Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बिमाबापत सवा ६ करोड बिमाशुल्क संकलन

मंगलबार, २१ कार्तिक २०७४, ०८ : ३४ मा प्रकाशित

स्वास्थ्य बिमाबापत सवा ६ करोड बिमाशुल्क संकलन

अर्थ संसार, काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७३/०७४ मा ६ करोड १३ लाख रुपैयाँ बिमाशुल्क (योगदान रकम) संकलन भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार गत आवमा स्वास्थ्य बिमा सञ्चालन भएका १५ जिल्लाबाट उक्त रकम संकलन भएको हो ।

अघिल्लो आवमा भने २० लाख ९० हजार रुपैयाँ संकलन भएको थियो । समितिको तथ्यांकअनुसार कार्यक्रम सञ्चालन भएका जिल्लामध्ये पाल्पाबाट सबैभन्दा धेरै बिमाशुल्क संकलन भएको छ ।

गत आवमा मात्रै उक्त जिल्लाबाट १ करोड ३१ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, कास्की जिल्लाबाट १ करोड ३१ लाख रुपैयाँ संकलन भएको छ भने इलामबाट ७६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ ।

तर, अछाम जिल्लाबाट सबैभन्दा कम ८ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ । सेवा प्रदायक संस्थाहरू राम्रो भएको क्षेत्रका मानिसहरू बिमाप्रति बढी आकर्षित भएको देखिएको समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। भुवन पौडेले बताए ।

त्यस्तै, समितिले गत आवको अन्त्यसम्ममा १ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तथ्यांकअनुसार बिमा कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले २२ हजार २२८ पटक स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य उपचार सेवा  लिएबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले १ करोड ९७ लाख रुपैयाँ दाबी गरेको समितिले बताएको छ । तर, १३ लाख २० हजारको दाबी नियमसंगत नभएपछि समितिले भुक्तानी गर्न अस्वीकार गरेको हो ।

सरकारद्वारा सञ्चालित बिमा कार्यक्रममा सहभागी हुनका लागि वार्षिक २ हजार ५ सय रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । उक्त शुल्कबापत एकै परिवारका पाँच जनासम्मले अधिकतम ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा पाउँछन् ।

तर अति गरिब वर्गमा परेका नागरिकलाई भने उक्त बिमा शुल्क शतप्रतिशत छुट हुनेछ । त्यस्तै, मध्यम गरिब र गरिब वर्गका नागरिकले क्रमशः ७५ र ५० प्रतिशतसम्मको छुट पाउनेछन् । सरकारले गरिबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रको आधारमा गरिबीको पहिचान गरी छुट प्रदान गर्ने समितिले बताएको छ ।

बिमाबापत बिमितहरुबाट संकलन भएको रकम भने समितिकै मातहतमा बिमा कोष खडा गरी संकलन गरिएको छ । हालसम्म सरकारले नै प्रदान गरेको बजेटबाट नै दाबी भुक्तानी गरिएको पनि समितिले बताएको छ ।

०७२ चैतदेखि कैलालीबाट सुरुवात भएको स्वास्थ्य बिमा कार्यक्रम असोज मसान्तसम्ममा २२ वटा जिल्लामा विस्तार भएको छ । पहिलो चरणको लागि छनोट भएका २५ जिल्लामध्ये बाँकी रहेका तीन जिल्लामा निर्वाचनपछि कार्यक्रम विस्तार गरिने समितिले बताएको छ । त्यस्तै, चालू आवका लागि बिमा कार्यक्रम सञ्चालन गर्न समितिले १४ वटा जिल्ला छनोट गरेको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको