Like us!
Follow us!
Connect us!
Watch us!

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

आइतबार, २२ असोज २०७४, १५ : ४८ मा प्रकाशित

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी

अर्थ संसार, फलेवास–  यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन् ।

विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीको परिवारमा अहिले झण्डै १०० घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक रु २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उहाँ धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा चिनिनुभएको छ ।

उक्त उद्योगबाट वार्षिकरुपमा झण्डै साढे छ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ७५० छ ।

त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २०० वटासम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका लागि कतार पुग्नुभएका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बस्नुभएको छ ।

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पूरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ । घरमै बसेर वार्षिक रु २५ लाखसम्म आम्दानी हुन्छ, किन विदेश जानुप¥यो जीवनबाबु भन्नुहुन्छ, “अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै बिस्तार गर्ने योजना छ ।”

सो व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालीम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उहाँले बताउनुभयो । “आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै तथा कुश्माबजार, बागलुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिनुभयो ।

“उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”– उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” प्रत्येक तीन÷तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिनुभयो । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । ।

परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ २७ वर्षीय जीवनबाबु खत्री भन्नुहुन्छ, “यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।” उक्त व्यवसायबाट भएको कमाइले विभिन्न शहरबजारमा घरघडेरीसमेत जोडिसकेको पनि उहाँले बताउनुभयो ।

मौरीमात्र हैन उक्त परिवारले गाउँमै माछापालनसमेत गरेको छ । दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन गरेका छन् ।

त्यस्तै व्यावसायिक तरकारी र गोँलभेडा खेती पनि गर्दै आएको खत्री परिवारले विकट गाउँका बासिन्दालाई सेवा दिने उद्देश्यले खाद्यान्न कुटनीपिसानी मिलसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो परिवारमात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको