Like us!
Follow us!
Connect us!
Watch us!

बालाचतुर्दशीमा सद्बीज छर्नेको भिड, हजारौंले छरे सात प्रकारका अन्न (फोटोफिचर)

शुक्रबार, ०१ मंसिर २०७४, ०८ : ०८ मा प्रकाशित

बालाचतुर्दशीमा सद्बीज छर्नेको भिड, हजारौंले छरे सात प्रकारका अन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–नेपालीहरूको अर्को पर्व बाला चतुर्दशीका दिन सोमबार एकाविहानै पशुपतिनाथ मन्दिर परिसरमा हजारौं भक्तजनले सद्बीज छरेका छन् । पशुपति मन्दिर वरपर, बनकाली, स्लेशमान्तक बन, गुहेश्वरीलगायतका स्थान छरिएको सद्वीजले ढाकिएको छ ।

अघिल्लो दिन त्रयोदशीको बेलुकैदेखि पशुपति मन्दिर परिसरमा भक्तजन महादीप बालेर बसेका थिए । यस दिन पशुपति परिसरमा खुट्टा राख्ने ठाउँ थिएन । साँझ परेपछि धार्मिक अनुस्ठान सुरु भएको थियो । रातभर लाखबत्ती, महादीप, जीवनदीप नाममा बत्ती बाल्ने चलन छ । रातभर जाग्राम बस्नेहरू भजन, कीर्तन गरेर रमाइलो गर्छन् । 

भोलिपल्ट चतुर्दशीका दिन बिहानै रातभर बालिएको बत्ती बागमतिमा लगेर सेलाइन्छ । त्यसपछि सद्बिज छर्ने चलन छ । सद्बिज छर्न पशुपति मन्दिरनजिकैको मृगस्थलीमा हजारौं भक्तजन ओइरिन्छन् । सद्बिजमा गहुँ, मकै, जौ, धान, बयर, अमला र सस्युँलगायतका सात किसिमका अन्न, गेडागुडी मिसाइन्छ ।  यसमा फलफूल र अन्य कन्दमूलका टुक्रासमेत हालिन्छ । 

अघिल्लो बर्ष आफ्नो परिवारका सदस्यको स्वर्गारोहण भएकाहरूले मृतआत्माको स्मृतिमा वत्ती बाल्दै सद्बिज छर्ने चलन छ । सद्बिज छर्न स्वदेशी मात्र नभइ भारतबाट समेत हजारौं भक्तजन पशुपति मन्दिर परिसरमा आउँछन् । 

धार्मिक ग्रन्थहरूका अनुसार शिवले मृगको रुप धारण गरेर बालाचतुर्दशीका दिन पृथ्वीमा बिचरण गरेका थिए । शिवले घुमेको, खाएको, सुतेको ठाउँमा प्राणीका लागि आवश्यक अन्न (सद्बिज) छर्ने चलन थालिएको किम्बदन्ती छ । यस दिन सद्बिज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दान गरेको पुण्य मिल्ने विश्वास छ । सद्बिज छरिसकेपछि खिर, दहिचिउरा, फलफूल, मिष्ठान्न भोजन गरेर शिवलिला, कृष्ण चरित्रसम्बन्धी भजन, कीर्तन गाएर भगवानको आराधना गर्ने चलन छ ।

जनश्रुती अनुसार कैलाशबाट शिव श्लेषमान्तक बनमा मृगको रुप धारण गरी बसेका थिए । उनी त्यहाँबाट फर्कने नदेखेपछि पार्वती आत्तिइन् । उनले दिब्यदृष्टिले हेर्दा शिव श्लेषमान्तकमा मृगको रुप धारण गरेर बसेको देखिन् । त्यसपछि शिवलाई आकर्षित गर्न पार्वतीले वनमा सद्बिज छरिन् । छरेको अन्नको बिउ उम्रिएर हरियो भएपछि मृगहरू लोभिएर घाँस खान आउन थाले । त्यसपछि पार्वतीले शिवलाई चिनेर फर्काएर लगिन् । पार्वतीले सुरु गरेकाले सद्बिज छर्ने चलनलाई अहिलेसम्म निरन्तरता दिइएको किम्बदन्ती छ । 

यस दिन बौद्ध धर्माबलम्बी पनि स्वयंभूमा सद्बिज छर्न जान्छन् । पितृका नाममा लामा, शेर्पा, तामाङ, गुरुङलगायतका जातजातिले अन्न, फलफूल छर्ने गरेको पाइन्छ । यस दिन मुलुकभरका महादेवका मन्दिरहरूमा समेत दर्शनार्थीको घुइँचो लाग्छ ।

बालाचतुर्दशीदेखि काठमाडौं उपत्यकामा जाडो भित्रन्छ भनिन्छ । त्यसैले यसै दिनदेखि पशुपतिनाथलाई तातोपानीले स्नान गराउने चलन छ । तातोपानीले स्नान गराउने क्रम चैत्र कृष्ण चतुर्दशीसम्म चल्छ । त्यसैले बाला चतुर्दशी नेपाली सस्कृतिको अभिन्न अंग बन्दै गएको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको