आइतबार, ०६ साउन २०७५, १८ : ११
४३ प्रतिशतले बढाए जीवन बीमा कम्पनीले बीमालेख धितोमा कर्जा
शुक्रबार, २० असोज २०७४

अर्थ संसार, काठमाडौं – आर्थिक वर्ष ०७२/७३ को चौथो त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा कर्जा ४६ प्रतिशतले बढाएका छन् । हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ८ जीवन बीमा कम्पनीको अवस्थालाई हेर्दा सो वृद्धि देखिएको हो ।

अघिल्लो आवमा यी कम्पनीहरूले रू ९ अर्ब ५२ करोड ६७ लाख २३ हजार बीमालेख धितो राखी कर्जा उपलब्ध गराएकोमा गत आवको चौथो त्रैमासमा रू १३ अर्ब ८६ करोड ५३ लाख ५६ हजार बीमालेख धितोमा कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो समयमा ८ कम्पनीमध्ये सबैभन्दा बढी वृद्धि सूर्या लाइफ इन्स्योरेन्सको देखिएको छ । सूर्या लाइफले अघिल्लो आवको तुलनामा १ सय २ प्रतिशतले बढाएर धितोमा कर्जा उपलब्ध गराएको छ । अघिल्लो आवमा रू ६ करोड ८७ लाख ५२ हजार धितोमा कर्जा प्रवाह गरेको सूर्या लाइफले गत आवको चौथो त्रैमासमा रू १३ करोड ८६ लाख ३८ हजार धितोमा कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, गुराँस लाइफले ९९ प्रतिशतले बढाएर धितोमा कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम वृद्धि भने मेट लाइफको रहेको छ । मेट लाइफले अघिल्लो आवको चौथो त्रैमासमा रू ७६ करोड ५८ लाख ९८ हजार बीमालेख धितोमा कर्जा प्रवाह गरेकोमा गत आवको चौथो त्रैमासमा ८ प्रतिशतले मात्र बढाएर रू ८३ करोड ४ लाख ९ हजार प्रवाह गरेको वित्तीय विवरणमा खुलाएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शङ्करप्रसाद दाहाल सरल नीति र कम ब्याजदरका कारण बीमितहरूको कर्जाप्रतिको बढ्दो आकर्षणका कारण प्रवाह बढ्दै गएको बताउँछन् ।

करीब २ वर्ष बीमाशुल्क भुक्तानी गरेका बीमितहरूलाई बीमालेख धितोमा कर्जा ८ देखि ११ प्रतिशत ब्याजदरमा बीमा शुल्क भुक्तानी रकमको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराएको उनले जानकारी दिए । यो कर्जा भुक्तानीको लागि बीमितले अन्तिम बीमा शुल्क भुक्तानी गर्दासम्मको समय रहने भएकाले यस कर्जामा आकर्षण बढी भएको उनको भनाइ छ ।

के हो बीमालेख धितोमा कर्जा ?

बीमालेख धितोमा कर्जा भन्नाले बीमितले बीमा गराएपछि बीमा कम्पनीबाट प्राप्त गरेको बीमाको करारनामासम्बन्धी अधिकार तथा दायित्व उल्लेख भएको लिखित प्रतिलिपि (बीमालेख) धितो राखी लिइने कर्जा हो । साधारणतया जीवन बीमा कम्पनीहरूले बीमितले गरेको बीमाशुल्क भुक्तानीका आधारमा बीमालेख धितोमा कर्जा प्रवाह गर्ने गर्दछन् ।

कम्पनीहरूले बीमितले गरेको बीमाशुल्क भुक्तानी रकमको ९० प्रतिशतसम्म बीमालेख धितोकर्जा उपलब्ध गराउँदै आएका छन् । यो कर्जा बीमा कम्पनीहरूले ८ देखि ११ प्रतिशतसम्मको ब्याजदरमा प्रवाह गरेको पाइन्छ । कर्जा लिँदा बीमालेखबाहेक अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन भने यो कर्जा भुक्तानी अवधि बीमितको बीमा अवधिबराबर रहेको छ । अभियानबाट

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved