Like us!
Follow us!
Connect us!
Watch us!

पूजा दाहाल न्यौपानेको उज्यालो यात्रा : बन्दैछ ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना

शनिबार, २८ साउन २०७४, २१ : १४ मा प्रकाशित

पूजा दाहाल न्यौपानेको उज्यालो यात्रा :  बन्दैछ ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना

  • रमेश लम्साल

  • केशव रोक्का

मानिसका फरक फरक आयामहरु हुन्छन् । जन्मने बित्तिकै कुनै एक प्रतिभा प्रकृतिले हरेक मान्छेका लागि दिएर पठाएको हुन्छ । धर्मशास्त्रले कर्मअनुसारको फलको कुरा पनि गर्दछ ।

विधिशास्त्रका पनि आ–आफ्ना मान्यताहरु छन् । जुन दृष्टिकोणको हिसाबले भन्दा पनि क्षमतालाई कसले कति र कुन रुपमा प्रयोग गर्यो भन्ने कुराले बढी प्रभावित पार्दछ । मानिसको जन्मले कर्म पनि सँगै लिएर आएको हुन्छ । तर हाम्रो जस्तो मुलुकका आम मान्छेका चाहना आधारभूत रुपमा फरक छैनन् । जो आमबाट माथि उठेका पनि छैनन् तिनीहरु ।

जसलाई बिहान बेलुका डुकु र भातको मात्र चिन्ता छ । तर केही मान्छे यस्ता छन् जो अरुका लागि पनि चिन्ता गर्छन र तिनको समृद्धिमा आफ्नो पनि अस्तित्व खोज्छन् । अझ महिलाको हकमा त हाम्रो समाज अझै परम्परागत नै छ भन्दा अन्यथा हुन सक्दैन । घर धन्दाको कामकाज भन्दा माथि महिलालाई उठाउनै नचाहने प्रवृत्ति पनि हावी छ ।

माथि चर्चा गरे जस्तै मान्छेले आफ्नो क्षमतालाई कति र कसरी चिन्न सक्छ सोही आधारमा निर्णय हुने र गरिने केही महिला उद्यमी सफलताको शिखरमा पुगेका छन् । जसले आफ्नै मेहनत र कर्मले आज आफूलाई सम्मानित रुपमा उभ्याएका छन् । आज हामी त्यस्तै एउटी सफलताको दिशामा अगाडि बढ्दै गरेकी एक महिला ऊर्जा उद्यमीको चर्चा गर्ने जर्मकोमा छौँं ।

काठमाडौँको मुटु थापाथली चोक नपुग्दै ट्रेड टावर नामक व्यापारिक भवन छ । त्यो भवन आफैमा व्यापारिक छ । जुन भवनलाई हाइड्रो हवका रुपमा पनि चिन्न सकिन्छ । उद्यमी र व्यावसायीको चर्को आवत जावत हुने त्यो भवनका फरक फरक तलाका आफ्ना विशेषता छन् ।

अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमेटड, अरुण कावेली कम्पनी लिमिटेड लगायत ऊर्जा कम्पनीका कार्यालयले मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले दिने परिचय बोकेर स्थापित छ । ऊर्जा उद्यमीको फरक फरक परिचयसहित सहअस्तित्वको एउटा संगमको रुपमा विकास भएका छ भन्दा फरक पर्दैन ।

त्यही तलाको पूर्वपट्टी एउटा कार्यालय छ त्यो हो सिद्धकाली पावर कम्पनी लिमिटेड । व्यवस्थित कार्यालयको भित्रपट्टी बस्ने प्रमुख आम मान्छेले ठान्छ कुनै एउटा सफल उद्यमी पुरुष होला तर तपाई त्यसखालको अनुमान बोकेर बसीरहनु भएको छ भने शतप्रतिशत गलत हुनुहुनेछ ।

धेरै मान्छेलाई लगानीका लागि पे्ररित गर्ने र उद्यमी बन्न सिकाउने सो कार्यालयको भित्रपट्टी सामान्य लाग्ने कार्यकक्षमा एउटी महिला प्रमुखको रुपमा उपस्थित छिन् । कार्यकारी निर्देशक पूजा दाहाल न्यौपाने नामको नेम प्लेट छ  टेबलमा । हंममुख न्यौपाने मुस्कुराउँदै स्वागत गर्न तयार भइन ।

सामान्यतया मान्छेहरुले जलविद्युत्को क्षेत्रलाई बढी प्राविधिक क्षेत्रको रुपमा लिन्छन् । त्यसमा पनि महिला भन्दा पनि पुरुषलाई नै प्राविधिक क्षेत्रको प्रमुख भएको देख्न चाहन्छ हाम्रो समाज ।

तर समाजलाई च्यालेन्ज गर्दै ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य बोकेर दिनरात मेहनत गर्ने पूजा न्यौपानेलाई मेरो पहिलो प्रश्न थियो ‘ कस्तो क्षेत्रमा लागिए छ भन्ने लाग्दैन कहिलेकाही ?’ न्यौपाने हल्का मुस्कुराइन र भनिन मलाई जोखिम मोल्न मन पर्छ, प्राविधिक काम पुरुषले मात्र गर्नुपर्छ भन्ने छ र ? मलाई मेरो परिवारले दिएको संस्कार, शिक्षा दिक्षा अनि मेरा बुबा (ससुरा) ले देखाएको मार्ग दर्शन नै मेरा लागि जोखिम मोल्न सिकाउने महत्वपूर्ण पाटो हो ।’

‘काठमाडौँबाट करिब ५६ किलोमिटरको दुरीमा धेरै भन्दा धेरै साना ठूला लगानीकर्तालाई सँगै लिएर जाने लक्ष्यका साथ त्रिशुली गल्छी जलविद्युत् आयोजनाको काम सुरु गरेका छौ’ न्यौपानेले भनिन आम मान्छेले पत्याउन अलिक गाह्रो पर्ने कामलाई नेतृत्व प्रदान गर्न पाउँदा जिन्दगीको असिम खुसी प्राप्त भएको छ ।

काम सजिलो छैन, धेरै विषयमा ध्यान पुर्याउनु पर्दछ । असाध्यै प्राविधिक क्षेत्र हो मलाई थाहा छ, तर मेरो अध्ययन पनि इन्जिनियरिङ नै भएकाले पनि थप सहज बनाएको छ’ उनी असाध्यै आशावादी देखिइन् ।

सिभिल इन्जिनियरिङमा स्नातकोत्तर उत्तिर्ण पूजा दक्षिण एसियाकै उत्कृष्ट भारतको एक इन्जिनियरिङ कलेजबाट सिकेको सम्पूर्ण ज्ञान सो परियोजनामा पोख्ने तरखरमा छिन् । काठमाडौँ विश्वविद्यालयबाट सकेको एमबिएको सबै ज्ञानलाई पनि समेटन् योजना छ उनको ।

आठ किलोमिटर लामो सुरुङ बनाउने मात्रै होइन, धादिङको कल्लेरीमा पावर हाउस बनाएर ७५ मेगावाट विद्युत् उत्पादन गर्ने विराट लक्ष्य पनि उनको कार्यकक्षको भित्तामा झुण्ड्याइएको प्रोजेक्ट स्टकचरको नमुनाले पनि देखाउँछ । ऊ त्यही हो टनेलको स्केच उनी भित्ता तर्फ चोर औला देखाउँदै मुस्कुराइन ।

आम मान्छेहरु विद्युत् उत्पादनका लागि ठूलो र लामो हेड खोज्दै हिड्छन् , तर मलाई छोटो हेडमा पनि प्रोजेक्ट बनाउन सकिन्छ भन्ने लाग्यो । भारतको यमुना नदीमा पाँच मिटरको हेडमा पनि प्रोजेक्ट बनाइएको छ । त्रिशुली नदीमा हामीले त्यही प्रयोग गर्न गइरहेका छौ, जुन नेपालको जलविद्युत् इतिहासमा पनि हाम्रो प्रोजेक्ट अर्को एउटा नयाँ प्रयोग हो उनको मुहारमा खुसीका रेखाहरु दौडिए ।

 हरेक प्रोजेक्टका फरक फरक तर आफ्ना विशेषता हुन्छन् उनी थप उत्साहित देखिइन  । उनले भनिन् ‘त्रिशुली गल्छी प्रोजेक्टको विशेषता भनेकै बहुउद्देश्यिय पनि हो । हामी बिजुली मात्रै निकाल्दैनौ, होटल व्यावसाय, मनोरञ्जन स्थल, रिक्रियशन सेन्टर, वाटर फाउन्टेन, जलक्रिडाका फरक फरक स्वरुप पनि आयोजनासँगै स्थापना गछौ ।’ यस्तै प्रकृतिले मानव जातीका लागि दिएको बालुवालाई पनि व्यवस्थित गर्ने योजना छ परियोजनाको ।

प्रेरणा ससुराको

गुरुप्रसाद न्यौपाने , मुलुकको ऊर्जा उद्यममा परिचित नाम हो । नेपाल राष्ट्र बैंककोहुँदा खादाको जागिर छाडेर नेपालमा निजी क्षेत्रले पनि जलविद्युत् आयोजना बनाउन सक्छ भन्ने धारणा राख्दा धेरैले गुरुलाई पत्याएनन् । २०५४ सालमा अरुण भ्याली जलविद्युत् कम्पनीले तीन मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजना बनाउँदा पनि धेरै मान्छेले त्यसलाई स्वीकार गरेका थिएनन् ।

तर सानैबाट सिकेको ज्ञान र सिप नै नेपालको समृद्धिको आधार बन्छ भन्ने हाल आएर पुष्टि भएको छ । मलाई त्यही सानै परियोजनाले पनि काम गर्न थप सहज बनाइदिएको छ । पूजा आफूलाई त्यहीबाट सिकेको ज्ञान र प्रेरणाले थप ऊर्जा दिएको बताउँछिन् । आज नेपाल विद्युत् प्राधिकरणको समान हैसियतमा निजी क्षेत्र पुग्न लागेको छ । त्यसका पछाडि यस्तै साना परियोजनाको महत्वपूर्ण भूमिका छ । हाल  २५ मेगावाट क्षमताको काबेली बी एक पनि सकिने चरणमा छ ।

१४ अर्बको प्रोजेक्ट

सिद्धकाली पावर लिमिटेडकी कार्यकारी निर्देशक पूजाले सुरुमा दश मेगावाटको लाइसेन्स लिएकी थिइन त्रिशुली गल्छी आयोजनाको । किन सानो मात्रै गर्ने त केही ठूलो पनि गरौ, थप जोखिम पनि लिऔ भन्ने सोच पनि पलायो । उनी विगततिर फकिइन् । कुरा २०६५ सालको थियो । अध्ययन भए, निर्माण पनि गर्ने भनियो तर दश मेगावाट मात्रै के गर्ने त यसको क्षमता बुझ्दै जाँदा ७५ मेगावाटसम्म बनाउन सकिन्छ भन्ने देखियो ।

दश मिटर अग्लो बाँध बाँधेर तीन किलामिटर लामो तलाउ बन्ने प्रोजैक्टको सुन्दर चित्र पूजाको आँखामा छ । जसलाई वास्तविक बनाउनु छ । यही साउनको अन्तिम साता या भदौको पहिलो साता पैसाको जोरजाम गर्ने योजना छ उनको । लक्ष्मी बैंकको प्रमुख नेतृत्वमा नाम चलेका बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गदैछन् ।

 ‘ फाइनान्सियल क्लोज भएपछि प्रोजेक्टले गति लिन्छ , आजकल त्यही विषयमा बैठक, छलफल भइरहेका छन्, उनले थपिन प्रतिमेगावाट रु १८ करोड ७५ लाखमा हामी प्रोजेक्ट बनाउँदैछौ । ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाको ऋण र ३० प्रतिशत इक्विटीबाट लगानी गर्ने योजनामा छिन् पूजा ।

स्थानीयबासीलाई साथमा लिने, धेरैको लगानी जुटाउने

‘उद्यमशीलताको विकासका लागि सानो सानो पूँजी नै महत्वपूर्ण हुन्छ भन्ने मेरो ठहर छ’ उनले भनिन ‘५१ प्रतिशत प्रमोटरको सेयर, १० प्रतिशत स्थानीय प्रभावित धादिङ र नुवाकोट, ३९ प्रतिशत आइपिओको कन्सेप्ट प्रोजेक्टका लागि तय भएको छ ।’

संस्थापक सेयर सदस्य बन्न चाहनेका लागि न्यूनतम एक लाख भन्दा माथि लगानी गर्ने अवसर पनि दिएका छौ, हामीले । अरुण भ्याली जलविद्युत् परियोजनाबाटै हामीले धेरै भन्दा धेरैलाई सहभागी गराएर काम गरेका छौ ।

धेरै भन्दा धेरै नागरिक आर्थिक रुपमा सबल र सक्षम होऊन् भन्ने मेरो चाहना छ, उनी थप उत्साहित देखिइन र भनिन स्थानीयबासी पनि खुसी हुन्, लगानीकर्ता पनि खुसी हुन् भन्ने मेरो अपेक्षा छ । सबै नेपाली त्रिशुली गल्छी जलविद्युत् परियोजनामा लगानी गरेर सहभागी बन्न सक्छन् , संस्थापक सेयर सदस्य बन्न सक्छन्, आइपिओको माध्यमबाट पनि सहभागी बन्न सक्नेछन्, हामीले लगानीका फरक फरक अवसर पनि दिएका छौ, पूजाको विराट सोच प्रष्ट देखिन्छ ।

‘कहाँ लगानी गरौ भनेर बसेका लगानीकर्तालाई सिद्धकाली पावर लिमिटेडले अवसरै अवसर दिदैछ, आउनुस एक जनाले सुकी थुकी , हजारौले थुकी नदी भने जस्तै हामी सानो सानो पूँजीबाट आर्थिक समृद्धिको ढोका खोल्न सक्छौ भन्ने प्रमाणित गरौ’, पूजाले थप आग्रह गरिन । ‘अब थोरै पूँजी छ, लगानी गर्ने ठाँउ भएन भनेर चुपचाप बस्नु पर्दैन ।’

दसैपछिदेखि सिभिलको काम सुरु गछौ

कहिलेदेखि सुरु गर्नुहुन्छ, प्रोजेक्ट ? मेरो अर्को प्रश्न थियो पूजालाई । दसैपछिदेखि हामी सिभिलको काम सुरु गर्ने योजनामा छौ । भारतीय परामर्शदाता कम्पनीले आफ्नो काम गरिरहेको छ । नदी पार गर्ने पूल बनाउँदैछौ, लेबर क्याम्प, साइट अफिस, वर्कसप पनि खोल्दैछौ  ।

१३४ रोपनी निजी जग्गा खरिद भइसकेको छ । २४० रोपनी सरकारी जमिन भाडामा लिने योजना पनि सँग सँगै छ ।विश्वव्यापी रुपमा बोलपत्र आह्वान भइसकेको छ । आशयपत्र बुझाएका भारतीय, चिनिया, मंगोलिया  र यूरोपेली मुलुकका ठेकेदार टेन्डर प्रक्रियामा सहभागी भएका छन् ।

उनले तत्कालको कार्यप्रगति पनि सुनाइन् । इलेक्ट्रोमेकानिलक, हाइड्रोमेकानिकल र सिभिल तर्फको ठेकेदार छनौटको काम पनि अन्तिम चरणमा पुगेको छ । आफूभन्दा ठिक्क अगाडि रहेको टनेलको स्केच देखाउँदै भनिन् हेर्नोस् हाम्रो प्राजेक्टको मुख्य संरचना ऊ त्यस्तो बन्दैछ ।

कुल आठ किलोमिटर लामो र ८.३ मिटरको डायमटिर भएको टनेल बन्छ । नुवाकोटको रातमाटेमा बाँध बनाएर धादिङको कल्लेरीमा पावर हाउस बन्दैछ । उनी सपनालाई सविस्तार सुनाउँदै गइन् । जुन शिघ्र यर्थाथतामा परिणत हुँदैछ । मे,२०२० मा त्रिशुली गल्छी आयोजनाबाट विद्युत् बाल्ने योजना छ उनको । ‘ जोखिम पनि छ, रिक्स पनि उत्तिकै छ, नेपाली र अग्रेजी दुवै भाषामा अगाडिका केही कठिनाइ तर्फ पनि उनले संकेत गरिन ।

उत्कृष्ठ विद्यार्थीलाई काम
उनी कार्यरत कम्पनीले विगतदेखि नै उत्कृष्ठ विद्यार्थीलाई स्वयम्सेवा मात्रै नभइ काम पनि दिएको छ । आजका विद्यार्थी दश जोड सक्ने वित्तिकै विदेश दौडिइहाल्नु पर्छ भन्ने मान्यता राख्दछ ।

देशमा केही हुन्न र गर्न सकिदैन भन्ने सोचले भयग्रस्त छन् विद्यार्थी । तर त्यसो होइन, राम्रो गर्न सक्नेलाई स्वदेशमा नै अवसरै अवसर छ । जिआरई, टोफल आइएलटिएस गर्ने र राहदानी विभागमा पुगेर राहदानी बनाउने मानसिकता त्यागेर राम्रोसँग नेपालमा नै बसेर काम गर्छु भन्ने मध्ये केहीलाई हामीले काम पनि दिएका छौ, त्रिशुली गल्छीमा पनि त्यो मान्यता राखेका छौ । नेपाली श्रम र सिपको पनि असाध्यै उपयोग गर्छौ हामी, पूजा थप उजेली देखिइन् ।

विदेश तर्फ दौडिइहाल्ने जमातलाई स्वदेशमा नै राख्न सकिन्छ र त्यसबाट बढी भन्दा बढी फाइदा लिन सकिन्छ भन्ने देखाउन पनि मेरो प्रयास रहन्छ । हामी क्षमताका आधारमा काम दिन पनि कन्जुस्याइ गर्दैनौ ।

काठमाडौँ विश्वविद्यालयका १५ जना विद्यार्थीलाई इन्टनसिपमा राख्यौ, ती मध्ये केहीलाई उनीहरुको कामको आधारमा छनोट गरी कर्मचारीको रुपमा परिणत गर्ने योजना छ ।  उनले आफ्नो प्रतिबद्धताको फेहरिस्त पनि प्रस्तुत गरिन, हामी स्वदेशी जनशक्तिमा नै विश्वास गर्छौ ।

काम मात्रै होइन लगानी पनि रिस्की छ

जलविद्युत् आयोजनाको काम आफैमा रिस्की काम हो । तर रिस्कको अगाडि जीत छ, विजय पनि छ, उनले भनिन । प्रोजेक्ट महंगो बनाएर प्रतिफल दिन सकिदैन, कम कस्टमा ठूलो र महत्वपूर्ण काम गर्नु आवश्यक छ ।

‘लगानीकर्तालाई बढी भन्दा बढी प्रतिफल दिन हामी सदा तत्पर छौ’ कार्यकारी निर्देशक पूजा भन्छिन्, ‘हामी र हाम्रा कम्पनीका चार वटा कम्पनी त सेयर बजारमा लिस्टेड छन् । ती आयोजनाबाट पनि लगानीकर्ताले मनग्ये फाइदा लिएका छन् ।

रैराङ बन्दै अध्ययनको केन्द्र

उनी आवद्ध छाता संस्थाको अर्को परियोजना रैराङ जलविद्युत् आयोजना जुन धादिङमा अवस्थित छ । ५०० किलोवाट क्षमताको सो आयोजना इन्जिनियरिङका विद्यार्थीलाई अध्ययन गराउने महत्वपूर्ण परियोजनाको रुपमा स्थापित छ । हामी त्यसलाई थप विस्तार गरेर त्रिशुली गल्छी आम मान्छेले एकपटक हेर्नै पर्ने आयोजनाको रुमपा विकास गर्न लागेका छौ, उनले भनिन ।

पूर्वको संखुवासभामा रहेको तीन मेगावाट क्षमताको पिलुवा खोलामा अरुण भ्यालीले बनाएको हो । रिडी जलविद्युत् आयोजना रिडि खोला जलविद्युत् आयोजनाले बनाएको हो । २.४ मेगावाट क्षमताको सो आयोजना सेयर बजारमा चल्तीको कम्पनीको रुपमा स्थापित छ । अपि पावरले बनाएको ८.५ मेगावाटको  अपर नौगढ गाड जलविद्युत आयोजना सञ्चालनमा छ, सेयर बजारमा ऊर्जा समूह तर्फ उत्कृष्ट कम्पनीको रुपमा सो परियोजना स्थापित छ ।

निर्माणको क्रममा २५ मेगावाट क्षमताको काबेली बी एक, १० मेगावाटको इवा खोला, माथिल्लो अपर नौगढ गाड  र त्रिशुली गल्छी जलविद्युत निर्माणको क्रममा छन्, उनले भनिन ‘अरुण भ्यालीले नै काबेली खोलामा ९.६ मेगावाट निर्माण गर्ने योजनामा छ ।’

 दार्चुला जिल्लामा ४० मेगावाटको अप्पर चमेलिया र करिब २५ मेगावाटको सौर्य प्रणाली शिघ्र निर्माणको चरणमा प्रवेश गर्देछ । हामी हाम्रा कम्पनीलाई हाइड्रोको हवका रुपमा विस्तारै परिचित गर्दै लगेका छौ, पूजाले थप जोड दिदै भनिन् ‘धेरै भन्दा धेरै लगानीकर्तालाई विश्वासमा लिएर गर्ने प्राविधिक काम हेर्दा जोखिम भएपनि एकदमै रोमाञ्चक तवरले भइरहेको छ ’।

महिलालाई घर धन्दा पनि गर्नु पर्छ, त्यसमाथि तपाई त बुहारी पनि ? मेरो अर्को प्रश्न थियो उनलाई । श्रीमान सतिशले सौर्य ऊर्जाको कमाण्ड सम्हालेका छन् ।

परिवार कस्तो छ भन्ने कुरामा नै सबै कुरा निर्धारण हुन्छ । फेरी आफ्नो कति क्रियाशिलता छ भन्ने कुराले पनि धेरै काम गर्दो रहेछ, मलाई घर परिवारबाट ठूलो सहयोग छ  । नत्र अरु महिला जस्तै म पनि घरमा नै खुम्चिएर बस्नु पर्दथ्यो होला । तर आज आफूले आफैलाई हेर्छु जोखिम उठाउने काम पुरुषको मात्रै होइन महिलाको पनि हो । मलाई परिवारले दिएको साथ र सहयोग महत्वपूर्ण मात्रै होइन अनुकरणिय पनि छ ।

कुरा भइरहेको समयमा उनको छोराको फोन बज्यो मामु कति बजे आइसिन्छ ?, फोनमा उनले भनिन् बाबु म सानो मिटिङमा छु यो सक्ने बित्तिकै आइहाल्छु है बाबु ।  । तर उनले सिध्याउनुपर्ने धेरै काम थियो क्यार । ढोकामा एक कर्मचारी ढक ढक गर्दै उभिए , मेडम आज सक्नुपर्ने जति काम सकियो, थप केही ? ठिक छ, म खबर गर्छु है  उनले छोटो उत्तर दिइन ।

मनभरी विश्वास छ, आँखामा सपना छ , अनि दृढ इच्छा शक्ति पनि । दर्जनौलाई रोजगारी दिने, सयौको जीवनलाई समृद्ध बनाउँदै राष्ट्रका लागि ऊर्जा उत्पादन गर्ने महान् अभियानमा छिन् पूजा न्यौपाने ।

 उज्यालो नेपालको अभियानमा उनको पाइला क्रमशः सफलताको शिखर तर्फ लम्कदैछ । अन्त्यमा मेडम मैले सोध्न केही बाँकी राखे र ? उनी मुसुक्क हासिन र भनिन् अहिले त हामी प्रारम्भिक चरणमा छौ, थप कुरा अब क्रमशः अगाडि बढ्दै जान्छ  ।

अब सवाल होइन, कामले नै जवाफ दिनुछ, पूजा केही कुटनीतिक पनि बनिन । तपाईहरुको पनि सहयोग चाहियो है , उनले पत्रकार र सञ्चार जगतको महिमा थाहा पाएको र त्यसको प्रभावका बारेमा आफू जानकार रहेको बताइन् । अब काम पनि गर्ने हो प्रचार पनि गर्ने हो उनले अन्त्यमा भनिन् लौ है लेखिदिनु् एउटी महिलाको नेतृत्वमा अगाडि बढ्दैछ ७५ मेगावाटको प्रोजेक्ट ।

मैले डायरी बन्द गरे । नमस्कार गरेर उनको कार्यकक्षबाट बाहिरिए । उनी आफ्ना कर्मचारीलाई खै के निर्देशन दिदै थिइन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको