Like us!
Follow us!
Connect us!
Watch us!

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

शुक्रबार, ०६ असोज २०७४, ११ : ५४ मा प्रकाशित

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ”–राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो ।

वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाबाट गरिएको योगदान सरहानीय रहेको बताउँदै उहाँले गैरसरकारी संस्था उद्धार, कल्याण, आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिकालाई आम जनसमुदायसम्म पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमबहादुर राईले सामाजिक सेवामा आवद्ध सामाजिक संघसंस्था पारदर्शी हुनुपर्छ भन्नुभयो ।

परिषद्का उपाध्यक्ष लीलामणि बरालले समयसापेक्ष बनाउन समाज कल्याण ऐन २०४९ को सट्टा नयाँ ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

परिषद्ले यस वर्षको ‘तुलसी मेयर समाज सेवा पुरस्कार’ एबिसी नेपाल नामक संस्थालाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

त्यसैगरी ‘समाज सेवा पुरस्कार–२०७४’ समाजसेवी शान्ता श्रेष्ठ, संगीता पन्त र विद्याकर खतिवडालगायत सात जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २१ हजार रहेको छ ।

कार्यक्रममा समाज सेवामा योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । ‘शान्ति र सम्बृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूलनाराका साथ परिषद्ले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाएको छ ।

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पु¥याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको हो ।

परिषद्ले हाल सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको