Like us!
Follow us!
Connect us!
Watch us!

तलब नपाउँदा शिक्षकको दशैँ खल्लो

मंगलबार, १० असोज २०७४, ०८ : ३३ मा प्रकाशित

तलब नपाउँदा  शिक्षकको दशैँ खल्लो

अर्थ संसार, महोत्तरी– दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् ।

प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ ।

नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताउनुभयो । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उहाँको भनाइ छ ।

ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताउनुभयो ।

यस सम्बन्धमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताउनुभयो ।

यता महोत्तरीलगायत २ नं प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएपनि कार्यालय पूर्णरुपमा सञ्चालनमा नआएकाले शिक्षकले तलब पाउन नसकेको जिशिअ दाहालले पत्रकारलाई बताउनुभयो ।

यता भर्खरै स्थानीय तहको निर्वाचनको परिणाम आएकाले हरेक विद्यालयमा तलब पठाउने व्यवस्था भइरहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । जिल्लाभरिमा दुई हजारको हाराहारीमा शिक्षक कार्यरत रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको