Like us!
Follow us!
Connect us!
Watch us!

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

बुधबार, ०४ असोज २०७४, १२ : ५१ मा प्रकाशित

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

अर्थ संसार, मेक्सिको सिटी– मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ ।

भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।

अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् ।

मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन् ।

मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उहाँले जानकारी दिनुभयो ।

पुएब्ला राज्यम मात्र ४१ ज्नाको ज्यान गएको सो राज्यका गभर्नर टोनी गालीले टेलिभिजन अन्तरवार्तामा भन्नुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार ती मध्ये १५ जना त चर्चमा प्रार्थना गरिरहेका बेला भवन भत्किदा मारिएका थिए ।

राजधानी मेक्सिको सिटीमा पनि ठूलो क्षति पुगेको छ । उक्त सिटीका मेयर माइगल एनगेलले सो सिटीमा मात्र ३० जनाको ज्यान गएको छ ।

सो सिटीमा २९ वटा भवन पूर्ण रुपमा ढलेका छन् । आंशिक रुपमा भवनमा क्षति पुगेको, आवास क्षेत्रका घरहरुमा पनि क्षति पुगेको र बिजुली बत्ती र पानीको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

अहिलेसम्म पूरै क्षतिको विवरण आएको छैन । तर सहरी इलाकामा पनि ठूलो संख्याका भवनहरु भत्किनुका साथै त्यसमा परेर कैयौँ स्थानीय पुरिएका वा चेपुवामा परेका अनुमान गरिएको छ ।

मेक्सिकोका मेयर एनगेलले दिनुभएको जानकारीअनुसार सो क्षेत्रमा अरु धेरै मानिस मारिएका हुनसक्छन् । उनीहरुका बीचमा त्रास फैलिएको र भागाभागमा धेरै मानिस परेको उहाँले बताउनुभयो ।

पुएब्ला मेक्सिकोको मध्य भागमा पर्ने राज्य हो । सोही राज्यमा भूकम्पको केन्द्रबिन्दु रहेको छ । सो राज्यमा मापन गरिएकोमा भूकम्प ७।१ म्याग्निच्युडको रहेको बताइएको छ ।

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा यो भन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८।१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा यस शताब्दीकै यी दुइ वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरुले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको