Like us!
Follow us!
Connect us!
Watch us!

गाउँ गाउँमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो

आइतबार, ०१ असोज २०७४, ०८ : ३० मा प्रकाशित

गाउँ गाउँमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो

अर्थ संसार,  रामपुर – स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ ।

हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ ।

माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि आजभन्दा १० वर्ष अगाडिसम्म पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि शहर पस्ने विद्यार्थीको संख्यामा कमी आएको छ ।

पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिकामा अवस्थित रामतुलसी माविमा विगत तीन वर्षदेखि प्राविधिक धारअन्तर्गतको तीन वर्षे डिप्लोमा तहसम्मका लागि कृषि बाली विज्ञान पठनपाठन शुरु भइरहेको छ भने यसै शैक्षिक सत्रदेखि आधारभूत माविमा कक्षा ९ देखि १२ सम्मका लागि पशु विज्ञान शिक्षा र दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ पठनपाठन सञ्चालनमा आएको छ ।

शैक्षिक क्षेत्रको विकास हुँदै जाँदा रामपुर क्षेत्रमा अहिले राजधानीसहित पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भित्रिन थालेका छन् । रामपुरबाट बुटवल, पोखरा, काठमाण्डौँ अध्ययनका लागि बाहिर जाने विद्यार्थीको क्रम अहिले न्यून अवस्थामा रहेको छ भने अन्यत्र ठाउँबाट रामपुरमा विद्यार्थी आउने क्रम बढ्दो रहेको छ ।

जिल्ला सदरमुकामदेखि करिब ६५ किमी पूर्वमा अवस्थित रामपुर नगरपालिकामा बस्ती बढ्दै जानु र यहाँका मानिसमा चेतनाको विकास र शैक्षिक क्षेत्रको उन्नतिका लागि अथक प्रयासका कारण यहाँ प्राविधिक धारअन्तर्गतका विभिन्न विषय सञ्चालनमा ल्याउन सफल भएको हो ।

अन्य स्थानमा भन्दा रामपुरमा सुलभ दरमा अध्यापन हुने भएकाले पनि प्राविधिक शिक्षाका लागि अधिकांश विद्यार्थी बाहिरी जिल्लाबाट आउने गरेको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ । कृषि बाली विज्ञानका लागि ४० जना विद्यार्थीको मात्र सीमित कोटा रहेको रामतुलसी माविमा अहिले विद्यार्थी खोज्न भौँतारिनु पर्ने अवस्था नरहेको लम्सालले बताउनुभयो ।

दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ शिक्षामा ४८ जना विद्यार्थी कोटामध्ये हाल २८ जना विद्यार्थी भर्ना भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस विद्यालयमा अधिकांश विद्यार्थी बाहिरी जिल्लाका रहेको पाइएको छ । सस्तो र सुलभरुपमा गुणस्तरीय शिक्षा सञ्चालनमा ल्याएका कारण अन्यत्रबाट यहाँ पठनपाठनमा आउने विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ ।

तोकिएको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । आधारभूत माविमा पनि कक्षा ९ देखि १२ सम्मका लागि जिल्लामै पहिलोपटक पशु विज्ञान शिक्षा सञ्चालनमा आएको छ ।

घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् । गाउँ गाउँमै फरक फरकखालका प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको