Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदको प्रिमियमबाट पौने २ अर्ब संकलन

विहीबार, २२ भदौ २०७४, ०८ : ०५ मा प्रकाशित

हकप्रदको प्रिमियमबाट पौने २ अर्ब संकलन

अर्थ संसार, काठमाडौं– गत आर्थिक वर्षमा बैंकहरूले करिब २ अर्ब रूपैयाँ बरावरको प्रिमियम संकलन गरेका छन् । बैंकहरूले निष्कासन गरेको हकप्रद सेयर विक्री नभएपछि लिलाम विक्रीमार्फत सो परिमाणमा प्रिमियम संकलन गरेका हुन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरूलाई चुक्ता पुँजी ८ अर्ब पुर्याउनु पर्ने भएपछि अधिकांशले हकप्रद सेयर निष्कासन गरेका थिए । अंकित मूल्यमा हकप्रद सेयरमा लगानी गरेर लगानीकर्ता पुँजी आर्जन गर्न नखोज्नु भनेको लगानीकर्ता जानकार नहुनु वा स्वदेशमा नहुनु नै हो ।

समान्यतया वाणिज्य बैंकहरूको सेयर मूल्य दोस्रो बजारमा अंकित मूल्यभन्दा धेरै नै छ । अंकित मूल्यको धेरै गुणासम्म माथि भएका कम्पनीको पनि हकप्रद सेयर नबिक्नु भनेको सेयरमा लगानी गरी लगानीकर्ताले चासो प्रभावकारी रूपमा नराखेको स्पष्ट हुन्छ ।

बैंकहरूले चुक्ता पुँजी वढाउनका लागि निष्कासन गरेको हकप्रद सेयरमार्फत लिलाम विक्री गर्दा राम्रै प्रिमियम संकलन भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

“बैंकहरू हकप्रद सेयरमार्फत संकलन गरेको प्रिमियम रकम सञ्चितीमा जम्मा गर्छन्,” उनले भने, “यसरी जम्मा भएको रकमवाट बोनस सेयर मात्र वितरण गर्न मिल्छ ।” सेयरमार्फत संकलन भएको प्रिमियम बोनस सेयर वितरणका लागि नै प्रयोग हुने उनले बताए ।

बैंकहरूले चुक्ता पुँजी बढाउने आधार भनेको नयाँ निष्कासन, हकप्रद र बोनस सेयर हुन् । त्यसमध्ये प्रिमियममा निष्कासन भएको फर्दर पब्लिक अफरिङ र विक्री नभएको हकप्रद सेयर बढाबढ लिलाम विक्री गर्दा प्रिमियम संकलन हुन्छ ।

कम्पनीले अंकित मूल्य एक सय रूपैयाँभन्दा धेरैमा सेयर विक्री गरेको खण्डमा त्यो रकम प्रिमियम हो । यसरी प्रिमियममार्फत संकलन गरेको रकम बैंकहरूको सञ्चित कोषमा जम्मा हुन्छ । सो रकममार्फत बैंकहरूले सेयरधनीलाई प्रतिफलको रूपमा बोनस सेयर मात्र वितरण गर्न पाउँछन् ।

युनिलिभर नेपालको सेयर मूल्य ३० हजार रुपैयाँभन्दा माथि भए पनि त्यो कम्पनीले हकप्रद सेयर निष्कासन गरेको खण्डमा विक्री हुने सम्भावना न्यून हुने सिद्धार्थ क्यापिटलका प्रमूख कार्यकारी अधिकृत ध्ूव तिमिल्सिनाले बताए ।

“हकप्रद सेयर विक्री नहुने भनेको निष्कासन बारेमा सेयरधनीलाइ थाहा नभएर वा सेयरमा लगानी गरेर बस्ने लगानीकर्ता भएकाले हो,” उनले भने, “आफ्नो लगानीको अनुगमन नगर्ने लगानीकर्तालाई सामूहिक लगानी कोष उपयुक्त हुन्छ ।”

यसरी लगानीकर्ताले खरिद नगरेको सेयर विक्री गर्दा कम्पनीलाइ प्रिमियममा आम्दानी हुने उनले बताए । हकप्रदमार्फत पनि आएको प्रिमियम कम्पनीको सेयर प्रिमियममा सञ्चित गरी बोनस सेयर बाँड्नका लागि प्रयोग हुने उनले बताए ।

गत आर्थिक वर्षमा १४ वाणिज्य बैंकहरूले हकप्रद सेयर निष्कासन गरेका छन् । ती बैंकहरूले कुल एक अर्ब ८७ करोड ८३ लाख रुपैयाँ प्रिमियम रकम संकलन गरेका छन् । यसकारण पनि गत आर्थिक वर्षको प्रतिफलमा अधिकांशं बैंकहरूले लगानीकर्तालाई बोनस सेयर पनि दिनेछन् ।

सर्वसाधारण लगानीकर्ता बोनस उपयुक्त मान्छन् भने संस्थापक सेयरधनी नगद लाभांशमा आकर्षित हुन्छन् । गत आवको प्रिमियम बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धिका लागि प्रयोग हुनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूले गत आवको नाफावाट बोनस सेयर वितरण गरेर ८ अर्ब चुक्ता पुँजी पु¥याउन सकिने व्यवस्था गरेको कारोबारमा समाचार छ ।

गत आवमा सबैभन्दा धेरै हकप्रद सेयरको लिलामीमार्फत प्रिमियम संकलन गर्ने बैंकमा कृषि विकास बैंक रहेको छ । बैंकले १९ लाख ६८ हजार ५ सय ७५ कित्ता सेयर लिलाम विक्री गर्दा ५४ करोड २१ लाख ५५ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आवमा सबैभन्दा थोरै सेञ्चुरी कमर्सियल बैंकले २ लाख १२ हजार ५ सय १० कित्ता हकप्रद सेयर लिलाम विक्री गर्दा ५९ लाख ३९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको