुको पुँजी वृद्धिको तुलनामा नाफा बढ्न नसकेको हुनाले प्रतिसेयर आम्दानी घटेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “अधिकांश बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएको र सो अनुसार आम्दानी बढाउन नसक्दा प्रतिसेयर आम्दानी घटेको हो,” दाहालले भने, “प्रतिसेयर आम्दनी बढेका बैंकको चुक्ता पुँजी ८ अर्ब नपुगेको हुनाले हो ।”

यो अवधिमा बैंकहरुले ४५ प्रतिशतले पुँजी बढाएका छन् भने नाफा ४ प्रतिशतले मात्र बढाएका छन् । वित्तीय क्षेत्रमा देखिएको कर्जा लगानी योग्य पुँजी अभावका कारण बैंकहरुले पहिलो त्रैमासमा लगानी बढाउन नसकेका हुन् । बैंकहरुले पुँजी वृद्धिको अनुपातमा लगानी गर्नका लागि निक्षेप बढाउनुपर्ने अवस्था भएकोले लगानी गर्न नसकेका हुन् ।

२७ वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा बैंकहरुको यो आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी घटेको हो । प्रतिसेयर आम्दानीलाई वार्षिक रुपमा गणना गरिने हँुदा असोज मसान्तसम्मको तथ्यांकलाई वार्षिकीकरण गरी निकालिएको तथ्यांक अनुसार २५ बैंकको प्रतिसेयर आम्दनी घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंकले प्रतिसेयर आम्दानी गत आवको सोही अवधिको तुलनामा ६.२ रुपैयाँले बढेको छ । चालू आवको असोजसम्ममा बैंकको चुक्ता पुँजी सिभिलले ५ अर्ब १८ करोड रुपैयाँ मात्र भएको हुनाले प्रतिसेयर आम्दानी बढेको देखिएको हो ।

त्यसका साथै गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको असोज मसान्तसम्ममा एनएमबी बैंकले १.८८ रुपैयाँ प्रतिसेयर आम्दानी बढाएको छ । यो अवधिमा बैंकको पनि चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ । त्यसले गर्दा बैंकको प्रतिसेयर आम्दानी बढेको देखिएको हो ।

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको नेपाल बैंकको ४८ रुपैयाँ २९ पैसा रहेको कारोबारमा समाचार छ । बैंकले अचल सम्पत्ति बिक्री गरेर आम्दानी गरेको हुनाले प्रतिसेयर आम्दानी बढेको हो । तर, नेपाल बैंकको पनि गत आवको तुलनामा चालू आवमा प्रतिसेयर आम्दानी २३.४८ रुपैयाँले घटेको हो । गत आवको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा थियो ।


चालू आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी सबैभन्दा धेरै घट्ने बैंकमा एभरेष्ट बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४।७६ रुपैयाँमा झरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ७४.८८ रुपैयाँ थियो ।

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा थोरै प्रतिसेयर आम्दानी भएको जनता बैंकको ३.६८ रुपैयाँ छ । बैंकले गत आवको तुलनामा चालू आवको पहिलो त्रैमासमा ८.७२ रुपैयाँले घटेको हो । गत आवको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १२.४ रुपैयाँ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको