Like us!
Follow us!
Connect us!
Watch us!

एक सय तेह्र विद्यालय पुनःनिर्माण

बुधबार, १४ भदौ २०७४, १३ : ३६ मा प्रकाशित

एक सय तेह्र विद्यालय पुनःनिर्माण

अर्थ संसार, गोरखा– फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिनुभयो ।

दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार लगानी भएको छ । भवन पुनः निर्माणलाई ४।५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो ।

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताउनुभयो । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा ११३ विद्यालय, मकवानपुरमा १११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ ।

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४४९ विद्यालयमध्ये अहिलेसम्म २०५ वटा पुनःनिर्माण भइसकेको र १५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको