Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनमा ढिलाइ गर्ने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्दै

सोमबार, १३ कार्तिक २०७४, ०८ : १४ मा प्रकाशित

हकप्रद निष्कासनमा ढिलाइ गर्ने  कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्दै

अर्थ संसार, काठमाडौं –  हकप्रद सेयर निष्कासनको घोषणा गरी लामो समयसम्म निष्कासन–प्रक्रिया अघि नबढाउने आठ कम्पनीमाथि नेपाल धितोपत्र बोर्ड सेबोन०ले छानबिन शुरू गरेको छ ।

बोर्डले कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स र सेती फाइनान्स कम्पनीमाथि अनुसन्धान शुरू गरेको हो । बोर्डले प्रारम्भिक चरणको अनुसन्धानका लागि निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी छानबिन थालिसकेको छ ।

समितिका संयोजक श्रेष्ठले आठ कम्पनीमाथि हकप्रद निष्कासन नगर्नुको कारणसहित छानबिन प्रक्रिया शुरू भइसकेको र केही समयमै प्रारम्भिक प्रतिवेदन तयार हुने बताए । उनले भने, ‘छानबिनका क्रममा निर्णय गरेको हकप्रद निष्कासन गर्न नै जोड दिइनेछ । तर, सञ्चालक दोषी पाइएमा जरीवानासहित कारबाही गरिनेछ ।’ उनका अनुसार दोषीलाई रू। २ लाखसम्म जरीवानासहित कारबाही हुन सक्नेछ ।

बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को हकप्रद सेयर निष्कासनका लागि पूरा हुनुपर्ने अवस्थामा सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरेको २ महीनाभित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । यस्तै सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि रहेको छ ।

सोही व्यवस्थाअनुसार कम्पनीहरूले निर्णय गरिसकेको हकप्रद सेयर निष्कासनमा ढिलाइ गरेकाले बोर्डले छानबिन थालेको हो । लगानीकर्ताहरूबाट निर्णय भए पनि हकप्रद निष्कासन नगरेको गुनासो आएपछि छानबिन प्रक्रिया अघि बढाइएको बोर्डले बताएको छ ।

बोर्डका अनुसार कुमारी बैङ्कले २०७३ चैत ९ गतेको १६औं वार्षिक साधारणसभाबाट काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्कलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापूँजीको रू. १ अर्ब १९ करोड ३८ लाख ९९ हजारबराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै देवः विकास बैङ्कले गत असार २९ गतेको विशेष साधारणसभामार्फत ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो । यस्तै पोखरा फाइनान्सले २०७३ कात्तिक ९ गतेको २०औं वार्षिक साधारणसभामार्फत एफपीओ जारीपछि कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव १५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सिनर्जी फाइनान्सले पूँजीवृद्धिका लागि भन्दै २०७३ मङ्सिर ५ गतेको विशेष साधारणसभामार्फत १ बराबर शून्य दशमलव २५ प्रतिशत र नागबेली लघुवित्त विकास बैङ्कले २०७३ पुस २९ गतेको ७औं वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

सेती फाइनान्सले २०७२ चैत २० गते १ बराबर १ दशमलव ५ प्रतिशत र साझा विकास बैङ्कले २०७३ असार ३१ गतेको तेस्रो साधारणसभामार्फत ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका थिए ।

जेविल्स फाइनान्सले असार २३ गतेको विशेष साधारणसभाबाट १ बराबर १ को अनुपातमा हकप्रद जारी गरेपछि कायम हुने चुक्तापूँजीको पुनः ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

हाल जेविल्सले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गरिरहेको छ । असोज १ देखि कात्तिक ५ गतेसम्म निष्कासन गरेको हकप्रदमा १५ दिन म्याद थप गरी कात्तिक २० गतेसम्म कायम गरेको छ ।

जेविल्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मीले निर्णय भएका दुवै हकप्रद निष्कासन गर्नमा ढिलाइ नगर्ने बताए । १ बराबर १ को अनुपातमा हकप्रद जारीपछि कायम चुक्तापूँजीको ४० प्रतिशत पुनः निष्कासन गर्ने निर्णयअनुरूप हाल निष्कासनका क्रममा रहेको हकप्रदबाट पूँजी चुक्ता भइसकेपश्चात् ४० प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी दिए । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको