Like us!
Follow us!
Connect us!
Watch us!

भोट फकाउन तरकारीको बीउ

शुक्रबार, १० कार्तिक २०७४, ११ : ०२ मा प्रकाशित

भोट फकाउन तरकारीको बीउ

अर्थ संसार, खोटाङ–आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ ।

गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाउनुभएको हो ।

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन् । बीउ र घोषणापत्र सँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो रु’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ ।

झण्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लाग्नुभएका राईले आचारसंहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् ।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । कृषि क्षेत्रको विज्ञ मानिनुभएका राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिनुभएको छ ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुनेगरेको छ । चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिनुभएका सूर्यबहादुर राईले बताउनुभयो ।

कृषि क्षेत्रमा विज्ञता हासिल गर्नुभएका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठूलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को विरोध गर्ने गरेका छन् । अहिले उम्मेदवार बन्नुभएका राईले जिल्लामा पहिलोपटक व्यावसायिकरुपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिनुभएको जिल्लाका अगुवा कृषक बताउँछन् ।

भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिर्नुभएका राईलाई जिल्लावासीले उति महत्वका साथ भने हेरेका छैनन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९एमाले०का विशाल भट्टराई र नेपाली काँग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका भट्टराईलाई नेकपा ९माओवादी केन्द्र० लगायत साना कम्युनिष्ट दलले सघाउने देखिन्छ । काँग्रेसबाट उम्मेदवार बन्नुभएकी बजिमयलाई राप्रपाले सघाउने स्रोतले जनाएको छ ।

नयाँ शक्तिका उम्मेदवार राईलाई सघाउने राजनीतिक दल अहिलेसम्म देखिएको छैन । सरकारी सेवाबाट अवकाश प्राप्त राईलाई उहाँले खोल्नुभएको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा केही कार्यकर्ताको साथ रहेको छ ।

प्रदेशसभाको दुवै क्षेत्रमा उम्मेदवारी दिएको नयाँ शक्ति नेपालका नेताले चार दिनपछि बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं १ बाट उम्मेदवारी दिएका मोहन गुरुङ र क्षेत्र नं २ बाट उम्मेदवारी दिएका मणि राईले एकसाथै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको