Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लगानीका चार जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दै

शनिबार, ०२ मंसिर २०७४, १० : ४३ मा प्रकाशित

स्वदेशी लगानीका चार जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दै

अर्थ संसार, काठमाडौँ –  नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविस्यमा नै साधारण सेयर जारी गर्ने तयारी गरेका छन् ।
 
माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण सेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् ।
 
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा सान्जेन जलविद्युत् आयोजनाले सिमित साधारण सेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
 
उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कुल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण सेयर नागरिक लगानी कोष मार्फत बिक्री गरिनेछ ।
 
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रो पावर लिमिटेडले पनि आगामी एक महिना भित्र सिमित साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सो आयोजनाले सिमित साधारण सेयर जारी गर्ने छ । कुल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण सेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।
आयोजनाका प्रमुख माधव कोइरालाकाअनुसार साधारण सेयर जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
पहिलो चरणमा बिक्री गर्न लागिएको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।
सेयर संरचनाअनुसार कोषका ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर बिक्री गरिनेछ ।  पहिलो चरणमा रु एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक  करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्कासन गरिनेछ ।
यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर बिक्री गर्ने गरी तयारी गरिएको छ ।
कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमई र एनसिएम मर्चेन्ट बैंकिङ मार्फत साधारण सेयर बिक्री गर्ने छ ।
त्यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।
 
आयोजनाले सर्वसाधारणका लागि रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ । आयोजना निर्माणले गति लिएको र आइतबार सुरुङ निर्माण प्रक्रिया समेत सम्पन्न हुने जानकारी आइरहेको बेला सम्पूर्ण नेपाली खुसी हुने गरी साधारण सेयर समेत बिक्री गर्न लागिएको आयोजनाले जनाएको छ ।
 
आम नेपालीका लागि कुल सेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण सेयर समेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयले दोलखाका सहकारी संस्थामार्फत पनि सेयर खरिद गर्न सक्नेछन् ।
 
आयोजनाले प्रभावितका लागि जारी पूँजीको दश प्रतिशत अर्थात  १ अर्ब ५ करोड ९० लाख बराबरको  १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गरिनेछ ।
 
कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङ समेत ब्रेक थ्रु भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्नेछ ।
 
आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको सन्दर्भमा आयोजनाले सर्वसाधारण तथा स्थानीय प्रभावितलाई समेत साधारण सेयर दिने तयारी गरेको हो ।
 
यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कक्मपनी मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि रु दुई अर्ब ९४ करोड बराबरको साधारण सेयर जारी गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाइ निष्काशन तथा विक्री प्रवन्धक तोकेको छ ।
 
पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताका लागि रु  एक अर्व १७ करोड बराबरको एक करोड सत्र लाख कित्ता सेयर, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि रु २१  करोड बराबरको २१  लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।
 
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि रु ६० करोड बराबरको साठी लाख  कित्ता साधारण सेयर जारी गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको